शिवरात्रीमा देवीहरूलाई पञ्चबलि

काठमाडौ । महाशिवरात्री पर्वको अवसरमा सोमवार विभिन्न देवीका मन्दिरहरूमा पञ्चबलिदिइएको छ । मल्लकालदेखि नै चलिआएको मान्यताअनुसार काठमाडौंका भद्रकाली, महाकाली, दक्षिणकाली, चामुण्डादेवी, भैरवकाली, धूमावतीकालीलगायत देवीका मन्दिरहरूमा पञ्चबलिदिइएको हो ।

जसमा टुँडिखेलस्थित भद्रकाली मन्दिर दक्षिणकाली तथा सिद्धपिठ मन्दिर पशुपतिलगायत विभिन्न देवीको मन्दिरमा विभिन्न पाँच पशुपंक्षीको बलिचढाइएको संकटा मन्दिर परिसरका भद्रकाली मन्दिरका पूजारी रत्न मानन्धरले जानकारी दिए । उनका अनुसार काठमाडांै उपत्यकाका हरेक शक्तिपिठमा शिवरात्रीको दिन पञ्चबलिदिने प्रचलन छ । यो प्रचलन विशेषगरी क्षेत्री तथा नेवारी समुदायमा प्रचलित रहेको उनले बताए ।

काठमाडौं महानगरपालिकाका स्थानीय ७५ वर्षीय मेदिनी तुलाधरले भने, ‘यो करिब तीन सय वर्ष पुरानो चलन हो । काली अर्थात् देवी कालिकाका विभिन्न शक्ति पिठमा वर्षको १२ पटक पञ्चबलिदिइन्छ ।’ वर्षको अन्तिम तथा सबैभन्दा ठूलो पञ्चबलिघोडेजात्राको दिन दिइने उनले बताए । त्यसदिन भद्रकालीको मुर्तीलाई बोकेर टँुडिखेल पु¥याइन्छ र पूजापाठ गरेपछि सेनाले पञ्चबलिदिने प्रचलन रहेको छ । विजयादशमीमा जस्तै अरूवेला पनि देवीहरूलाई खुसी पार्न र आफ्नो मनोकामना पूरा होस् भन्ने विश्वासले यी शक्तिपिठमा बलिचढाइने गरेको तुलाधर बताउँछन् ।

सोही क्रममा घरघरमा पूजा तथा मिष्ठान्न भोजन गर्ने गरिन्छ । तान्त्रिक पद्धतिअनुसार नवरात्र र शिवरात्रीमा विशेष पूजा गरिने यहाँका पुजारी बताउँछन् ।

इतिहासका अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माणका क्रममा राजा कामदेवले देश रक्षार्थ नगरको चारैतिर भद्रकाली, कंकेश्वरी, ज्ञानेश्वरी ( म्हेपी अजिमा ), मैतीदेवी, निलबाराही, नरदेवी, इन्द्रायणी मन्दिर स्थापना गराएका थिए । उनले आफ्नो राज्यको रक्षाका लागी यी सबै नामका विभिन्न देवी राखेको इतिहास छ । त्यसैले यी मन्दिरमा परम्परागत रूपमा पञ्चबलिदिने गरिन्छ ।

महाशिवरात्रीको अवसरमा देशभरका विभिन्न शिवमन्दिरमा भक्तजनले पूजा आराधना गरेका छन् । हिन्दू आस्थावान् माझ सर्वोच्च रूपमा रहेका शिव भगवान मुख्य वासस्थान पशुपति क्षेत्रमा विशेष मेला लाग्छ । यद्यपि, हिन्दू धर्मअनुसार कुनै पनि शर्वशक्तिमान भगवान शिवलगायत अन्य देवतालाई बलि चढाइँदैन । बलि चढाइए पनि भगवानका गण (शक्तिपीठ)हरूमा मात्र बलिचढाइन्छ ।

प्रतिक्रिया