अभिव्यक्ति स्वतन्त्रता कुण्ठित

लोक गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट’ यतिखेर चर्चाको शिखरमा छ । सार्वजनिक भएलगत्तै अत्यधिक मन पराइएको त्यो गीत ४८ घण्टा बित्न पाउँदै युट्युबबाट एक्कासि हराएपछि समाजिक सञ्जालमा खैलावैला मच्चिएको छ । हुनत गायक आफैँले हटाएको भनेर आफ्नो फेसबुक पेजमा स्टाटस लेखेका छन् । उनले यसका केही शब्दमा कतिपयले आपत्ति जनाएपछि ती आपत्ति जनाइएका शब्द हेरफेर गरी फेरि राख्ने बताएका छन् । तर, लोक दोहोरी प्रतिष्ठानले सो गीत जस्ताको तस्तै पुनः युट्युबमा अपलोड गर्न आग्रह गरेको छ । कुनै आधिकारिक निकायले बन्द गर्न औपचारिक रूपमा नभनेकाले पुनः अपलोड गर्न भनिएको लोक दोहोरी प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ । पशुपति शर्माले भने फेरि अपलोड गर्ने विषयमा सोचेर निर्णय गर्ने बताएका छन् ।

पशुपति शर्माको यो गीत युट्युबमा सार्वजनिक हुनासाथ सामाजिक सञ्जाल पक्ष विपक्षमा विभाजित भएको थियो । नेकपा सम्बद्ध केहीले यस गीतलाई आपत्तिजनक रहेकाले प्रतिबन्ध लगाउनुपर्ने जिकिर गरिरहेका थिए भने अर्को पक्षले समाज भएकै कुरालाई गीतमा लयबद्ध गरिएकाले हटाउन नपर्ने बताइरहेका थिए । केहीले त पशुपति शर्मालाई देशद्रोहमा कारबाही गर्नुपर्छ भनी लेख्नसमेत भ्याए । नेकपा सम्बद्ध युवा संघका केहीले पशुपतिको कार्यक्रम बहिष्कार गर्नेदेखि उनलाई जेल हाल्ने, भौतिक आक्रमण गर्नेसम्मका कुरा गरिरहेका छन् । स्वयं पशुपतिले २-४ जनाले फोन गरेकाले आत्तिएर हटाएको आफ्ना समकक्षीस“ग भनेका कुरा बाहिर आएका छन् । एउटा गायकले मुलुकमा व्याप्त विकृति विसंगतिका विषयमा गीत बनाउनु र गाउनु अनौठो कुरा होइन । नेपालमा मात्र होइन भारतमा यस्ता विकृति विसंगतिविरुद्ध योभन्दा कडा शब्दको प्रहार गर्दै फिल्म नै बनाइएको छ । नेपालमै पनि अनुदार र निरंकुश भनिएको पञ्चायतमा पनि पञ्चायत व्यवस्थाको विरोधबाहेक विकृति विसंगतिबारे जति पनि बोल्न पाइन्थ्यो । अहिले विरोध गर्नेहरूले नै त्यतिबेला योभन्दा कडा शब्दको प्रहार खुलेआम गर्थे ।

जहाँसम्म राष्ट्रपतिलाई लाञ्छना लाइएको कुरा छ । त्यो यसअघि विभिन्न पत्रपत्रिकामा आइसकेको कुरा हो । राष्ट्रपति कानुनभन्दा माथि छैनन् । संविधानभन्दा माथि छैनन् । राजा फालेर जनताका छोरा, छोरी राष्ट्रपति हुने व्यवस्था हामीले नै ल्याएका हौँ । फेरि पनि राष्ट्राध्यक्षलाई राजालाई जस्तै संविधान र कानुनभन्दामाथि राख्ने हो भने राजा फाल्न अग्रणी भूमिका निर्वाह गरेको भन्ने सत्तारूढ दलले त्यसको औचित्य पुष्टि गर्नुपर्छ । लोकतन्त्रका गहना भनेका सामाजिक न्याय र मानव अधिकार हुन् । योविना लोकतन्त्र कुरूप हुने गर्छ । मानव अधिकारको मुख्य कुरा अभिव्यक्ति स्वतन्त्रता हो । सिके राउतले देश टुक्र्याउने अभिव्यक्ति दि“दा पनि अभिव्यक्ति स्वतन्त्रताका नाममा सर्वोच्च अदालतले रिहा गरेको धेरै भएको छैन भने पशुपतिको गीत त्योभन्दा कडा हो त ? होइन भने यो गीतलाई प्रतिबन्ध लगाउनेसम्मको अभिव्यक्ति सत्ताधारी दलका कार्यकर्ताबाट आउनु भनेको अभिव्यक्ति स्वतन्त्रताको मात्र होइन लोकतन्त्रको चीर हरण हो । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्दा जर्मन दार्शनिक भोल्टायरको प्रसंग आउने गर्छ उनले भनेका थिए ‘तिम्रा विचारस“ग म सहमत हुन सक्दिनँ, तर विचार राख्न पाउने तिम्रा अधिकारका लागि म आजीवन लडिरहनेछु ।’ यति भइसकेपछि आशा छ सरकार र सत्तारूढ दलले आफ्ना अरिंगाललाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको शिक्षा दिनेछ ।

प्रतिक्रिया