पारमाणविक युद्ध निम्त्याउँने अस्त्र

लन्डन । पारमाणविक युद्धको खतराको सोचले नै मानिसलाई भय सिर्जना गराउँछ । तर, पनि परमाणु अस्त्र र अन्य हतियार बीचको भिन्नता मेटिँदै गर्दा युद्धको खतरा बढिरहेको छ ।

पारमाणविक र गैरपारमाणविक अस्त्रहरू एकआपसभन्दा बिल्कुलै भिन्न कहिल्यै थिएनन् । उदाहरणका लागि बी (२९ बमवर्षक विमान गैरपारमाणविक बम खसाल्न बनाइएको थियो तर सन् १९४५ मा जापानको हिरोसिमामा इनोला गे नामक यस्तै विमानबाट परमाणु बम खसालियो ।

हिरोसिमामा परमाणु बम खसालिएको ७४ वर्षपछि अहिले विश्वका नौ देशसँग हजारौँ पारमाणविक अस्त्र छन् र ती अस्त्रहरू अब गैरपारमाणविक हतियारसँग एकाकार हुँदै गएका छन् ।

सन् १९८६ मा विश्वमा सबैभन्दा धेरै ६४ हजार पारमाणविक अस्त्र थिए, अहिले त्यो संख्या कम छ तर समकालीन केही परमाणु हतियारहरू हिरोसिमामा खसालिएको बमभन्दा ३ सय गुणा शक्तिशाली छन् ।

ब्रिटेनबाहेक अरू सबै परमाणु अस्त्र भएका देशहरूसँग पारमाणविक वा गैरपारमाणविक दुवैखाले अस्त्र प्रयोग गर्न मिल्ने प्रविधियुक्त क्षेप्यास्त्र छन् ।

रुसले भर्खरै बनाएको क्रुज क्षेप्यास्त्र ९ एम ७२९ यसको एउटा उदाहरण हो । अमेरिकाका अनुसार ५ सय किलोमिटर परसम्म प्रहार गर्न मिल्ने त्यो क्षेप्यास्त्रमा पारमाणविक र गैरपारमाणविक दुवै अस्त्र प्रयोग गर्न मिल्छ ।

अमेरिकाले त्यो रुसी क्षेप्यास्त्र लामो दूरीको परमाणु अस्त्र विरुद्धको एक अन्तर्राष्ट्रिय सहमति विपरीत भएको दाबी गरेको छ । अमेरिकाले नयाँ अस्त्र होडबाजीप्रति चिन्ता व्यक्त गर्दै आफू सो सहमतिबाट बाहिरिने घोषणा गरेको छ ।

चीनले भर्खरै नयाँ डिएफ–२६ क्षेप्यास्त्र प्रदर्शन गरेको छ । त्यो क्षेप्यास्त्र २ हजार ५ सय किलोमिटर परसम्मको लक्ष्यमा प्रहार गर्न मिल्ने र दुवै प्रकारको अस्त्र लिएर उड्न सक्ने खालको छ । यी क्षेप्यास्त्रहरूले परमाणु युद्धको खतरा बढाउने केही अवस्थाहरू छन् ।

सबैभन्दा स्पष्ट अवस्था भनेको ती क्षेप्यास्त्रहरूमार्फत गैरपारमाणविक बम प्रहार भएको अवस्थामा अन्य देशहरूले त्यस्तो घटनामा परमाणु हमला भयो कि भनेर झुक्किन सक्ने स्थिति रहन्छ । र प्रतिकारका रूपमा अर्को देशले परमाणु अस्त्र प्रहार गर्न सक्छ ।

युद्धको अवस्थामा व्यावहारिक खतरा भनेको यस्ता क्षेप्यास्त्रहरूमा परमाणु अस्त्र छन् या छैनन् भनेर एकिन हुन नसक्ने अवस्था हो । क्षेप्यास्त्रहरू मात्रै होइनन् अन्य प्रविधिहरूमा पनि पारमाणविक र गैरपारमाणविक अस्त्रहरू स्पष्ट छुट्याउन नसकिने खालका हुँदै गएका छन् ।

उदाहरणका लागि सबै परमाणिक शक्तिका लागि सञ्चार आवश्यक पर्छ जसका लागि स्याटेलाइट आवश्यक पर्न सक्छ । तर, धेरै अवस्थामा परमाणिक प्रणालीमा प्रयोग गरिने सञ्चार गैरपरमाणिक अभ्यासमा प्रयोग गर्न थालिएको छ ।

अमेरिकाले आक्रमणका बारेमा जानकारी दिने स्याटेलाइट प्रणाली प्रयोग गर्छ जुन रुसले छोटो दूरीको गैरपरमाणविक क्षेप्यास्त्र प्रयोग गरेको अवस्थामा त्यसलाई खसाल्ने पहिलो चरणको रूपमा प्रयोग हुन्छ ।

रुसले अमेरिकाको त्यो सूचना दिने स्याटेलाइनमाथि नै आक्रमण गर्न सक्छ । अमेरिकी सूचनाअनुसार रुसले लेजरमा आधारित त्यस्तो हतियार बनाउने प्रयास गरिरहेको छ ।

यदि, त्यस्तो भएको अवस्थामा अमेरिकाले रुसले आफूमाथि परमाणिक अस्त्र प्रहार गर्न लागेको सोचेर त्यस्तै प्रतिक्रिया दिन सक्छ । पारमाणविक अस्त्र भएका सरकारहरू पनि यो अवस्थाका बारेमा जानकार छन् । र उनीहरूलाई यसबाट हुन सक्ने खतराहरूबारे पनि थाहा छ ।

तर, यो खतरालाई कम गर्ने सम्बन्धी कार्य उनीहरूको प्राथमिकतामा छैन । उनीहरू अझै पनि बलिया र शक्तिशाली हतियार बनाउन चाहन्छन् । अहिलेको अवस्थामा ती देशहरू यो विषयमा छलफल गर्न एउटा टेबुलमा बस्न पनि नसक्ने अवस्थामा छन् ।

प्रतिक्रिया