हिकिला–सिद्धटोपी सडकको निर्माण सुचारु

दार्चुला । तीन वर्षदेखि अवरुद्ध हिकिला–सिद्धटोपी सडकखण्डको काम सुचारु भएको छ । दुहूँ गाउँपालिकामा रहेको हिकिला–सिद्धटोपी सडक खण्डको निर्माण कार्य पुनः सुचारु गरिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए ।

विभिन्न ठाउँमा जग्गा विवादका कारण अवरुद्ध रहेको हिकिला–सिद्धटोपी पर्यटकीय सडक मार्ग गाउँपालिकाले विवाद समाधान गर्दै आइतबारदेखि काम सञ्चालन गर्न थालिएको अध्यक्ष कार्कीले बताएका छन् । विगत तीन वर्षदेखि अर्थात् ०७३ सालदेखि जग्गा विवादका कारण काम प्रभावित भएको उक्त सडक खण्डको निर्माण कार्यको जिम्मेवारी गाउँपालिकाले लिएको छ ।

सुरुमा साविकको जिल्ला विकास समिति कार्यालय दार्चुलाद्वारा निर्माण गर्न थालिएको सडक निर्माणमा जग्गा विवाद आएपछि अवरुद्ध भएको थियो । देश संघीयतामा गएपछि अहिले दुहूँ गाउँपालिकाले सडक निर्माणको जिम्मेवारी लिएको छ । गाउँपालिकाले शून्य विन्दु हिकिलाको गौकुलदेखि काम थालनी गरिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए । हिकिलाको गौकुल र दलित बस्तीका स्थानीयहरूले समझदारी देखाएपछि जग्गा विवाद साधान भएपछि सडक निर्माणको बाटो खुलेको अध्यक्ष कार्कीले दाबी गरे ।

पर्यटकीय सडक मार्गसमेत रहेको हिकिला–सिद्धटोपी सडक निर्माणका लागि गाउँपालिकाले अहिले २५ लाख बजेट विनियोजन गरेको छ । सडकमा जग्गा विवाद रहेकाले गाउँपालिकाले सुरुमा बजेट रकमान्तर हुनसक्ने भन्दै २५ लाख बजेट मात्रै विनियोजन गरिएको अध्यक्ष कार्कीले बताए ।

‘सडक निर्माणमा जग्गा विवाद रहेकाले बजेट रकमान्तर गर्नुपर्ने अवस्था आउने पो हो कि भनेर थोरै बजेट विनियोजन गरेका हौँ, कार्य प्रगतिका आधारमा बजेट थप गर्न पनि सकिन्छ’, गाउँपालिका अध्यक्ष कार्कीले भने । दुहूँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीका अनुसार सडक निर्माणमा भएको कार्य प्रगतिका आधारमा अझै बजेट थप गरिनेछ ।

गाउँपालिकाबाट विनियोजित २५ लाख बजेटले अहिले तीन किलोमिटर सडक निर्माण गरिने अध्यक्ष कार्कीको भनाइ छ । हिकिलादेखि सिद्धटोपीसम्म १२ किलोमिटर लम्बाई रहेको उक्त सडकको ७ दशमलव ५ किलोमिटरसम्म डिपिआरसमेत गरिसकेको गाउँपालिकाले जनाएको छ । थाइसैनभन्दा अगाडि वन क्षेत्र रहेकाले वन डिभिजन कार्यालयसँगसमेत यसबारेमा छलफल गर्नुपर्ने भएकाले अहिले साढे ७ किलोमिटर मात्रै सडकको डिपिआर गरिएको अध्यक्ष कार्कीले बताए ।

ब्रह्मदह, पासा दहजस्ता पर्यटकीय धार्मिक स्थलहरूसमेत रहेको सिद्धटोपीसम्म सडक पु¥याउने योजना गाउँपालिकाले लिएको छ । सिद्धटोपी, ब्रह्मदह तथा पासा दहजस्ता पर्यटकीय क्षेत्र रहेको त्यस क्षेत्रसम्म सडक पु¥याउनसके पर्यटकहरू समेत भित्रिने भएकाले उक्त सडक समृद्धिको आधारसमेत बन्न सक्ने अनुमान गरिएको छ । सिद्धटोपी, ब्रह्मदह, पासादहको सजिलै भ्रमण र अवलोकन गर्न सकिने भए आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने सकिने देखिएको छ ।

६० लाखको प्रगति शून्य

साविकको जिल्ला विकास समिति दार्चुलाद्वारा निर्माण कार्य थालिएको उक्त सडक खण्डमा लाखौँ बजेट खर्चिएर पनि प्रगति भने शून्य देखिएको छ । सन् २०१६ देखि निर्माण कार्य थालेको जिल्ला विकास समितिले ६० लाख खर्च गर्दासमेत प्रगति केही नदेखिएको दुहूँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सन् २०१६ मा उक्त सडकको डिपिआर गरी निर्माण कार्य थालिएको भए पनि दुहूँ गाउँपालिकाको गौकुल र दलित बस्तीमा जग्गा विवादका कारण सडक निर्माण कार्य प्रभावित भएको अध्यक्ष कार्कीले भनाई छ । विभिन्न स्थानमा जग्गा विवाद रहेकाले जिल्ला विकास समितिले विवाद रहेको स्थानमा छोडेर अन्य स्थानमा काम गरेजस्तै गरेर फरफारक गरेकाले प्रगति शून्य देखिएको अध्यक्ष कार्कीले बताए ।

सन् २०१६ देखि गाउँपालिकाले सडक निर्माण गर्ने जिम्मेवारी लिने बेलासम्म जिविसले झन्डै ६० लाख बजेट खर्च गरेर पनि कुनै प्रगति नदेखिएको अध्यक्ष कार्कीको तर्क छ । प्रगति शून्य देखिएकाले गाउँपालिकाले शून्यविन्दु गौकुलदेखि सडक निर्माण कार्य थालेर झन्डै पाँच सय मिटर सडक निर्माण गरेको अध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया