सत्तारूढ पार्टीको जनयुद्ध दिवस

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार २४औँ ‘जनयुद्ध’ दिवस भव्यताका साथ मनाएको छ । प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नया“ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ भन्ने मूल नाराका साथ २०५२ साल फागुन १ गते माओवादीले देशका ६ ठाउँमा एकैसाथ हमला गरेको थियो । त्यसदिन काभ्रेको चौँरी, गोरखा च्याङ्लीको कृषि विकास बैंक, काठमाडौंको पेप्सीकोला, रोल्पा होलेरीको प्रहरी चौकी, रुकुम आठबिसकोटको प्रहरी चौकी र सिन्धुलीको गढी प्रहरी चौकीमाथि आक्रमण भएका थिए । सशस्त्र आक्रमण गरेको पहिलो दिनलाई माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ । त्यतिवेला सशस्त्र द्वन्द्वमा होमिएका माओवादी यतिवेला चारवटा चिरामा विभाजित छन् । एउटा चिराको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकीकरण गरिसकेका छन् भने एउटा चिराको नेतृत्व गरेका डा. बाबुराम भट्टराईले जनयुद्धको सान्दर्भिकता अब सकिएको भन्दै कम्युनिस्ट दर्शनलाई नै परित्याग गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको एउटा चिराले जनयुद्धलाई निरन्तरता दिइरहेको दाबी गरेको छ । मोहन वैद्य किरण नेतृत्वको चिराले समय अनुकूल हुनासाथ जनयुद्ध सुरु गर्ने भन्दै शक्ति सञ्चयको राजनीतिमा जुटिरहेको छ । वैद्य र विप्लवले विगतमा जस्तै आ–आफ्नो ढंगले जनयुद्ध दिवस मनाए । तर, सत्तामा समेत भएका कारण प्रचण्ड नेतृत्वको नेकपाले मनाएको जनयुद्ध दिवसले भने ठूलै चर्चा पायो ।

जनयुद्ध दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी स्मृति दिवसमा पार्टी एकता गर्नु र विद्रोह थालेको दिन देशभर जनयुद्ध दिवस मनाउनु दुई ऐतिहासिक परिघटना भएको बताए । प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीचको समझ्दारीबाट देशभर जनयुद्ध दिवसका कार्यक्रम तय गरिएको भन्दै नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘यस अर्थमा हामीभित्र नयाँ एकताको आधार बनाएको छ ।’ गत जेठ ३ गते एमाले र एमाओवादीबीच एकीकरण भई गठन भएको नेकपाले जनयुद्ध दिवस मनाइरहनुको सान्दर्भिकता नदेख्ने विश्लेषण धेरैले गरेका थिए । तर, सत्तारूढ नेकपाले पनि विप्लव र किरणले नेतृत्व गरेका माओवादी पार्टीसरह नै भव्यताका साथ जनयुद्ध दिवस मनायो ।

नेकपा एमालेले माओवादी जनयुद्धलाई गम्भीर अपराध ठहर गरेको थियो । पार्टी एकीकरण अघिसम्म एमालेले जनयुद्धको नाममा भएका गैरराजनीतिक हत्या तथा हिंसाका घटनालाई कानुनी दायरामा ल्याएर कारबाही अघि बढाउने प्रतिबद्धता जनाएको थियो । तर, पार्टी एकीकरणपछि सत्तारूढ नेकपाले जनयुद्धलाई गौरवका रूपमा लिनु भनेको तत्कालीन एमालेका नेताहरूको निकै ठूलो सैद्धान्तिक छलाङ हो । यो छलाङ ठीक हो या गलत ? भन्ने कुरा भावी दिनहरूमा पुष्टि हुनेछ । तर, तत्कालका लागि भने एमालेको यो छलाङलाई धेरैले जाति मानेका छैनन् । माओवादी जनयुद्ध नेपालको राजनीतिक इतिहासको सबैभन्दा ठूलो परिघटना हो । जुन परिघटनामा १७ हजारभन्दा बढी नेपालीको ज्यान गएको छ । यति ठूलो संख्यामा नेपालीहरू मारिएका परिघटना नेपालको इतिहासमा सायदै होलान् । यो परिघटनाले नेपाली समाजमा निकै ठूलो घाउ लगाएको छ । जुन घाउ सञ्चो हुन अझै २–३ पुस्ता लाग्ने अवस्था छ । यति ठूलो मूल्य चुकाएको परिघटनाले मुलुकका लागि उपलब्धि के दियो त ? भनेर प्रश्न गर्ने हो भने आशाजनक उत्तर फेला पार्न मुस्किल पर्छ । २०५२ साल माघ १ गते माओवादीले जनयुद्ध थालनी गर्दा नेपाली जनता जति अधिकार सम्पन्न थिए, त्योभन्दा बढी अधिकारसम्पन्न माओवादी जनयुद्धले गरायो त ? भन्ने प्रश्नको उत्तर पनि निराशाजनक छ । फरक यत्ति हो कि राजाको ठाउँमा अहिले राष्ट्रपति छन् । तर, गणतन्त्र माओवादी जनयुद्धको ताकतले मात्रै आएको होइन । गणतन्त्र स्थापनाका लागि माओवादी जनयुद्धको जति योगदान छ जनयुद्धबाट पीडित भएकाहरूको योगदान त्योभन्दा कम छैन । माओवादी जनयुद्धको उपलब्धिका रूपमा संघीय शासन पद्धतिलाई पनि लिने गरिएको छ । तर, जनयुद्धको नेतृत्व गरेका प्रचण्ड अध्यक्ष रहेको नेकपाको वर्तमान सरकारले यतिवेला ऐन कानुन तर्जुमा गर्दै गर्दा संघीयताको मर्मलाई आत्मसात गरेको छ त ? भन्ने प्रश्न पनि त्यतिकै सान्दर्भिक छ ।

प्रतिक्रिया