नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता, पूर्व–उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी शनिबार राति सदाका लागि यस संसारबाट बिदा भएका छन् । आइतबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्तिम संस्कार पनि सम्पन्न भइसकेको छ । करिब सात दशक लामो समय वाम आन्दोलनमा समर्पित गर्दै राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएका अधिकारीको ८२ वर्षको उमेरमा शनिबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो । श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि २३ पुसदेखि अधिकारीलाई ललितपुरको मेडिसिटी अस्पतालमा राखिएको थियो । तर, स्वास्थ्यमा थप सुधार नभएपछि चिकित्सकहरूको सल्लाहमा २४ माघमा ह्याम्स अस्पतालमा सारिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि १६ दिनदेखि भेन्टिलेटरमा राखेर गरिएको उपचारले पनि स्वास्थ्यमा सुधार भएन । गत तीन दिनदेखि अधिकारी अचेत अवस्थामा थिए ।
महोत्तरी जिल्लाको भ्रमरपुरा गाउँमा २२ वैशाख १९९३ सालमा जन्मिएका अधिकारी नेपालको वामपन्थी आन्दोलनको पहिलो पुस्ताका नेता मानिन्छन् । राणा शाहीले पिता रामचन्द्र सुब्बाको जागिर खोसेपछि अधिकारी परिवार वीरगञ्ज हुँदै विराटनगर पुग्यो, जहाँ भरतमोहनसहित उनका दाजुभाइले मावली बिपी परिवारको सामिप्यतामा प्रारम्भिक स्कुले शिक्षा आर्जन गरे । ००७ सालको क्रान्तिताका अध्ययनको सिलसिलामा बनारसमा पुगेका अधिकारी कम्युनिस्ट विचारधारा नजिकका नेपाली विद्यार्थीहरूले खोलेको ‘स्टडी सर्कल’ मा संलग्न भए । भारतीय कम्युनिस्ट पार्टीलाई निर्वाचनमा सघाउने क्रममा १६ वर्षीय अधिकारीले ००९ सालमै भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिए । ०१४ सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन (फोहरा दरबार) मा प्रतिनिधिका रूपमा सहभागी अधिकारी ०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए । भारतबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेपछि तत्कालीन सोभियत सरकारले अधिकारीलाई मस्कोमा पिएचडीको छात्रवृत्ति दिएको थियो । तर, छात्रवृत्ति त्याग गर्दै अधिकारी तत्कालीन राजा महेन्द्रको निरंकुश तानाशाही विरुद्धको आन्दोलनमा होमिएका थिए । पञ्चायत ढाल्नका लागि संयुक्त जनआन्दोलनमा जोड दिँदै अधिकारी ०४४ सालमा गठित संयुक्त वाममोर्चाको सदस्य बने । ०४६ सालको जनआन्दोलन तत्कालीन माक्र्सवादीका तर्फबाट वाममोर्चाको एउटा कमान्डरका रूपमा सहभागी भए । जनआन्दोलनको सफलतापछि विश्वनाथ उपाध्याय नेतृत्वको संविधान मस्यौदा आयोगमा एक मस्यौदाकारका रूपमा उनले लोकतान्त्रिक अधिकार सुनिश्चित गरिएको प्रगतिशील संविधान निर्माणमा भूमिका खेले ।
०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको तत्कालीन एमालेको अल्पमतको सरकारमा अर्थमन्त्री भएका बखत भरतमोहन अधिकारीले वृद्धभत्ताको व्यवस्था सुरु गरेका थिए । त्यही सरकारले ‘आफ्नो गाउँ आफै“ बनाऔँ भन्ने अभियान पनि थालेको थियो । त्यो नै उनलाई सम्झना गर्ने सबैभन्दा चर्चित विषय बन्दै आएको छ । त्यतिखेरदेखि अहिलेसम्म भरतमोहनलाई वितरणमुखी अर्थमन्त्रीको ट्याग लाग्दै आएको छ । तर, सामाजिक सुरक्षा भत्ताजस्ता कुरामा अहिले आएर भने विश्व बैंकले पनि जोड दिन थालेको छ । नेपालमा ज्येष्ठ नागरिक सुरक्षा भत्ता लागू भएपछि छिमेकी मुलुक भारत र बंगलादेशले पनि यसको अनुशरण गरेका थिए । आफ्नो गाउँ आफैँ बनाऔैँ भन्ने कार्यक्रमले त मुलुकको कायापलट नै गर्याे । उनको पालादेखि सुरु भएको स्थानीय तहमा विकास खर्च पठाउने कार्यक्रम अहिले बढ्दै गएको छ । अब भरतमोहन हामीमाझ छैनन् । तर, सामाजिक सुरक्षा भत्ता र स्थानीय तहले गर्ने विकास निमार्णका हरेक गतिविधिमा उनी अनन्तः कालसम्म जीवित रहनेछन् । भरतमोहन अधिकारीप्रति हाम्रो पनि हार्दिक श्रद्धाञ्जलि ।
प्रतिक्रिया