मत-विमत

साम्यवादी पनि पुँजीवादको बाटोमा

सिरानघरे जेठो २०७५ माघ २८ गते ७:५६ मा प्रकाशित

जब समाजसेवा, नैतिकता, इमानजमान, माया आदिजस्ता कुरा कृत्रिम तराजुमा स्वार्थका ढक राखेर जोखिन थाल्दछन् तब तिनको विशिष्ट गुणमा ह्रास आउन थाल्दछ । ‘अनशन’ भन्ने शब्दकै अब स्तर खस्केको छ । विदेशी भूमिमा विदेशीको योजनाअनुसार सम्झौता भएर टुंगिने गरेका नेपालका क्रान्ति वा परिवर्तन र स्वार्थी जत्थासँग सम्झौता गरेर टुंगिने अनशनका शृंखलाहरू उस्तै हुँदा रहेछन् ।

जसले सत्ता प्राप्तिको माध्यम नै ‘झुट’ र ‘डर’ वा ‘हस् हजुर’ लाई बनाएका हुन्छन् तिनलाई ‘सत्याग्रह’, ‘अनशन’ र ‘सहिद’ उस्तै लाग्छन् । सत्तामा बस्नेहरू हुन् वा सत्तामा जान पालो कुरेर बसेका हुन् सत्तामा हुँदा गर्ने वा देखाउने व्यवहार यही नै हो, यही नै देखाउँदै आएका छन् । आफैँले बोलेको भए पो त्यो कुरा पु¥याउन सकिन्छ । अर्कोले थोपरिदिएको नारामा उसैले दिएको सामलतुमलका भरमा सोझा नेपालीलाई उकासेर भएका आन्दोलन रहेछन् त्यसैले सत्ताबाहिर बस्दा र सत्तामा बस्दा नेपालका हरेक दलका बोली र व्यवहारमा आकाश जमिनको फरक देखिने गरेको छ । कसको कहिलेदेखिका अनशनका कुरा गरिरहेका छौँ हामी ? बगरेलाई खसीबोका बिरामी भएर मरे पनि केही फरक पर्दैन । मासु मजाले बिक्छ ।

नेपालका हरेक ठुल्ठूला काण्डहरूको आर्थिक भाग सबै दलको भान्छाभान्छामा पुग्छ । सबै ‘काले काले मिलेर खाऊँ भाले’ गरिरहेका हुन्छन् । लाउडा होस् वा वाइडबडी, महाकाली होस् वा अरूण, पैदल मार्ग होस् वा हवाई मार्ग, परिवारको अंशमुद्दा होस् देशको सीमा मुद्दा सबैमा कमिसन आउँछ र त्यो सबै दलले मिलेर खाइरहेका हुन्छन् ।

कुनैमा भाग पाइएन भने जनतालाई उचाल्छन् र भाग पाएपछि चुप लाग्छन् । यसैगरी, तस्करहरूको जालोमा पुरै राजनीति र कर्मचारीतन्त्र फसिसकेको छ । बाबुराम भट्टराईको, लोकमानको, सुशीला कार्कीको, गोविन्द थापाको, अधिकारी दम्पत्तीको र अन्य धेरै मुद्दाको उदय र अस्तको तथा सुडान काण्ड, सुन काण्ड र बलात्कार काण्ड आदि काण्डको आरोह अवरोहलाई शान्त मनले कुनै आग्रह वा पूर्वाग्रह नराखी मनन र विश्लेषण गरौँ । प्रायः सबै मुद्दामा जब प्रणालीको प्रमुख धारमा भएको राजनीति पूरै तानिने अवस्था आउँछ तब ती सबै मुद्दा त्यत्तिकै सेलाउने गरेका छन् ।

कुनै दलको सत्ता प्राप्ति र सत्ताबाट हुने बहिर्गमन राजनीतिमा सामान्य कुरा हुन् । सत्तालाई तस्कर र विदेशीको क्रीडास्थल बनाएर मोजमस्ती गर्न पल्केकाहरूलाई सत्ता छाड्नु पर्दा पृथ्वी नै छाड्नु परेको जस्तो पीडा हुन्छ । गोजी दह्रो हुनेहरूले वा अदृश्य प्रभुको आशीर्वाद पाउनेहरूले मात्र राजनीति गर्न सक्नेगरी नेपालको राजनीति कुहिइसकेको छ । यस्तो अवस्था आउनुमा सबै राजनीतिक दल र तिनका मतियारका रूपमा हामी सबै नै दोषी छौँ । जनताको नाम बेचेर जसले हान्यो, त्यसले जान्यो, अनि पायो पनि । ‘जनता’ माध्यम वा तासका जोकर बनिरहे । सात सालदेखि ७६ सालसम्म राजनीति, राजनीतिज्ञ र त्यसको छत्रछायामा बस्नेको मात्र परिवर्तन देखिनुको कारण यही हो ।

परिवर्तनका नाउँमा हाम्रा प्रायः सबै नेताले गरेको दुःख, देश र जनताका लागि नभई आफैँले सुखसयल भोग गर्नका लागि गरेको देखिएको छ । परिवर्तनको यो दौरानमा एकाध आदर्श सच्चरित्रका व्यक्तिहरू कता–कता त्यसै हराउँदा रहेछन् । कुनै वेला सत्तामा बस्ने कुनै व्यक्तिले आफ्नो चरित्रलाई आदर्श बनाइदिएको भए, आफूले मानिआएको सिद्धान्तलाई व्यवहारमा उतारिदिएको भए, पछि सत्तामा बस्न आउनेले पनि त्यसैलाई आधार बनाउन बाध्य हुन्थे । दुःख लाग्छ, आजसम्म जो जो सत्तामा बसे वा अहिले जो–जो सत्तामा बसिरहेका छन् ती प्रायः सबै असन्तुलित वैदेशिक दबाबमा उन्मत्त भई छटपटाएरै बसे र बसिरहेका छन् ।

नेपालमा राजतन्त्र, प्रजातन्त्र वा गणतन्त्र जे भने पनि, मात्रामा अलिअलि तलमाथि भए पनि, सबै विदेशीको आशीर्वादबाटै चलेका तन्त्रहरू हुन् । सत्ताबाहिर हुँदा धर्म अफिम हुन्थ्यो, सत्तामा बसेपछि त्यो अमृत वा वाइन बन्न पुग्दछ । सत्ता नपाउँदासम्म दक्षिणको छिमेकीका विरुद्ध खुकुरी नाच र सुरुङ युद्धका नाटक मञ्चन हुन्छन्, सत्तामा पुगेपछि उसैलाई तामदानीमा बोकेर हिँड्न बाध्य हुनुपर्दछ । सत्तामा बस्दा गोविन्द केसीहरू घाँडो हुन्छन्, सत्ताबाहिर हुँदा ईश्वर ।

त्यस्तै, अर्काेतर्फ सडकका ऐतिहासिक तथ्यहरू उदेकलाग्दा छन् । गुणस्तरका कुरा गर्ने हो नेपालको औकात शून्य प्रायः छ । भारतले त्रिभुवन राजपथ, चीनले अरनिको राजमार्ग बनाइदियो तत्कालीन शासकहरू मैले गरेको भन्दै शिलान्यास र उद्घाटन गर्न दगुरे । तर, यी दुवै राजमार्गहरू दुई छिमेकीको रणनीतिक योजनाअन्तर्गत बनेका थिए । भारतको संलग्नता हुँदा चीनले विरोध गरेपछि तत्कालीन सोभियत संघलाई बीचमा घुसाएर विभिन्न द्विपक्षीय वा त्रिपक्षीय लगानी कर्ताको सहयोग लिई महेन्द्र राजमार्ग बनाइयो । सुरुमा निर्वाधरूपमा दोहोरो सवारी चल्ने बिपी राजमार्ग बनाइदिने प्रस्तावलाई चीनको विरोधका कारण स्थगन गर्नुपरेको थियो । दशकौँपछि लेन घटाएर अनुमति लिई त्यो बाटो बनाइयो ।

कान्तिराजपथको डोब खन्ने काम नेपाली सेनाले गरेको थियो । अहिले पनि जेजति सडकहरू बनिरहेका छन् प्रायः सबै विदेशी प्रोजेक्टअन्तर्गत नै बनिरहेका छन् । हामीले यस अवधिमा के सिक्यौँ र के ग¥यौँ त ? चीनले उपत्यकामा पछि विस्तार गर्ने भागसमेत राखी १० दशमलव २ किमिको कोटेश्वर–कलंकी चक्रपथ ८ लेनको सडक बनाइदियो । हामीले त्यसलाई खुम्च्याएर बेच्न र खान सिक्यौँ । त्यसैले, त अहिले चक्रपथको एउटा भाग पुरानै मापदण्डअनुसार बनाएर नेपाललाई हस्तान्तरण गर्नसमेत चीनजस्तो देशलाई समेत पसिनापसिना हुनुपर्यो ।

दशकौँअघि अर्कोले बनाइदिएको सडक विस्तार गर्न उसैलाई गुहार्न परिरहेको छ, तैपनि हामी गर्व गरिरहेका छौँ । यो अवधिमा भएको बजेट खर्चको ढाँचा, वैदेशिक लगानीको अवस्था, प्राविधिक शिक्षा क्षेत्रमा भएको लगानीको अवस्थाका विषयमा आत्मालोचना र पुनर्विचार गर्नुपर्ने हो कि होइन ? पशुपतिमा बस्ने माग्नेले, कुनै दिन, कुनै कमाउन मिहिनेत नगर्ने धनीले दिएको धनमा वा खानेकुरामा रमाउनु र नेपालले विदेशी ऋण वा अनुदानमा फाट्टफुट्ट कछुवा गतिमा हुने विकासमा रमाउनु उस्तै हो वा होइन ?

सधैँ मागेर वा ऋण काढेर कुनै घर गृहस्थी त चल्दैन भने देशको व्यवहार चल्दछ र ? अब त हामीलाई लाज हुनुपर्ने हो । भएजति पूर्ण दक्ष जनशक्तिलाई पलायन हुन बाध्य पार्दै, अर्ध दक्ष जनशक्तिलाई रोजगारका लागि विदेश लखेट्दै तिनको परिश्रमको मूल्यमा कचिंगल गर्दै भागबन्डा गरेर कतिन्जेल चल्छ देश ? एकातिर स्वदेशी रोजगारी र उत्पादन बढाउने नारा पिट्ने र अर्कातिर वैदेशिक रोजगारमा जान उचाल्ने किसिमले खोजीखोजी विश्वभर सम्झौता पनि गर्ने, यो दोहोरो चरित्र कसका लागि देखाइरहेका छौँ हामी ?

कांग्रेस त स्थापना कालदेखिको नीति त्याग्दा पतित भयो भयो, बौरन धेरै समय लाग्छ । कमसेकम साम्यवादीहरू अन्ध पुँजीवादका पक्षधर हुँदैनन्, समयअनुसार पूर्ण साम्यवादी हुन नसके पनि समाजवादीसम्म हुन्छन् जस्तो लाग्दथ्यो । तर, गलत सोचिरहेको रहेछु, साम्यवादीहरू पनि प्रजातन्त्रवादीहरू डुबे जसरी नै औपनिवेशिक पुँजीवादको आर्थिक र धार्मिक कमिसनमा डुबिसकेका रहेछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय