क्यानडेली कुटनीतिज्ञद्वारा आफ्नै सरकारविरुद्ध मुद्दा

क्यानडा । पाँचजना कूटनीतिज्ञ र तिनका परिवारले क्यानडा सरकारले आफूहरू रहस्यमय रूपमा बिरामी हुँदासमेत उपयुक्त ढंगले छानबिन नगरेको बताउँदै कानुनी उपचारको प्रयास गरेका छन् । सरकारले आफूहरूको उपचार गर्ने क्षमतामाथि प्रश्नसमेत उठाएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । त्यो घटना हुँदा सरकारले बेवास्ता गरेको र कूटनीतिक स्टाफलाई राम्रोसँग जानकारी नदिएको भन्दै उनीहरूले मुद्दा दायर गरेका हुन् । क्यानडाले आफ्नो क्युबास्थित दूतावासका आधाभन्दा बढी स्टाफ फिर्ता गर्ने जनाएपछि यो मुद्दा दर्ता भएको हो ।

दूतावासका एकपछि अर्को गरी १४ जना बिरामी भएका थिए । त्यसलाई हवाना सिन्ड्रोमको नाम दिइएको छ । अहिलेसम्म ४० जना क्यानडेली र अमेरिकी कूटनीतिज्ञलाई त्यसखालको रोग लागेको बताइएको छ । केही सेकेन्ड केही आवाज सुनेको जस्तो हुने र बिरामी बेहोस हुने तथा सधैँका लागि होस् गुमाउने जस्ता समस्या सो रोगका लक्षणका रूपमा देखिएका छन् । सन् २०१७ मा नै अमेरिकाको हवानास्थित दूतावासका स्टाफलाई त्यस खालको लक्षण देखिएपछि अमेरिकाले आफ्ना दूतावासका स्टाफहरू कटौती गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाले नै कुनै हिसाबले आफ्ना स्टाफलाई आक्रमण गरेको हुन सक्ने आरोप लगाएका थिए । तर, कतैबाट पनि पुष्टि हुन सकेको थिएन ।

पछिल्लो समयमा क्यानडाका कूटनीतिज्ञको समस्याका बारेमा बोल्दै क्यानडेली विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले भने यसमा सरकारको ठूलो चासो रहेको बताइन् । उनले कानुनी उपचारको प्रयास गरिएको बारेमा भने केही पनि बोल्न चाहिनन् ।  क्यानडा र अमेरिकाका अधिकारीहरू हवानास्थित आफ्नो दूतावासका कर्मचारीलाई दिमागमा असर गर्ने गरी देखिएको लक्षणले हैरान हुँदै आएका छन् । उनीहरूको नाकबाट रगत आउने, ध्यान एकत्रित गर्न अप्ठयारो हुने र सुन्न छोड्ने जस्ता समस्या पनि देखिएका छन् ।

स्नायुविज्ञहरूले मस्तिष्कको स्क्यान गर्दा सबैलाई एकै खालको समस्या देखिएको छ । बेहोस नभएका पीडितहरूले टाउको दुखेको महसुस गरिरहेको जनाइएको छ । अमेरिकी कूटनीतिज्ञहरूले यो खालको लक्षणका बारेमा नोभेम्बर २०१६मा नै पहिलोपटक आफ्नो देशमा रिपोर्टिङ गरेको जनाइएको छ । यद्यपि, अमेरिकी विदेश मन्त्रालयले उनीहरूलाई सन् २०१७ सम्म पनि फिर्ता भने गरेको थिएन ।

प्रतिक्रिया