शाक्यले ल्याए ‘कोष’

काठमाडौं । पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यले लेखेको पुस्तक ‘कोष’ बजारमा आएको छ । समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेल, साहित्यकारद्वय प्रकाश सायमी र डा गीता त्रिपाठीले उक्त पुस्तकको संयुक्तरुपमा मंगलबार राजधानीमा विमोचन गरे ।  सोच, खोज, म सक्छुलगायतका पुस्तक लेखेका शाक्यको नयाँ पुस्तक कोषमा पनि नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको छ ।

कार्यक्रममा समताका सञ्जेलले लोकतन्त्रको संस्थागत विकासका लागि शिक्षा अपरिहार्य रहेको भन्दै आमजनताको पहुँचमा भन्दा कम लागतमा गुणस्तरीय शिक्षा पु¥याउने उद्देश्यले सबै जिल्लामा ८० वटा र विश्वका १२ वटा देशमा पनि समता स्कूल स्थापना गरेको जानकारी दिए । उनले भने, ‘शाक्यले नेपाली समाजमा सकारात्मक विचार फैलाउन साहित्यमार्फत भूमिका खेल्नुभएको छ । त्यसैको कडीका रुपमा यो पुस्तक आएको हो ।’

त्यस्तै, साहित्यकार डा त्रिपाठीले नेपालमा साहित्य र राजनीतिलाई अलग्याएर हेर्ने गरिएकाले राजनीति परिणाममुखी बन्न नसकेको बताउँदै शाक्यले लेखेको पछिल्लो पुस्तकले नेपालको कर्मयोगका बारेमा सिकाउने छ बताइन् । उनले भनिन्, ‘साहित्यले समाजलाई मार्गनिर्देशन गर्ने भएकाले यसको गहनतालाई बुझ्न जरुरी रहेको छ । साथै शाक्यले साहित्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’

पुस्तकका लेखक शाक्यले कुराले नभई कर्मले नै मानिसलाई सफल बनाउने बताउँदै कोष पुस्तकले हरेक व्यक्तिलाई आशा, विश्वास र भरोसा जागृत गराउने बताए । उनले भने, ‘समस्यासँग भागेर नभई जुधेर समाधानका विकल्प पहिल्याउन सकेमात्रै जीवन सार्थक हुन्छ ।’ उनले हरेक नागरिकमा राष्ट्रप्रतिको कर्तव्यबोध नहुँदा नै नेपालले आर्थिक प्रगति गर्न नसकेको जिकिर गरे । सो पुस्तक फाइन प्रिन्टर्सले प्रकाशनमा ल्याएको हो ।

प्रतिक्रिया