इस्लामिक गढमा चर्च निर्माण

कोबानी । सिरिया–टर्की सीमास्थित कोबानी शहर आतंककारी संगठन आइएसआईएस मुक्त भएको चार वर्ष भएपनि अझै तिनका हिंस्रक गतिविधि र इस्लामको चरम व्याख्याले धेरैलाई आफ्नो धर्ममाथि प्रश्न उठाउन बाध्य बनाइरहेको छ । दशकौँपछि उक्त ठाउँमा पहिलोपटक स्थानीय चर्च निर्माण गरिएको छ । जसले धर्म परिवर्तन गर्न चाहने सयौँ मुसलमानहरूलाई आकर्षित गरिरहेको छ ।

उक्त चर्चमा उपस्थित २३ वर्षीय फरहाद जसिम भन्छन्, ‘यदि आइएसआईएसले इस्लामको प्रतिनिधित्व गर्छ भने म मुसलमान हुन चाहँदिन,’ जसिमले एनबीसी न्युजसँग कुरा गर्दै भने, ‘उनीहरूका भगवान मेरा भगवान होइनन् ।’

सिरियामा धार्मिक संवादलाई अत्यन्तै दुर्लभ र सामाजिक हिसाबले अनैतिक मानिन्छ जसकारण धर्म परिवर्तन गर्नेहरू परिवार र समुदायबाट अपहेलित हुने गरेका छन् ।

चर्चका प्रशासक ३८ वर्षीय ओमार भन्छन्, ‘आईएसआईएसको लडाइँ अगाडि पनि इस्लामबाट क्रिस्टियन या यसको विपरीत धर्म परिवर्तन गर्न प्रतिबन्धित थियो । अझ आईएसआईएसको नेतृत्वमा बस्नु पर्दा त धर्म परिवर्तन गर्नेबारे कसैले कल्पनासमेत गर्न सक्दैनथ्यो । किनकि उनीहरूले थाहा पाएमा तत्कालै तपाईंलाई मारिदिन्छन् ।’

चर्चका पुजारीले भने अन्तर्वार्ता दिन अस्वीकार गरेका हुन् । यसरी त्यहाँका बासिन्दा आईएसआईएसले दिएको अविस्मरणीय चोटसँग अझै लडिरहेका छन् जसकारण पनि धेरैले क्रिस्टियन धर्मप्रति आफ्नो धारणा बदलिरहेको ओमार बताउँछन् । आफ्नो परिवारको पीडा सम्झेर धेरै मुसलमान धर्म परिवर्तन गर्न आइरहेको उनले बताए । ‘कसैले कसैलाई यसका लागि जोड जबरजस्ती गर्ने गरेको छैन । हाम्रो हतियार भनेको केबल शान्ति र प्रार्थना मात्र हो,’ उनले भने ।

यता इस्लामी प्रमुखहरूले पनि आइएसआईएसको चरमपन्थी विचारधाराविरुद्ध बोल्दै आफ्नो धर्ममा कब्जा जमाएको आरोप लगाउने गरेका छन् । सन् २०१४ मा मात्र १०० जना मुसलमान अध्ययनकर्ताले आईएसआईएसलाई खुलापत्र लेखेका थिए । तत्कालीन आईएसआईएस प्रमुख अबु बकर अल बग्दादीलाई लेखिएको सो चिठीमा ‘इस्लामलाई यातना, क्रुरता, कट्टरता र हत्याको धर्म’ का रूपमा गलत प्रचार गरिएको भनि आक्रोश व्यक्त गरिएको थियो । हाल सिरियामा केबल ४.६ प्रतिशत जनताले मात्र क्रिस्टियन धर्म मानेका छन् । वास्तवमा २०११ मा गृहयुद्ध सुरु भएदेखि नै देशभरबाट करिब ७ लाख क्रिस्चियनहरू भागेका हुन् ।

जसिम एक मेकानिक हुन् जसले गत वर्ष मात्र धर्म परिवर्तन गराएका थिए । २०१६ मा उनलाई इस्लाम सम्बन्धि केही थाहा नभएको भन्दै ६ महिना कैद गरि राखिएको थियो । आईएसआईएसको क्रुरता आफ्नै आँखाले प्रत्यक्ष देखेको र भोगेको पनि हुँदा उनलाई आफूले मानि आएको धर्ममाथि शंका उत्पन्न भएको उनी बताउँछन् । तर इस्लाम धर्म छाडेपछि उनका अभिभावक र परिवारसँगको सम्बन्ध भने अन्त्य भएको छ । यस्तोमा कुनैदिन परिवारले आफूलाई माफी दिइ पुनः अपनाउनेबारे आशावादी रहेको उनले भावुक हुँदै भने ।

जसिम जस्तै फिराज पनि आईएसआईएसको क्रुरताको शिकार भएपछि ६ महिना अगाडि मात्र क्रिस्टियन धर्ममा आएका हुन् । ४७ वर्षीय फिराज भन्छन्, ‘उनीहरू पहिले त मानिसहरूलाई धम्क्याएर सबैमा त्रास फैलाउँथे त्यसपछि मस्जिदमा गएर प्रार्थना गर्थे । र प्रार्थना गरिसकेपछि फेरि सबैलाई यातना दिन पुग्थे ।’

फिराज एक किसान हुन् र उनीसहित उनकी पत्नी र तीन छोरीहरू ३ वर्ष सम्म आइएसको नियन्त्रणमा बस्न बाध्य भएका थिए । ती दिनहरू सम्झदै उनले भने, ‘आईएसआईएसको मान्यता भनेकै ती मान्छेलाई धम्क्याउनु र सजायँ दिनु हो जो यस समूहको विरुद्धमा बोल्छन् या काम गर्छन् ।’

उनले थप भने, ‘मैले केही पुरुष र किशोरहरूलाई चुरोट पिएको आरोपमा बीच बाटोमै निर्मम तरिकाले मारिएको दृश्य देखेको छु । यति मात्र नभएर समलिङ्गी युवाहरूको शव उँचा भवनबाट फालेको पनि हेरेको छु । वास्तवमा उनीहरूका लागि यही नै इस्लाम हो ।’

उनले फेरि भनेका छन् , ‘त्यसैले यदि स्वर्ग आईएस र तिनको विश्वासका लागि हो भने म आफ्नो लागि बरु नर्क नै चुन्छु तर फेरि तिनीहरूसँग एकै ठाउँ बस्दिनँ चाहे त्यो जतिसुकै खुसाल दुनियाँ होस् ।’

प्रतिक्रिया