विजय माल्यालाई सुपुर्दगी गर्न बेलायतको अनुमति

लन्डन । बेलायतले भारतीय व्यापारी विजय माल्यालाई भारत सुपुर्दगी गर्नसक्ने सोमबार अनुमति दिएको छ । माल्याविरुद्ध भारतीय बैंकको करोडौं रूपैया गोलमाल गरेर उनी सन् २०१६ देखि लन्डनमा बस्दै आएका थिए । लन्डनको तल्लो अदालतले माल्यालाई सुपर्दगी गर्ने अनुमति दुई महिना अघि दिएको थियो । तल्लो अदालतको फैसलापछि वेलायतका गृहमन्त्रीले यसबारेमा निर्णय गर्न बाँकी रहेकोमा अहिले गृहमन्त्रीले यसबारेमा निर्णय गरेका हुन् ।

वेलायतका गृहमन्त्री साजिद जाविदले यही फेब्रुअरी ३ मा माल्याको प्रत्यर्पणको अनुमति दिएका हुन् । बेलायतका गृह प्रवक्ताले माल्यालाई भारतमा धोखाधडीको षडयन्त्र गर्ने, गलत बयान गर्ने र मनि लाउन्कडरिङको अभियोग रहेको जनाउँदै सबै सावधानी अपनाएर बेलायतले यो अनुमति दिएको जनाएका छन् ।

यद्यपि, माल्यालाई तुरुन्तै भारत लग्न भने मुस्किल रहेको बताइएको छ । माल्याले अझैपनि १४ दिन भित्र यस निर्णयमा चुनौती दिन सक्नेछन् । उनले गृहमन्त्रीको आदेशकोविपरीत उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । उच्च अदालतले पुनरावेदन खारेज गरेमा उनी फेरि सर्बोच्च अदालत जान सक्नेछन् । यसका लागि करिब दुई वर्षको समय लाग्न सक्ने जनाइएको छ ।

माल्यालाई फिर्ता गर्ने बारेमा वेलायत सरकारको निर्णयबाट भारत भने खुसी भएको छ । भारतका अर्थमन्त्री अरुण जेटलीले ट्विट गर्दै माल्यालाई फिर्ता ल्याउन सरकारले अर्को कदम अघि बढाएको जनाएका छन् ।भारतले माल्याको यसअघि नै पासपोर्ट रद्द गरिसकेको छ । उनलाई फिर्ता गर्न भारत सरकारले वेलायतलाई भन्दै आएको थियो । बेलायत सरकारले त्यतिवेला माल्यालाई बेलायतमा रहनका लागि उनलाई वैध पासपोर्ट हुन जरुरी नरहेको जनाएको थियो ।

प्रत्यर्पणको लागि चाहिँ विचार गर्न सकिने बेलायतले बताएको थियो ।भारत र बेलायतबीच सन् १९९२मा प्रत्यर्पण सन्धी भएको हो । माल्या भने आफू भारतबाट नभागेको दाबी गर्छन् । माल्याले गएको वर्षको जुलाईमा सम्पूर्ण रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको र आफूले १ रुपिया पनि ऋण नलिएको र किंगफिसर एयरलाइन्सले लिएको बताएका थिए ।

ग्यारेन्टी बस्नु फर्जी काम नभएको उनको भनाई रहेको छ । उनले आफूले भारत छाड्नु अघि अर्थमन्त्री अरुण जेटलीसँग कुरा भएको बताएपनि जेटलीले सो कुरा अस्वीकार गरेका थिए । माल्या एकताका भारतमा चर्चित व्यापारीको रूपमा चिनिन्थे । उनको राजसी जीवनशैली मात्रै होइन किंगफिसर वियरमार्फत आफ्नो कारोबारको साम्राज्य खडा गरेका थिए ।

उनले पछि क्रिकेट मैदानदेखि फर्मूला वन रेसिङ सम्ममा हात हाले । सन् २००५मा माल्याले किंगफिसर एयरलाइन्स शुरु गरेकोमा पछि असफल भए । किंगफिसर एयरलाइन्स मार्फत उनले वित्तीय अपराध गरेको उनीमाथि आरोप रहेको छ ।

भारतको सिबीआइ र प्रवर्तन मन्त्रालयले उनीमाथि छानविन गरिरहेको छ । माल्याले सन् २०१२मा आफ्नो युनाइटेड स्प्रिट्स ग्रूपको ठूलो हिस्सा बेलायतको कम्पनी डिआजियोलाई बेचेका थिए । किंगफिसर एयरलाइन्स भने घाटामा गयो । अहिले सबै मिलाएर माल्याको भारतमा करिब १ विलियन डलर ऋण रहेको बताइएको छ ।

प्रतिक्रिया