बाग्मती सफाइ ३००आैँ हप्तामा

काठमाडौं । ‘स्वच्छता मेरो पहिचानः सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ महाअभियानको ३००आैँ हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

अगामी शनिबार बिहान बाग्मती मनोहरा दोभानको शङ्खमूल क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरिन लागेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विसं २०७० जेठ ५ गतेदेखि संस्थागतरूपमा बाग्मती सरसफाइ अभियान शुरु भएको थियो । शुरुको १००औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रीत सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा (कोडकु), इन्द्रमती (बल्खु), मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो । २०० औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न दशबुँदे घोषणापत्र जारी भएको थियो ।

यस अवधिमा करीब १८ हजार मेट्रिक टन फोहर उठाइ सकिएकोे छ । यस कार्यमा एक हजार ८५० सङ्घसंस्था आबद्ध रही करीब दश लाख स्वयंसेवी परिचालन भएका थिए । शहरी विकास मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोहम्मद इश्तियाक राईले बाग्मती सरसफाइ महाअभियानको ३००आैँ हप्ता पुगेको अवसरमा विशेष कार्यक्रम आयोजन गर्न लागिएको जानकारी दिँदै कार्यक्रममा सहभागी हुन आह्वान गरे ।

उनका अनुसार सो अवसरमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले सरसफाइमा प्रतिबद्ध हुन शपथग्रहण गराउने, अभियानकर्मीलाई सम्मान गर्नुहुने लगायतका कार्यक्रम रहेको छ । सोही दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बाग्मती सफाइ महाअभियानसँगै बाग्मती र सहायक नदीहरूको ढल निर्माण कार्य, उद्यान निर्माण तथा सौर्य बत्ती जडानलगायत काम तीव्र गतिमा अगाडि बढेको छ । महाअभियान बाग्मती नदीमा बग्ने पानी पिउनयोग्य तथा स्पर्श गर्न योग्य नहुञ्जेलसम्म जारी रहने अभियानकर्मीले जनाएका छन् । पत्रकार सम्मेलनमा मन्त्री राईले देशभरका नदी संरक्षण गर्न शहरी विकास मन्त्रालयले ध्यान दिएको बताए । बाग्मती सफाइ महाअभियानका अभियानकर्मी डा राजु अधिकारीले नदी संरक्षण गर्न नदी आयोग गठन गर्न माग गरे ।

प्रतिक्रिया