विद्यालयमा निःशुल्क आँखा शिविर

सल्यान । जिल्लाको एक विद्यालयका विद्यार्थीले निःशुल्क आँखा जाँच सेवा लिएका छन् । जिल्लाको त्रिभुवन जनता माध्यमिक विद्यालय लुहापिङ सल्यानमा अध्ययन गर्ने २ सय ४५ विद्यार्थीले विद्यालयमै निःशुल्क आँखा जाँच गराएका हुन् ।

ग्रामीण वचत तथा ऋण सहकारी संस्था लिमिटेड सल्यानको आयोजना, नेपाल नेत्रज्योति संघ, सल्यान आँखा उपचार केन्द्रको प्रावधिक सहयोगमा एकदिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो ।

जसमध्ये १ सय २३ जना छात्र र १ सय २३ जना छात्राहरूको आँखा परीक्षण गरिएको सल्यान आँखा उपचार केन्द्रका प्रमुख पदमराज पन्तले जानकारी दिएका छन् ।

उनका अनुसार २ सय ४६ जना विद्यार्थी मध्ये तीन जना छात्रा र दुई जना छात्र गरी पाँच जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिने भएको छ । आँखा जाँच कार्यक्रममा छात्र÷छात्राले निःशुल्क आँखा जाँच गराउनुका साथै आवश्यक सल्लाहसमेत पाएका थिए ।

सल्यान आँखा उपचार केन्द्रका प्रमुख पदमराज पन्त र राधिका खड्काले प्रावधिक सेवा प्रदान गरेका थिए । आँखा जाँच कार्यक्रममा त्रिभुवन जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक माधवविक्रम जिसी, शिक्षक, कर्मचारी र ग्रामीण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा उपाध्यक्षलगायत सम्पूर्ण पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया