बिक्री भएनन् ‘हिट्लरका पेन्टिङ’

जर्मन । नाजी नेता एडोल्फ हिट्लरले बनाएको भनिएका पाँचवटा पेन्टिङ जर्मनीमा गरिएको एउटा लिलाम बढाबढमा बिक्री हुन सकेनन् । लिलाम बढाबढ गर्ने केन्द्र वाइडलरले पेन्टिङहरूको लिलाम बढाबढको सुरुआती मूल्य ५१ हजार अमेरिकी डलर तोकेको थियो ।

जर्मनीको नुरमबर्गमा लिलाम बढाबढको आयोजना गरिएको थियो, जुन सहर कुनैवेला हिटलरका बृहत् ¥यालीहरूका लागि कुख्यात थियो ।र, पछि सोही सहरमा ठूला नाजी नेताहरूमाथि युद्ध अपराधका मुद्दाहरू चलाइएका थिए । तोडमरोड गरिएको आरोपहरूका कारण लिलाम बढाबढ विफल हुन पुग्यो र नगर प्रमुखले वर्तमान अवस्थाका लागि उक्त लिलाम बढाबढ “असुहाउँदो भएको“ बताएका छन् ।

नाजी तानाशाहका फूलदानी र स्वस्तिक चिह्न भएको एउटा कुर्सी पनि लिलाम बढाबढमा राखिएका थिए । सन् १९३३ देखि ४५ सम्म शासन गरेका हिट्लरको शासनकालमा जर्मनीले नरसंहारको नीतिलाई अंगीकार गर्दै दोस्रो विश्वयुद्ध सुरू गरेको थियो, जसमा करिब ६० लाख यहुदी र लाखौँ सर्वसाधारण एवम् लडाकु मारिए ।

शैक्षिक वा ऐतिहासिक प्रयोजनबाहेक जर्मनीमा नाजीको परिचय झल्काउने चिह्न संकेतहरूलाई सार्वजनिक रूपमा देखाउनु कानुन विपरीत कार्य हो । लिलाम बढाबढ गर्ने केन्द्रले आफ्नो पुस्तिकामा ती चिह्नहरूलाई तोडमोड गरेर राखेको थियो ।

जर्मन प्रहरीले केन्द्रबाट केही विक्रीमा राखिएकासहित दर्जनौँ कलाकृतिहरू जफत गरेका थिए । अभियोजनकर्ताहरूका अनुसार ‘एएच’ अथवा ‘ए हिट्लर’को हस्ताक्षर भएका ६३ वटा सामान जफत गरिएका छन् ।

नुरमबर्गकी प्रमुख अभियोजनकर्ताले कागजातहरूलाई गलत देखाएको र छलछामको प्रयास गरेको आरोपमा पहिचान नखुलाएका मानिसहरूमाथि अनुसन्धान थालिएको बताइन् ।

उनले भनिन्, लिलाम बढाबढ गर्ने केन्द्रले समन्वय गर्नुपथ्र्याे र स्वेच्छिक रूपमा पेन्टिङहरू बुझाउनुपथ्र्यो । भिएना एकेडेमी अफ फाइन आर्ट्सले हिट्लरका कलाकृतिलाई दुई पटक अस्वीकार गरेको बताइन्छ । युवा अवस्थामै उनले आफ्ना कलाकृति विक्री गरेको ठानिन्छ ।

कम गुणस्तर भएका हिट्लरका दर्जनौँ कलाकृतिहरू कैयौँ वर्षयता विक्री भएका छन् । सन् २०१५ मा वाइडलरले करिब चार लाख युरोमा उनका एक दर्जनभन्दा बढी पेन्टिङ बिक्री गरेको थियो । त्यतिवेला खरिदकर्ताहरू जर्मनी, चीन, फ्रान्स, ब्राजिल र संयुक्त अरब एमिरेट्सबाट थिए ।

सन् २०१४ मा सो केन्द्रले हिट्लरले बनाएको म्युनिख सभागृहको पेन्टिङ एक लाख ३० हजार युरोमा बिक्री गरेको थियो ।

प्रतिक्रिया