धेरै बच्चा जन्माउनेलाई सुविधै सुविधा

हंगेरी । आफ्नो देशको भविष्य आप्रवासीहरूमा निर्भर हुन नदिन हंगेरीको सरकारले जन्मदर बढाउन विभिन्न नीति अपनाउने भएको छ । देशको जनसंख्या प्रत्येक वर्ष ३२ हजारले कम हुँदै गएपछि यसबारे गम्भीर चिन्ता व्यक्त गर्ने गरिएको छ । हाल त्यहाँका महिलाहरूको प्रजननदर युरोपेली संघको औसतभन्दा कम रहेको छ ।

यसै समस्याको समाधानका निम्ति सरकारले युवा जोडीहरूलाई ब्याजविना ३६ हजार डलर ऋण प्रदान गर्ने र तीन बालबालिका जन्माएमा ऋण माफी गरिदिने बताएको छ । त्यसैगरी, यता प्रधानमन्त्रीले चार वा सोभन्दा बढी बालबालिकाकी आमालाई जीवनभर करमुक्त गराउनेसमेत बताएका हुन् ।

जन्मदर बढाउने उद्देश्यले सरकारले यस्ता विभिन्न उपाय अपनाइरहेको छ । प्रधानमन्त्री भिक्टर अर्बन भन्छन्, ‘युरोपमा लगातार घट्दै गइरहेको जन्मदरको एक मात्र जवाफ भनेको आप्रवासन थियो । यसरी बालबालिकाको कमी पूरा गर्न बाहिरबाट आप्रवासीहरू भित्र्याइने गरिएको छ । तर, हंगेरीका जनता यस विषयमा फरक विचार राख्छन् । ’ उनले थप भने, ‘किनकि, हामीलाई अंक बढाउनु छैन बरु हंगेरीकै स्थानीय बालबालिका आवश्यक छ ।’

यसरी प्रधानमन्त्री अर्बनले राष्ट्रिय सम्बोधनका क्रममा जन्मदरलाई ७ प्रतिशतले बढाउने घोषणा गरेका हुन् जसमा सर्वसाधारणले सबैभन्दा बढी उत्साह व्यक्त गरेको बताइएको छ । यसरी जन्मदर बढाउने सरकारको योजनाअन्तर्गत आगामी तीन वर्षमा २१ हजार नर्सरी निर्माण गरिने बताइएको छ भने देशको स्वास्थ्य प्रणालीमा पनि थप २ दशमलव ५ अर्ब डलर खर्च गरिने पनि बताइएको छ ।

त्यसैगरी, सरकारद्वारा प्रायोजित हाउजिङको व्यवस्था र सातवटा सिट भएको सवारी खरिदमा समेत सरकारले आर्थिक सहयोग गर्ने बताइएको छ । हाल युरोपेली संघमा सबैभन्दा धेरै प्रजननदर रहेको देश फ्रान्स हो । दक्षिण अफ्रिकास्थित नाइजर भने प्रजनन दरमा विश्वमै सबैभन्दा अगाडि रहेको छ (प्रति महिला ७ दशमलव ४ बच्चा) ।

प्रतिक्रिया