विप्लवसहित १६ जनालाई सफाइ

भोजपुर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम पड्काएको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित २० जनाविरुद्ध लगाइएको मुद्दामा १६ जनाले सफाइ पाएका छन् ।

भोजपुर जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलासले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्य पदमबहादुर राईसहित १६ जनाले सफाइ पाएको हो ।

गत वर्ष सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ स्थायी कमिटी सदस्य धर्मेन्द्र बस्तोला पोलिट्ब्युरो सदस्य पदमबहादुर राई समेतलाई २० जनालाई जिल्लाको तीन ठाउँमा बम पड्काएको आरोपमा ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी गरेको मुद्दा जिल्ला अदालत भोजपुरमा दायर भएको थियो ।

टेम्केमैयुङ गाउँपालिका–६, कोट गुम्बामा हालको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा बम विष्फोट, साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा वाम गठबन्धनको चुनावीसभामा बम विष्फोट गरी दुई वटा ज्यान मार्ने उद्योग र षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विष्फोटसम्बन्धी मुद्दा दायर भएकोले भोजपुर जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलासले उनीहरूलाई सफाइ दिएको छ भने दुई जनालाई धरौटी लिइएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी राजकुमार दाहालले बताए ।

सफाइ पाउनेमा वम विष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङ लगायतका रहेका छन् । त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङलाई तीन वटै मुद्दामा ४०-४० हजार जरिवाना लिएको सूचना अधिकारी दाहालले बताए ।
त्यस्तै, नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किराँतीको ठेगान स्पष्ट नखुलेकोले तामेलीमा राखिएको जनाएको छ ।

केही महिनाअघि मात्र नेकपा प्रवक्ता प्रकाण्ड सहितका नेताहरूलाई पक्राउ गरी भोजपुर ल्याइएको थियो । प्रकाण्ड ६० हजार नगद धरौटी राखेर छुटेका थिए ।

प्रतिक्रिया