भारतीय सिमकार्डको प्रयोग बढ्दै

दार्चुला । जिल्लाको अवरुद्ध इन्टरनेट तथा फोन सेवा चौथो दिनमा सुचारु भएको छ । बिहीबार साँझदेखि अवरुद्ध भएको दार्चुलाको इन्टरनेट तथा ल्यान्डलाइन सेवा आइतबार साँझतिर सुचारु भएको हो ।

बैतडीको भीतरपाखा भन्ने स्थानमा इन्टरनेट रुटको रेडियो मेसिन खराबी हुँदा बिहीबार साँझदेखि दार्चुलाको इन्टरनेट तथा फोन सेवा अवरुद्ध भएको थियो । केही दिनसम्म नेपाल टेलिकमका सम्पूर्ण प्रिपेडहरूको सेवा पनि अवरुद्ध भएको थियो । तर, शुक्रबारदेखि भने जिएसएम तथा सिडिएम फोन सेवाहरू भने सुचारु भएको थियो ।

तर, भीतरपाखास्थित इन्टरनेट रुटको रेडियो मेसिनमा खराबी आउँदा इन्टरनेट र ल्यान्डलाइन सेवा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए । प्राविधिकहरूको टोलीले रेडियो मेसिन जोडेर आइतबार दिउँसो करिब साढे तीन बजेतिर इन्टरनेट तथा ल्यान्डलाइन सेवा सुचारु भएको टेलिकम प्रमुख गुरुङले बताएका छन् ।

दार्चुला जिल्लाको इन्टरनेट तथा फोन सेवा वेलावेलामा अवरुद्ध हुँदा सेवाग्राहीहरू, बैंक तथा सञ्चार माध्यमहरू प्रभावित हुने गरेका छन् । जिल्लाको सञ्चार सेवा घामको भरमा समेत सञ्चालन हुने गरेको छ । मौसम बदली हुँदा पनि जिल्लाको इन्टरनेट तथा फोन सेवा अवरुद्ध हुने गरेको छ । जिल्लाको बलशिखरस्थित मुख्य रिपिटर टावर नै सोलार सिस्टमबाट सञ्चालन हुँदै आएकाले पनि मौसम बदली हुँदा जिल्लाभरकै सञ्चार सेवा अवरुद्ध हुने गरेको छ ।

यस्तै जिल्लाका विभिन्न स्थानमा रहेका टेलिकम टावरहरूमा विद्युतीकरण गर्न नसकिँदा अझै पनि टेलिकम ग्राहकहरूले हैरानी खेप्नुपरेको छ । चार दिनदेखि अवरुद्ध भएको इन्टरनेट तथा फोन सेवाका कारण जिल्लाको बैंकिङ कारोबारसमेत प्रभावित भएको थियो । यसरी जिल्लाको इन्टरनेट तथा फोन सेवा वेलावेला अवरुद्ध हुँदा भारतीय सीमकार्ड प्रयोग गर्नेहरूको संख्या बढ्दै गएको छ ।

सीमावर्ती बजार क्षेत्र जिल्ला सदरमुकाम खलंगा, जौलजिवी, मालिकार्जुन, दत्तु लगायतका सीमावर्ती नेपाली बजारमा पछिल्लो समय भारतीय सीमकार्ड प्रयोग गर्नेहरूको संख्या बढ्दै गएको स्थानीय नरेश अवस्थीले जानकारी दिए । नेपाल टेलिकम सेवा अवरुद्ध भएका वेला पनि भारतीय सीमकार्ड सञ्चालन भइरहने भएकाले भारतीय सीमकार्ड प्रयोग गर्नेहरूको संख्या बढ्दै गएको उनको भनाइ छ ।

विगतका वर्षहरूमा नेपाल टेलिकमका सीमहरू भारतीय क्षेत्रमा प्रयोग गर्नेको संख्या बढेको थियो । मुख्यगरी भारतीय सीमावर्ती क्षेत्रमा नेपाल टेलिकमका सीमकार्ड प्रयोगकर्ताहरूको संख्या बढेको थियो भने अहिले भारतीय सीमकार्ड प्रयोग गर्नेको संख्या नेपाली क्षेत्रमा बढेको छ । नेपाली सीमकार्डमा नाइट प्याक लगायतका विभिन्न सेवा भएकाले पनि भारतीय क्षेत्रमा नेपाल सीमकार्ड प्रयोग गर्नेहरू बढेका थिए ।

पछिल्लो सयम भारतमा पनि एर्टेल, बिएसएनएलको टावरहरू निर्माण गरिएकाले नेपालमा पनि भारतीय सीमकार्ड प्रयोग गर्नेको संख्या बढेको हो । नेपाल टेलिकम ग्राहकले नेपाली सीमकार्डको विकल्पमा भारतीय सीमकार्ड प्रयोग गर्न थालेका हुन् ।

प्रतिक्रिया