‘हिउँ र जंगली साग खाएर लड्यौँ’

कश्मिर मामिलालाई लिएर सात दशकअघिदेखि विवाद गर्दै आएका भारत र पाकिस्तानबीच फेरि तनाव बढेको छ । यही फागुन पहिलो साता भारत प्रशासित कश्मिरमा भएको एउटा आत्मघाती आक्रमणमा ४० जनाभन्दा बढी सुरक्षाकर्मीको ज्यान गएपछि उनीहरूबीचको सम्बन्ध झनै बिग्रिएको हो ।

सोही तनावलाई लिएर कतिपयले भारत र पाकिस्तानबीच अर्को युद्ध हुनसक्ने अड्कल पनि काटिरहेका छन् । युद्धको अड्कलबीच कतिपयले भने करिब दुई दशकअघि भारत र पाकिस्तानबीच उच्च हिमाली क्षेत्र कारगिलमा भएको युद्धको समेत सम्झना गरिरहेका छन् ।

यसै सन्दर्भमा उक्त लडाइँका बखत कारगिलको अवस्था कस्तो थियो भन्ने बारे सन् १९९९ मा कारगिल युद्धमा प्रत्यक्ष सहभागी नेपाली नागरिक भारतीय गोर्खा सेनाका एकजना भूतपूर्व सुवेदार गम्भीरजंग राईसँगको भोगाइ र अनुभव कस्तो थियो ? कारगिल युद्धमा बच्न सफल राईको युद्ध संस्मरण उनकै शब्दमाः

मेरो पुख्र्याैली घर खोटाङ जिल्लाको निर्मलीडाँडा भन्ने स्थानमा हो । हाल भने म सुनसरीको इटहरीमा बसोवास गर्छु । म सन् १९७६ मा भारतको दार्जिलिङ पुगी ‘फ्रस्ट इलेभेन गोर्खा राइफल्स’मा भर्ना भएको थिए । भारतीय सैन्य सेवामा मैले २७ वर्ष काम गरेँ र सुबेदार पदमा पुगेपछि सन् २००२ मा अवकास पाएँ । सैनिक जीवनका २० वर्षजति म ’फिल्ड’मा नै खटिएर काम गरे । त्यसक्रमममा म कश्मिर, नागाल्यान्ड र आसामका कतिपय सशस्त्र विद्रोहलाई कम गर्न गरिएका कारबाहीहरूमा पनि सहभागी हुन पुगेँ ।

सात वर्षजति चाहिँ मैले दिल्ली र मुम्बईजस्ता सहरमा कार्यालयमा नै बसेर काम गर्ने अवसर पाएको थिएँ । प्रायः सबै क्षेत्रमा खटिँदा हाम्रो जिम्मेवारी सशस्त्र समूहमाथि नियन्त्रण गर्नु नै रहेको थियो ।

म कारगिलमा खटिनुभन्दा अगाडि सियाचिन हिमनदीको सैन्य शिविरमा काम गरेँ । यो सन् १९९८ को कुरा हो । २७ हजार फिटमाथिको सियाचिन सैन्य शिविरलाई विश्वकै कठिन भूभागमा रहेको मध्येको एउटा सैन्य शिविर भनिन्छ । हाम्रो टोली त्यहाँ ४५ दिन बसेको थियो । अक्सिजन एकदमै कम हुने उक्त क्षेत्रको शिविरमा बस्नु भनेको निकै कष्टकर कुरा भोग्नु हो ।

हामीलाई सियाचिन जानुभन्दा अगाडि एक महिनाको तालिम दिइएको थियो । त्यो तालिम हिमाल चढ्न दिइने तालिमजस्तै हो । हिमनदीमा जानुभन्दा अगाडि सबै सैनिकको तौल लिएर पठाइएको थियो । ४५ दिन बसेर फर्कंदा सबैजसोको तौल आधाजति कम भएको थियो । ६० केजीका मान्छे ३० केजीको भएर फर्केका थिए । त्यसो हुनुको कारण भने त्यहाँको मौसम हो ।

हामी हिँड्न मन पराउने मान्छे तर त्यहाँ त हिँड्न पनि सकिँदैन रहेछ । अक्सिजनको कमीका कारण एक दिनमा एकजना मान्छेले तीन सय मिटरभन्दा बढी हिँड्न सक्दैन । खाना पनि रुच्दैन । मलाई त केही पनि रुचेन । तर, बालककालदेखि नै खाने गरिएको खानेकुरा भने खान मन लाग्नेरहेछ । त्यहाँ खाने भनेकै पानी र जुस हो ।

त्यहाँ हिँड्नुपर्दा पनि धेरै गाह्रो हुनेरहेछ । हिमाल चढ्दा जस्तै ’क्लिप’को भरमा डोरीमा बाँधिएर हिँड्नुपथ्र्यो । त्यहाँको बसाइ अत्यन्तै डरलाग्दो । हिउँको खाडीमा पर्ने खतरा उस्तै थियो । सियाचिनमा बस्दा ७–८ जना एउटा डोरीमा बाँधिएर हिँड्नुपथ्र्यो । हिम पहिरो गएका गएका वेला ‘भाग्य’ले मात्र बाँचिनेरहेछ त्यहाँ ।

तर, हिम पहिरो जान लागेको चाहिँ केही अघि थाहा हुनेरहेछ । त्यस्तो बेला बच्नका लागि सावधानी अपनाउनुपर्छ । सियाचिनमा लाग्नसक्ने रोगको सूची नै ७२ वटा थियो । त्यो भन्दा बढी कष्ट त के नै होला र ? कहिलेकाहीँ त्यहाँ लगेर जहाज र हेलिकप्टरले सामान खसाइदिन्थ्यो । आफैँ हिँड्न नसक्ने अवस्थामा केही पर खसाएको सामान ल्याउने हिम्मत नै नहुने । कतिपय साथीहरू त सामान ल्याउनुको साटो भोकै शिविरमा बसेको पनि सम्झना छ मलाई ।

कारगिलको कष्ट

हामी सियाचिनमा ४५ दिन बसेर कारगिल फर्केको केही समयपछि नै भारत र पाकिस्तानबीच लडाइँ सुरु भयो । कारगिल र लेह क्षेत्रको लगभग एक हजार किलोमिटर लामो क्षेत्रलाई त्यसवेला भारतीय सेनाका विभिन्न कम्पनीले सुरक्षा गर्नुपर्ने जिम्मा थियो । त्यसका लागि सधैँ नियन्त्रण रेखामा नै बस्नुपर्ने अवस्था थिएन । महिनामा एक–दुईपटक गस्ती गरेर त्यसको हेरचाह गर्ने चलन थियो ।

तर, एकाएक पाकिस्तानले नियन्त्रण रेखा मिचेर भारततर्फ पक्की सैन्य शिविरहरू बनाएको भन्ने कुराहरू आए । त्यसपछि दुई देशबीच विवाद बढ्यो र कारगिल युद्ध सुरु भयो । कारगिल युद्धमा दुईवटा क्षेत्र प्रयोग भएका थिए, बटालिक र टाइगर हिल । युद्धको सुरूमै हामी गोर्खालीहरूले अग्रपंिक्तमा रहेर लड्नु परेन । अग्रपंक्तिमा अन्य सातवटा बटालियन थिए । तर, ती बटालियनले डेढ महिनासम्म पनि न कडा आक्रमण गर्न सके न प्रतिरक्षा नै ।

त्यसपछि गोर्खालीहरूको नम्बर लाग्यो । हामी ‘फस्र्ट इलेभेन गोर्खा राइफल्स’ मा कार्यरत थियौँ । हामीले बटालिक इलाका सम्हाल्नुपर्ने भयो । हाम्रो नम्बर लागेपछि बटालिक इलाकाको एउटा चुचुराको फेदमा आधार शिविर खडा ग¥र्यो । हामीलाई चुचुरोमा पुगेर ‘अक्युपाई एन्ड रिलिफ’ गर्ने आदेश थियो । त्यसका लागि हामीले समूह बनाउनुपर्ने भयो । मैले ‘क्याप स्पेसल टास्क फोर्स कमान्डर’को जिम्मा पाएँ । जब हामी अगाडि बढ्यौँ माथिबाट फर्किरहेका सैनिकहरू धेरै खुसी भए ।

तर, हामी जाँदा धेरै नै घाइते देखियो । सयौँ जनालाई उतै छाडेर आएको थाहा पाइयो । बम लागेर साथीहरू आएको देख्दा मन अमिलो भयो । मनमा लाग्यो, ‘नेपालमा जन्मियो, भारतलाई कर्मथलो बनाइयो अब ज्यानचाहिँ कारगिलमै जाने रहेछ ।’ हामी बटालिकमा खटिएको एक महिनासम्म खासै आक्रमण भएन । त्यसपछि बल्ल आक्रमण सुरु भयो ।

जुन दिन आक्रमण सुरु भयो मैले अरू सबै कुरा बिर्सिएँ । तर, आफ्नै गाउँठाउँका देवीदेउता मात्र भाकेर बसेँ । देउता मात्र पुकारेँ । परिवार पनि सम्झिनँ । देउतालाई नै सम्झेर आक्रमण सुरु ग¥यो । आक्रमण पहिलो कम्पनीले ग¥यो र हामी ‘रिजर्भ’मा बस्यौँ । हाम्रो ‘कमान्डिङ अफिसर’ कप्तान ललित राई थिए । भइदियो के भने, आक्रमण सुरु हुनेबित्तिकै ललित राई सहित १४ जना एम्बुसमा परिहाले ।

तर, उनले आफ्नै टाउकोमा राखेर हतियार चलाइहाले । त्यहाँ बम पड्कियो । त्यसले गर्दा आफ्नैतर्फ पनि हताहत भइहाल्यो । तर, हामी सफल हुने संकेत देखियो । १४ जनामा तीनजनाको मृत्यु भयो । त्यो दिनको कुरा सोच्दा त मुटुले ठाउँ छाड्छ । अहिले पनि मुटु काम्छ । उनले त्यो दिन बिर्सनै सकेका छैनन अहिले पनि । त्यसपछि भने लगातार लडाइँ हुँदा र साथीहरू घाइते भएर लड्दाचाहिँ बदलाको भावना आएर डर हरायो ।

मैले २८ जनाको नेतृत्व गरेको थिएँ । हामी नौ दिन लगातार लड्यौँ । त्यसबीच २७ वटा आक्रमण गरेछौँ हामीले । सायद हामी नेपालीहरू पहाडबारे अभ्यस्त भएकाले होला त्यो बाँदर पनि जान नसक्ने अक्करे भीरमा पनि हामीले त्यत्रो आक्रमण गर्न सकेछौँ । हामीले ९ दिनमा १२ किलोमिटर नियन्त्रण रेखा ‘क्लियर’ गर्यौँ ।

हिउँ खाएर लड्यौँः हामीले ७२ घण्टाको रासन बोकेर गएका थियौँ । तीन दिनमा रासन सकियो । तर, हामीले नुन र चिनी बचाएर राख्यौँ । हामीलाई रासन लिएर आउनुपर्ने टोली र हाम्रो बीचमा बम हानेर बाटो ध्वस्त बनाइदिए । हामी आमनेसामने लडाइँमा थियौँ । अब हामी रासनविहीन भयौँ ।

नुन र चिनी अलिअलि थियो । त्यहाँ जंगली साग पाइन्थ्यो । हामीले मैनबत्तीमा त्यसलाई सेकाएर खायौँ । हिउँमा चिनी लगाएर खाँदै नौ दिनसम्म बिताइयो । त्यहाँ धेरै कुराको कमी थियो । ५४ जना हाम्रातर्फ घाइते भए । तर, रासन पानी बोक्ने तीन सयजना घाइते भए । त्यो ‘ब्याड लक’ थियो ।

त्यो ढुंगाको छर्राः हामी लडाइँमा गएको पहिले दिन नै हाम्रो शिविरलक्षित बम खस्यो । ढुंगाहरू उफ्रेर माथि गए । हामीलाई चोइटाले लाग्यो । ढाडमा र गोडामा ‘खुन’ बग्यो । त्यो देखेपछि हामीलाई बमको छर्राले लागेको भान भयो । मैले मुटु छामेर बसेँ र सोचेँ, ‘अब जीवन यत्ति नै रहेछ । छर्राको विष लागेपछि मरिन्छ होला ।’

तर, एकछिनपछि भने घाउ चर्हायो मात्र । त्यसपछिचाहिँ ढुंगाको मात्र छर्रा लागेछ भन्ने भएर ढुक्क भयौँ । म अहिले पनि त्यो कुरा बारम्बार सम्झिन्छु । साथीभाई भेट्दा अहिले पनि म त्यो र्ददनाक कथा सुनाउँछु ।

भारत पाकिस्तान मिलून्ः अहिले फेरि भारत र पाकिस्तान युद्ध गर्नेजस्तो अवस्थामा पुगेको देखेर मलाई नरमाइलो लागेको छ । उनीहरूबीच युद्ध हुनु राम्रो होइन । अब त आणविक हतियार प्रयोग हुने खतरा बढी छ । त्यसले हामीलाई पनि असर पर्न सक्छ । युद्धलाई रोक्नु राम्रो हो । बिबिसीबाट

प्रतिक्रिया