बंगलामुखीदेखि कालेश्वरसम्म

जेष्ठ २, ०६५ एकाबिहानै हाम्रो यात्रा कालेश्वरतर्फ आरम्भ भएको थियो । यो यात्रा मेरा लागि नयाँ थिएन तर, मसँगै भएकाहरूका लागि नौलो थियो । यात्राको आह्वानकर्ता थिए– ललितपुर भट्टेडाँडा सातकन्याका भीमप्रसाद गौतम, अनि नेतृत्व रहेको थियो अन्न ग्रहण नगरी लामो समयदेखि व्रतमा बसेकी थसिखेल ललितपुरकी मातृशक्ति विष्णु गौतमको ।

त्यसैदिन बिहान म र मेरी श्रीमती पहिला बगलामुखीतर्फ हानियौँ । बगलामुखी र कुम्भेश्वरलाई शिवशक्ति संयुक्त रूपमा मानिन्छ । बाबु दक्षप्रजापतिको यज्ञमा जान ढिपी गरेकी सतीदेवीलाई भोलेनाथ शिवजीले ‘जानु हुँदैन, अपमान हुन्छ’ भनेपछि आफ्नो दश महाशक्ति मध्ये आठौँ महाशक्तिको रूपमा सतीदेवीको शक्तिबाट बगलामुखीको उदय भएको क्षेत्र काठमाडौँ उपत्यका ललितपुरको विशाल क्षेत्रको दक्षिण किनारा शंखमूल नजिकै पर्छ ।

हाम्रो यात्रा आरम्भ भएको थियो, ललितपुरकोे दक्षिण काठमाडौँ सीमानादेखि लाम्चो आकारले छुने मकवानपुरको सीमाना उही वागमतीको उत्तरी किनारा महाभारतको लेक, टुंगुन क्षेत्र कलेश्वर चुचुरोसम्म । ठूला दुर्लुंगको नामले समेत चिनिने क्षेत्र आसपास ललितपुरको सुदूर दक्षिण गोटीखेल दुई सम्मको मेरो यात्रा यहीँबाट आरम्भ भएको थियो । लाग्थ्यो, भारतको सिमाना सुनौली नाकादेखि गोरखपुर–चेन्नई हुँदै सुदूर दक्षिण तट रामेश्वर, स्वामी विवेकानन्दको शालिक समुद्रीतट कन्याकुमारीसम्म ।

मनोकामना पूरा गरिदिने देवी बगलामुखीको अर्काे नाम सिद्धिदाता पनि हो । युवा युवतीदेखि जागीरे र व्यापारी सम्मका लागि सिद्धि र कामना पूरा गरिदिने देवीका रूपमा चिनिने ललितपुरकी शक्तिशाली बगलामुखी मन्दिर परिसरमा प्रायः बिहीबार भक्तहरूको निकै भीड देखिन्छ । संयोगले मेरो यात्रा आरम्भको दिन बिहीवार नै परेको थियो । भक्तहरूको विशाल भीडमा हल्का उपस्थिति दर्शाई बगलामुखीको परिक्रमा र नजिकै कुम्भेश्वरका मेरा पुराना परिचित पुजारीसँगको सामान्य कुराकानीपछि हामी लगनखेलतर्फ लाग्यौँ ।

सत्ययुगमा प्रलयका वेला घोर आँधी, तुफानले सर्वत्र अन्धकार गराउँदा जलशायी श्री नारायणले विश्वको रक्षा गर्ने हेतुले श्री त्रिपुरासुन्दरीको विशेष उपासना गर्नुभएको र त्रिपुरासुन्दरी देवी प्रकट भई हरिद्राख्य सरोवरमा जलक्रीडा गर्दा देवीका शरीरबाट उत्पन्न भएको पहेंलो तेजपुञ्ज संसारभर नै फैलियो । त्यसै तेजपुञ्जबाट बगलामुखी प्रकट भई संसारलाई विनाश गर्ने आँधी तुफान रोक्ने कार्य यिनै देवीबाट भएको जनविश्वास गरिने बगलामुखी देवीलाई तन्त्र शास्त्रमा आदिशक्तिका विभिन्न दश अवतारमध्ये कुर्मअवतार पनि मानिएको छ ।

स्कन्द पुराण, हिमवत् खण्डमा सतीदेवीको मृगौला पतन भई कुम्भेश्वर शिवलिंग उदय भएको चर्चा छ । कुम्भेश्वर क्षेत्रको यसप्रकारको स्मरणपछि हामी लगनखेल पुग्दा मत्स्येन्द्रनाथको जात्रा हेर्न तम्सिएको भिड देखिन्थ्यो । प्रत्येक वर्ष यसै समयमा ललितपुर क्षेत्रमा भगवान मत्स्येन्द्रनाथको रथ यात्रा गरिन्छ । पानी र सहकालका देवता मानिने उनलाई हाम्रा नेपाली किसान दाजुभाइहरूले विशेष उपासना गर्ने गर्छन् । खासगरी, ललितपुर क्षेत्रमा ठूलो मेला लाग्छ । हिजो राती मात्रै लगनखेल ल्याई पु¥याइएका मत्स्येन्द्रनाथको दर्शनपछि हामी ललितपुरको चापागाउँतर्फ लाग्यौँ । जहाँबाट हाम्रो गन्तव्य गोटीखेल दुई वैतरणीघाट, महाँकाल स्थान, घरघरा नदी तटसम्मको लागि आरम्भ हुन्छ ।

एउटाले भन्दै थियो– बल्ल निरंकुश ढल्यो । अर्काेले भन्दै थियो– चुरा बेच्नेदेखि कपडा सिउनेसम्म विधायक बने, नयाँ नेपाल क्या राम्रो…। अर्काेले भन्दै थियो– जुका झै सबै ढाडिए, विचराहरूलाई ढाडिन समयले साथ दिन्छ कि दिँदैन…

बिहान नौ बजिसकेको थियो । कालेश्वर यात्राको क्रममा चापागाउँ बसस्टपमा हाम्रो समूहको भेटभयो । समूहमा एघार जना थिए । भर्खरै बुद्ध जयन्तीको पावन अवसर परेकाले लुम्बिनी क्षेत्रको भ्रमण पूरा गरी फर्केका ललितपुर घुसेलका स्थानीय कृषक नन्दप्रसाद गौतम उनकै छोरा ललितपुर भट्टेडाँडा सातकन्या क्षेत्रका भीमप्रसाद, उनकै छोरी भैँसेकी तुलसी, अर्की छोरी भक्तपुरकी सीता र अर्का छोरा थसीखेलका अर्जुन र अर्की बुहारी धुलिखेलकी संगीता सहितको टोली यात्राकोलागि जम्मा भइसकेको थियो ।

कालेश्वरमा पानीको अभाव छ । पहाडको शिखर भएकाले बजार छैन । आवश्यक गाईको दूध र पानी उतै कतै नजिकबाट व्यवस्था गर्ने सोच बनाई आवश्यक पूजा सामग्री, हवनका लागि घ्यू, चरु र धान–चामल, कुश, फूल, फलपूूmल, वस्त्र, भेटी आदि तथा आफ्नालागि खाजा समेतको प्रबन्ध गरी हाम्रो समूह अगाडि बढ्यो । देवी बज्रवाराहीको प्रणाम, आनन्द वन क्षेत्र, टीका भैरव, सरस्वती मन्दिर, तिलेश्वर शिवलिंग ल.पु. लेले हुँदै हाम्रो यात्रा झण्डै एघार बज्दा पक्की सडकलाई छोडेर ललितपुरकै रमाइलो क्षेत्र भारदेऊसम्म पुगिसकेको थियो । प्रत्येक दिन चापागाउँबाट गोटीखेलतर्फ एउटा मात्र बस जाने भएकाले हाम्रो बसमा यात्रुहरू खचाखच थिए । छतसमेत सामान र यात्रुहरूले भरिएको थियो । झन्डै दुई घण्टापछि भारदेऊ क्षेत्र गुप्तेश्वर महादेवको पाऊ भाग पूmलचोकी पारि हामी पुगिसकेका थियौँ ।

बस चुइँचुइँ कराउँदै उकाली लाग्दै थियो । सिमसिम पानी परेको हुनाले सडकमा धूलो उडेको थिएन । वरिपरि रहेका जंगलका रूखहरूको हरियालीले हामीलाई दिलैदेखि आनन्दित बनाउँदै थियो । यात्रा एउटा आनन्द प्राप्तिको मार्ग पनि हो, मनोरञ्जन हो, प्रकृतिको काखमा लुटुपुटु रमाउनु पनि हो । नयाँ दृष्यावलीहरूलाई मनमस्तिष्कमा रोपी क्यामारामा चित्र खिच्नु पनि हो । आफ्नै मस्तिष्क रूपी क्यामारामा आँखाको लेन्समार्फत कैद गरेको तस्बिर बढी भरपर्दाे हुन्छ । कानले सुनेका कुरा आँखाले देखेपछि विश्वासिला हुन्छन् । वसन्तको उल्लाससँगै हालै सिर्जित नयाँ पालुवाहरूले मेरा शिरमा शिरबन्दी लाउने प्रयास गर्दै थिए । आनन्दवनबाट लेले, डल्लु, भारदेऊ, चौघरे, विर्तावन, ठोटने खोलो, कतौन, दार्पाखा, उत्तिस गैरा, घुमभुजेको थुम्को आदि बस रुटका वृक्ष हरियालीले मलाई एक्कासी अँगालो हाल्न खोजिरहेको देखिन्थ्यो । भर्खरै विवाह यज्ञमा सिँगारिएकी नयाँ बेहुलीजस्तै देखिएको थियो– त्यो वस्ती, त्यो हरियाली, त्यो सौन्दर्य छटा… ।

बसभित्र अन्य यात्रुहरू चर्काचर्का स्वरमा गफ गर्दै थिए । एउटाले भन्दै थियो– बल्ल निरंकुश ढल्यो । अर्काेले भन्दै थियो– चुरा बेच्नेदेखि कपडा सिउनेसम्म विधायक बने, नयाँ नेपाल क्या राम्रो…। अर्काेले भन्दै थियो– जुका झै सबै ढाडिए, विचराहरूलाई ढाडिन समयले साथ दिन्छ कि दिँदैन… । अर्काेले थप्दै थियो– प्रत्येक विधायकलाई काठमाडौँमा घर, टेलिफोन, गाडी, पि.ए. ओहो ! बल्ल मजा आउने भयो । नयाँ विधायक, नयाँ नेपाल, नयाँ कानुन बन्ने वेला… । अर्काेले थप्यो– चुनावमा कति अरब, पछि कति अरव खर्च हुने, दुई तीन वर्षसम्म संविधानसभाको लागि जम्माजम्मी खर्च बिस अर्ब जति लाग्ला, यत्रो खर्चले बन्ने दुईसय पृष्ठजतिको संविधानले बीस वर्षजति काम गरे त धेरै हुन्थ्यो नि ! बिसै दिनपछि संशोधनको कुरो उठ्ने पो हो कि ? अँ साँच्चै, गतिशील समाजको के भरोसा ! कुनै पनि कुरा स्थायी त हुँदैन नि ! यस्तै राजनीतिक गफहरू ठूलो ठूलो स्वरमा चर्कदै थियो । मचाहिँ सुन्दै थिएँ सबैको । आपूm बोल्न थालेपछि विवाद होला भनेर चूपचाप सुनेर बसी रहेँ । अपराह्न तीन बजेको थियो । बस गोटीखेल बजार पुगेर रोकियो । यात्रुहरू ओर्लिए, हामी ओर्लियौँ । साथीहरूले सबै झोलाहरू झिके ।

गोटीखेल पुग्नासाथ म भने गोविन्द दुलालको प्रतीक्षामा रहेँ । उनी हुलाकका कर्मचारी हुन् । तीस वर्षदेखि अनवरत हुलाक सेवामा हुलाकी छन् उनी । लामो समयसम्म सामाजिक सेवामा रहेर सेवा गर्न पाउँदा आपूm गौरवान्वित छन् । गोटीखेल आउँदा आपूm सेवारत हुने प्रस्ताव मलाई उनले पहिले नै गरेका थिए । त्यसैले म उनको प्रतीक्षामा थिएँ । अचेल गाउँघरमा टेलिकमको सिडिएमए मोबाइल फोन सेवाले राम्रो काम गरेको छ । पोस्टपेड, प्रिपेड र युटिएल मोबाइल नभएको क्षेत्रमा सिडिएमए. फोनको प्रभाव राम्रो छ । सिडिएमए मोबाइल फोनमार्फत उनीसँग मेरो सम्पर्क भयो । केही बेरमै उनी बजार निस्किए हामीलाई लिन ।

हामी वैतरणी घाट घरघरा नदी तरेर कालेश्वरको पाऊभाग महाँकालको दर्शन गर्न पुग्यौँ । आवश्यक पूजापाठ सकी महाँकाल क्षेत्रको विशाल शिला प्रदक्षिणा गरेर खोलै खोला हामी उकाली चढ्न थाल्यौँ । दुलालजीको घर झन्डै एक घण्टा पैदल उकालो यसै खोलाको तीरमा पर्छ । भोलि बिहान कालेश्वर उक्लने सबैभन्दा उत्तमबाटो पनि यही हो । नदी तटमा यात्रुहरूको लागि विश्राम आश्रम छ । तर, आजै साँझ भोलिको बाटो घटाउन पाए बढी सुविधाका साथ मन्दिर पुग्न सजिलो हुन्छ, यस्तो सोच र मित्र दुलालजीको सल्लाह समेतले हामी उकाली उक्लिँदै गयौँ ।

बाटैमा खोलाकै किनारामा अन्न पिस्ने ठूलो घट्ट छ, जहाँबाट गहुँ, मकै आदि अन्न पिसेर स्थानीय बासिन्दाहरू आफ्नो गुजारा चलाउँछन् । सँगै जोडिएको सानो भवन स्थानीय जलविद्युत् गृह पनि हो । स्थानीय बासिन्दाहरूकै आपसी सहयोगबाट तयार भएको जलविद्युत् गृहबाट साठी–सत्तरी घरलाई बिजुली आपूर्ति भएको छ । प्रत्येक घरबाट सुरुमा झन्डै पन्ध्र–बिस हजार लगानी भएको सो जलविद्युत केन्द्रबाट आपूर्ति भएको विद्युत्को मासिक शुल्क केबल पन्ध्र–बिस रूपैयाँ मात्र छ । दुलालजीले त्यसको अवलोकन गराउन सञ्चालनमा खटिएका प्राविधिकलाई मोबाइलमार्फत नै बोलाए । साना जलविद्युत् उत्पादन केन्द्रको अवलोकन पछि हाम्रो समूह दुलालजीको घर आँगनीमा पुग्यो । यसवेला पश्चिम दिशातिर सूर्य डुबिसकेका थिए ।

धर्तीले सूर्यलाई निल्दा पूर्वको लालित्य ओठमा निरसताले छाएको थियो । भर्खरै अवलोकन भएको बत्तीले हाम्रो मनको अँधेरीलाई भगाइदियो । हाम्रै कारणले आज रातभरि नै त्यो घरमा अँध्यारोपना पूरै हराउने कुरा दुलालजीकै मुखबाट सुनियो । कारण, आज बत्ती जाँदैन । दुलालजीको घर बाहिर आँगन पिंढी सफा थिए । दाँयापट्टि धारो, बाँयापट्टि अलि तल शौचालय, अगाडि तुलसीको मोठ, घरमा केवल दुई बूढाबूढी, नजिकै गोठ, दाँयाबाँया भीर, पाखो, आफ्नै पखेरो, सेरोफेरो सबै मेरो जस्तो देखिन्थ्यो । तर, आफ्नो जागिरे जीवन घर धान्ने कोही छैनन् उनका । एक छोरी विवाहित, दुई छोरा बिस वर्ष नपुग्दै एउटा स्वीडेन पुगेको छ पढ्न, अर्काे मलेसिया पुगेको छ काम गर्न । यो जीवनको नियति हो, परिवारको बाध्यता हो, मुलुकको आवश्यकता हो, रेमिटान्सले अर्थतन्त्र धान्ने मुलुकको यथार्थता हो ।

बिहान तीन–चार बज्दा हाम्रो स्नान, सन्ध्या, नित्य कर्म सकी सकेको थियो । दुलालजी उठेर गाईको दूधको प्रबन्ध गर्न लागेँ । बोतलहरूमा पानी भरेर खालि पेटमा हाम्रो समूह उकाली चढ्न थाल्यो । उज्यालो भूइँमा खस्न पाउँदा नपाउँदा बिहान पाँच नबज्दै हाम्रो यात्रा आरम्भ भइहाल्यो । आवश्यकताअनुसार निगालोको लठ्ठीको प्रबन्ध दुलालजीले हिजै बेलुकी गरिसकेका थिए ।

उकाली चढ्नु एउट आँट पनि हो, मनोबल पनि हो । माथि वर्णित नन्दप्रसादजी ब्लडप्रेसर, मधुमेहका बिरामी हुन् । नित्य औषधि सेवन गर्छन्, उनकै परिवारकी अर्काे सदस्य हुन्, विष्णु गौतम, पूरै दुई वर्ष नाघ्यो उनले अन्न ग्रहण गरेकी छैनन् । सादा दूध, हल्का फलपूmलमा जीवन धानेकी, विशेष व्रत उपासनामा तल्लीन विष्णुसहित हाम्रो उकालीको नेतृत्व म आफैँले गरिरहेको थिएँ । ठीक दुई घण्टापछि हामी चुनदेवी पुग्यौँ । यहाँ एउटा अनौठो दृष्य देखिन्छ । एउटा विशाल ढुंगो छ, जसको फेद निकै साँघुरो आकारले जमिनमा अडेको छ । त्यहाँ सत्तल, पाटी, पौवा, विद्यालयहरू छन् ।

यसै वर्ष त्यहाँसम्म मोटर बाटो जाने योजना पनि छ । केही बस्तीहरू पनि छन् । केही समयको विश्रामपछि हामी फेरि उकाली चढ्न थाल्यौँ । यसपछिको हाम्रो उकालो भनेको सिसौनको उकालो हो । यहाँ सामान्य वस्तीहरू छन्, करिब डेढ घण्टा उकालो सिढी, घना जङ्गल पार गर्दै हामी भञ्ज्याङ पुग्यौँ । भञ्ज्याङ पुग्दा समूहका सबै सदस्यहरू हल्का गा¥हो महसुस गर्दै थिए । अझै मुख्य कालेश्वरको शिखर डाँडोचाहिँ देखिएको थिएन । कालेश्वर पुग्ने अन्य थुप्रै बाटाहरू छन्, जस्तै– खुन्यु खोलाको बाटो, सोलदुम, आश्रम, सुभाने, टोडके, चिला आदि हुँदै कालेश्वर पुगिन्छ । तर, सबै बाटाहरूको संगम क्षेत्रचाहिँ यही भञ्ज्याङ चौतारो हो । घना जंगलको बीचमा रहेको छ यो । केही साथीहरू पानी पिउने भन्दै थिए । तर, यात्रा अब अन्तिम विन्दुमा पुग्न लागिसकेकोले पानी नपिएरै शिखर पुग्ने मेरो प्रस्तावमा सबैले सहमति जनाए, कारण समय बिहानैको थियो, खास गर्मी भइसकेको पनि थिएन ।

भञ्ज्याङमा हल्का विश्राम गरी ठाडो ओरालो लागेर पाँच–दश मिनेटभित्रै हामी अर्काे ठाडै उकालोतर्फ अग्रसर भयौँ । मन्दिरका घण्टहरू बजेका आवाज सुनिन थाल्यो, अब हामीलाई साहस र हौसला दुबै प्राप्त भयो । नयाँ उर्जा प्राप्त भयो । नन्द गौतम र मेरी श्रीमतीले केही थप गा¥हो महसुस गरे, तर सबैजना ठीक नौ बजे कालेश्वरको शिखरमा अवतरण भयौँ । पुग्ने वेलामा अलिक साहस बढाउनै पर्छ, किनकि पूरै आधा घण्टा ठाडै उकालो चढ्नुपर्छ ।

अकालमा मानिसहरूको मृत्यु नहोस् भन्ने उद्देश्य राखेर कालेश्वरको उपासना गरिन्छ । नेपालमा ६४ ज्योतिर्लिंगहरू छन्– सिन्ुधलीको कुशेश्वरदेखि काठमाडौं पशुपति नजिक रुद्रगारेश्वरसम्म । कालेश्वर पनि एक ज्योतिर्लिंग हो । विकट र दुर्गमको दृष्ट्रिले कालेश्वर दोश्रो मात्र हो । कालेश्वरकै क्षेत्र ललितपुर भारदेऊ फुल्चोकी पारिको गुप्तेश्वरपछिको विकट हो यो । यो भन्दा बढी विकट मकवानपुरको नटारम्भेश्वर हो । कालेश्वर शिखर पुग्दै मन्दिर परिक्रमाकै क्रममा हाम्रो अन्तरमन कालेश्वर तीर्थप्रति समर्पित थियो भने हाम्रा बाह्य चक्षुहरू पूर्व–दक्षिणतर्फका दृष्यावलोकनतर्फ व्यस्त थिए । साँच्चै यहाँबाट दक्षिणतर्फको तल्लो भाग काभ्रे र मकवानपुरको सीमा क्षेत्र ठूलादुर्र्लंग आदिको क्षेत्र र वागमती खोलो देखिन्छ । त्यहाँको भूगोललाई वागमतीले नै छुट्याएको छ । बगलामुखी, कुम्भेश्वर, ललितपुरको उत्तर सीमानाबाट झरेको पानी शंखमूल वागमती क्षेत्रमा पुग्छ भने ललितपुरकै दक्षिण सिमाना यही कालेश्वर शिखरबाट झरेको पानी घुच्चीवेसी क्षेत्र वागमतीमै पर्छ । यो भूगोलको अनौठो र यथार्थ संगम हो ।

दक्षिणको हराभरा पहाडदेखि तराई क्षेत्र कलैया वीरगञ्जसम्मको दृष्यावलोकन कालेश्वर शिखरबाट बडो आनन्दले हेर्दै हामी मूल मन्दिर भित्र प्रवेश ग¥यौँ । तर, सबैको प्रवेश एकैपटक सम्भव थिएन ।

मन्दिर परिसर कैलाश क्षेत्र वरिपरि खुल्ला चउर छ । भित्रपट्टि शिवलिंग, गणेश, देवी आदिका स–साना मूर्तिहरू छन् । रुद्रीको लागि त्रिकुटी, जलहरी त्यहीँ छ । दूध पञ्चामृतले रुद्राभिषेक र अन्य पाठ गर्नुअघि हामीले संयुक्त संकल्प ग¥यौँ । मुलुक लामो द्वन्द्वबाट शान्तितर्फ अग्रसर भएको छ, द्वन्द्वका वेला र अन्य सामान्य वेलामा पनि घटना–दूर्घटनामा धेरै आफन्तहरूको अवसान भयो, हज्जारौँ नेपालीहरू मरे, इतिहासमा कहिल्यै नलागेको दाग लाग्यो, सायद नयाँ नेपालको आरम्भमा परमेश्वरले यही चाहेको होला । मुलुकमा शान्तिको लहर आउँदै बहुचर्चित संविधान सभाको मुद्दा पनि हालै टुंगिएको छ । अतितदेखि वर्तमानसम्म मृत्यु हुनेहरूका लागि तिनको आत्मशान्तिको प्रार्थना गर्दै संकल्पका साथ रुद्र पाठ, मृत्युञ्जय स्त्रोत्र पाठ, चण्डी पाठ आदि कार्य गर्न लाग्यौँ हामी । यसको नेतृत्व पनि म आफैँले लिएको थिएँ । द्वन्द्वका वेला मुलुकका सबैजसो सुगम र कतिपय दुर्गम देवस्थल मन्दिरहरूमा बसी सप्ताह, नवाह आदि कार्य गर्दै दिवंगत पितृहरूको उद्धारको लागि दर्जनौँ अनुष्ठानहरू गर्न मलाई यस अघि पनि परमेश्वरबाट प्रेरणा मिलेको थियो ।

कालेश्वरमा जलहरीबाट खसेको जल पञ्चामृत शिवलिंग हुँदै अगाडि भागमा खस्छ । आफैँले लगेको सानो भाँडोमा पछि अभिषेकको लागि थाप्न सकिन्छ । हामीले भित्र पूजाआजा गरुञ्जेल बाहिरको वातावरण सुमधुर थियो ।

प्राचीन समयमा यो क्षेत्रलाई कासुन्द पर्वत भनिन्थ्यो । प्राचीन समयमा यहाँ आएर काल पुरुषले तप गरेछन् । बाह्र वर्षसम्म निरन्तर काल पुरुषले तप गरेपछि शिवजी खुशी भई वरदान दिन त्यहाँ आउँदा काल पुरुषले वरदान माग्दै भनेछन्, ‘पृथ्वीमा जन्मने सबै मानिस अजर अमर भए भने पृथ्वीमा राख्ने ठाउँ नै हुँदैन, त्यसैले तिनीहरूको मृत्यु आवश्यक छ । त्यो मृत्युको पूरै अधिकार मलाई प्रत्यायोजन गर्नुप¥यो । कालपुरुषको यो मागलाई महामृत्युञ्जय शिवजीले ‘हुन्छ’ भनी वरदान दिएकाले त्यो क्षेत्रलाई कालेश्वर क्षेत्र भनिन थालेछ । पौष शुक्ल नवमीमा काल पुरुषले शिवजीको दर्शन पाएकाले विशेष गरी माघ स्नानका वेलामा यो क्षेत्रमा श्रद्धालु भक्तहरूको विशेष भिड लाग्ने गर्छ । सम्पूर्ण जीवात्माहरूको आयुु निर्धारण कालबाटै हुने गर्छ ।

मृत्युको दोष रोगलाई दिए पनि निरोगी व्यक्तिको पनि अवसान हुने गरेको देखिँदा प्राचीन कुरालाई विश्वास गर्ने आधारहरू छन् । यहाँ आएर शिव उपासना, काल पुरुषको उपासना गर्नाले मानिसको अकाल मृत्यु नहुने र मृत्युको भय पनि नहुने कुरा विभिन्न शास्त्रहरूले स्पष्ट गरेका छन् । सुविधा अनुसार जुनसुकै वेला त्यहाँ जान सकिन्छ । हिजो मोहनी एकादशी, विहीवार, वैशाख शुक्लमा आरम्भ भएको हाम्रो यहाँको तीर्थयात्रा आज द्वादशी वैशाख शुक्ल परेकाले पनि बढी उत्तम भएको हाम्रो ठहर थियो । शास्त्रहरूमा पनि वैशाखको पुण्य सर्वाेत्तम हो भनेर पुष्टि गरिएको छ । अक्षयतृतीया जस्तो ठूलो चाड पनि यसै वेला पर्छ ।

कालेश्वर मन्दिर अगाडि तामाको ठूलो त्रिशूल गाडिएको छ । झन्डै पचास किलो तौलको सो त्रिशूल काठमाडौंबाट बोकेर कतै नबिसाइकन एक बाबाद्वारा पु¥याएर त्यहाँ गाडिएको भनिन्छ । थुम्को वरिपरि धुपी, सल्ला, खस्रु आदि वृक्षहरूले शोभा दिएका छन् । झन्डै दुई घण्टाको पूजा अनुष्ठानपछि प्रसादग्रहण ग¥यौँ । त्यसपछि वरिपरिको दृष्यावलोकन गर्ने हाम्रो धोकोचाहिँ पूरा भएन । किनभने कालेश्वर शिखरबाहेक अन्य सबै क्षेत्रमा कुहिरोले आफ्नो एकाधिकार जमाइसकेको थियो । अनिकालमा कालाबजारीयाहरूले खाद्यान्नलगायत सरसामग्रीहरू लुकाएझैँ पूरै हराभरा प्रकृतिलाई कुहिरोले आफ्नो घुम्टोभित्र लुकाइसकेको थियो ।

हाम्रो लागि बाहिरको दृष्य अब आकाश बाहेक केही थिएन । ठीक ११ बज्यो । झोलाहरू बोकी लठ्ठीको सहारा लिई हामी भञ्ज्याङतर्फ झ¥यौँ । घना जंगललाई बाईबाई गर्दै हल्का बस्ती नजिक आई हामीले आफ्नो अघिको रुट परिवर्तन ग¥यौँ । सिसौनबाट अब हामी तेर्साे गोरेटो तिर लाग्यौँ । बाटो त्यति चल्ती नभएको र घना जंगल भएकाले यात्रा केही दुरुह भए पनि वन, वृक्ष, हरियाली र रंगीन पूmलहरूसँग लठ्ठिदै हाम्रो समूह ठाडै ओरालो सेपिला गहिरो हुँदै गोटीखेल दुईकै माथिल्लो सुमारोसम्म पुग्यो । माथिल्लो सुमारो पुग्न लाग्दा हल्का वर्षा भएकाले साथमा रहेको १–२ वटा छाताको ओत, गोठहरूका ओत हुँदै हाम्रो यात्रा माथिल्ला सुमारो दाहाल गाउँ पुगेको थियो ।

दाहाल गाउँबाट गोटीखेल बजारको दृष्य असाध्यै राम्रो देखिन्छ । त्यहाँबाट सुरु भएको ठाडो ढुंगे सिढीबाट हामी वैतरणीघाट ओर्लदा झन्डै पाँच बजिसकेको थियो । वैतरणीघाट वारि बजार क्षेत्रका स्थानीय हरि घिमिरे हाम्रो प्रतीक्षामा थिए । उनका चौरासी वर्षीय वृद्ध बाबु र परिवारले हाम्रो तीर्थ यात्रालाई पूर्ण सहयोग गरे । हल्का भोजन गराए, मीठा र रसिला गफ गरे । दुवै आँखाको अप्रेशनपछि हल्का दृष्य देख्ने बृद्ध बाबु पुराना र मीठा गफ गर्न थाले । गोटीखेलको पुरानो इतिहास हालसम्म पनि उनका मन मस्तिष्कमा ताजै रहेछन् ।

घरको आँगनीमा थुपारिएका गहुँका छ्वालीहरूको दृष्य अनि गाईवस्तुहरू, अगाडि हरिया सागसब्जी यस्तै यस्तै दृष्य हेर्दा हेर्दै चकमन्न साँझ परिहाल्यो । हरिया सागसब्जी, ताजा अन्नबाली, शुद्ध दूध, घ्यू गोटीखेलको विशेषता हो । उत्पादित सरसामग्रीहरू ताजै अवस्थामा ५–६ घण्टाभित्र ललितपुरकै चापागाउँमा यी वस्तुहरू आइपुग्छन् । समष्टिमा भन्नुपर्दा गोटीखेल एउटा व्यापारिक सानो केन्द्र पनि हो चापागाउँको लागि ।

बजार रमाइलो छ, यहाँ नेसनल ग्रिडकै विद्युत आपूर्ति हुन्छ । विद्यालयहरू, प्रहरी इकाई, सामूदायिक स्वास्थ्य संस्थाहरू, भेटेरिनरी अफिस, क्याम्पस, सानो बजार, हुलाक, बसपार्क, स्थानीय जलविद्युत केन्द्रहरू, साँघुरो कच्ची सडक आदिले गोटीखेललाई आकर्षण दिएको छ– घुम्न जानेहरूलाई, तीर्थ यात्रुहरूलाई, व्यापारीहरूलाई, राजनीतिकर्मीहरूलाई, स्कूल–क्याम्पसका छात्र÷छात्राहरूलाई ! कृषकहरूको लागि पनि एउटा साहसिलो क्षेत्र बनेको छ गोटीखेल बजार । कालेश्वरको प्रवेश मार्ग नै हो यो । उकाली चढ्न नसक्नेहरूका लागि पनि कालेश्वरको पाऊ क्षेत्र महाँकाल स्थान, वैतरणी धाम तीर्थयात्रीहरू एवं धार्मिक पर्यटकका लागि थप आकर्षणको केन्द्र भएको छ ।

हाम्रो रातको समय घिमिरे परिवारकै घरमा बित्यो । भोलिपल्ट बिहान भूइँमा उज्यालो नखस्दै हाम्रो यात्रा वैतरणीघाटतर्फ उन्मुख भइसकेको थियो । बिहान ठीक पाँच बजेदेखि आरम्भ भएको स्नान, तर्पण, पिण्डदान र आश्रममा भएको हवनादि कार्य यात्राको पूर्णाहुति हवन, पूर्णपात्र आदि कार्य सम्पन्न गर्दा सात बजिसकेछ । गोटीखेलबाट चापागाउँका लागि एकपटक मात्र छुट्ने बसले हर्न लगाई हामीलाई छिटो आउन संकेत गरिसकेको थियो । सिमसिमे पानीमा भिज्दै बडो मुस्किलका साथ बस भेटेर झण्डै पाँच घण्टाको निरन्तर यात्रा पछि हामी चापागाउँ पुग्दा मध्याह्न १२ बजिसकेछ ।

चापागाउँमा हल्का आराम पछि सातदोबाटो कोटेश्वर चोक, तीनकुने, सिनामंंगल पुग्न हामीलाई हम्मेहम्मे परिहाल्यो । झन्डै एक महिनादेखि शान्त रहेको काठमाडौं सहरमा फेरि आगजनी सुरु भएछ । संविधानसभाको चुनावको कारण बन्द रहेको हड्ताल र चक्काजाम फेरि आरम्भ भइसकेछ । कोटेश्वरकै रामहरि श्रेष्ठको हत्या भएको कुराले यहाँ तातो वातावरण सिर्जना भएको रहेछ । येनकेन प्रकारेण भित्री बाटो लिई गन्तव्यमा पुगेपछि यात्राले बिराम पाएको थियो । बन्द र हड्तालमा जीवनयापन गर्न खप्पिस भइसकेका नेपालीहरूले संविधानसभा निर्वाचनपछि यस्तो वातावरण व्यहोर्नुपर्दैन भन्ने सोच राखेका थिए । त्यो केवल उनीहरूको कल्पना मात्र रहेछ । यस्तै, सोच राख्दै मैले आफ्नो यात्रालाई पूर्णता दिएको थिएँ ।

प्रतिक्रिया