क्यान्सर पीडितलाई सहयोग

सल्यान । शारदा नगरपालिका–१३ अत्तरकाँडाका ३८ वर्षीय क्यान्सर पीडित ऋषिराज भण्डारीलाई दुई लाख बढी सहयोग रकम जम्मा भएको छ ।

गत आइतबार हातको अप्रेसन गरेका भण्डारीको उपचारमा सहयोगार्थ सल्यान घर भई हाल युकेमा रहेकी कविता घर्ती मगर(गुरुङ) र एलबी गुरुङले १ लाख ६ सय ५०, अमेरिकामा रहेका इन्दिरा घर्तिमगर र शिवा बुढाथोकीले संकलन गरेको १ लाख ७ हजार ५ सय ५ र कोरियामा रहेकी नारायणी घर्तीमगरले व्यक्तिगत रूपमा १० हजार गरेर जम्मा भएको २ लाख १८ हजार १ सय ५५ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

लामो समयदेखि क्यान्सर रोगले थला परेका भण्डारीलाई शनिबार सहयोग रकम संकलन भएको हो । घरको आर्थिक अवस्था कमजोर भएपछि भण्डारी उपचारको अभावमा घरमै थलिएका थिए । स्थानीय युवाहरू लोकराज भण्डारी र चुर्णबहादुर वलीको पहलमा आर्थिक संकलनको अभियान चलाउनेदेखी अस्पतालसम्म पु¥याउने काम भएको थियो ।

आर्थिक अवस्था कमजोर भएपछि उपचारबाट वञ्चित भएको खबर विभिन्न सञ्चार माध्यममा समाचार प्रसारण र प्रकाशन भएपछि सहयोग रकम संकलन भएको हो । भण्डारीको उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीले रकम संकल गरी अहिले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।

शनिवार सो रकम चितवन क्यान्सर अस्पतालमा पुगेर सहयोगीका आफन्त लोकविक्रम घर्तिमगर र अस्तित्व अभियान केसीले बिरामी ऋषिराज भण्डारीलाई हस्तान्तरण गरेका हुन् । बिरामी ऋषिराज भण्डारीलाई सहयोग गर्न अझै खर्च आवश्यक पर्ने युकेमा रहेकी कविता घर्तिमगर (गुरुङ) ले जानकारी दिएकी छन् । संकलित रकम बुझ्दै बिरामी भण्डारी र उनका आफन्तहरू खुसी हुँदै सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गरेका छन् । साथै उपचारमा अझै खर्चको आवश्यकता देखिएकोले सहयोगको अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया