काठमाडौं । वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले त्यस्तो निर्णय गरेको हो । पछिल्लो पटक ‘क’ वर्गका वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज लिएको भन्दै बैंकहरूबीच नै गुनासो बढेपछि संघको बैठक बसेको हो । बैठकले नवीकरणको हकमा भने बढी ब्याज दिन पाउने व्यवस्था गरेको छ । संस्थागत निक्षेपकर्तालाई ८ दशमलव ५० प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था यसअघि नै गरिएको थियो । त्यसमा बैंकले थप एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था गरिएको थियो । त्यसआधारमा वाणिज्य बैंकहरूले ९ दशमलव ५० प्रतिशतसम्म संस्थागत निक्षेपकर्तालाई ब्याज दिँदै आएका थिए ।
पछिल्ला दिनमा केही बैंकले निक्षेप नवीकरण गर्दा करिब दश प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गरेका थिए । संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार निक्षेपको नवीकरण गर्दा केही बढी ब्याज दिने सहमति भएको हो । केही बैंकले संघको निर्णयका आधारमा भन्दा पनि आफैंले स्वतन्त्र निर्णय गर्ने भन्दै संस्थागत निक्षेपकर्ताको ब्याज बढी दिने घोषणा गरेका थिए । वाणिज्य बैंकमा ऋणयोग्य रकमको अभाव देखिँदै आएको छ । यस्तै कर्जा–पूँजी निक्षेप अनुपात पनि ८० प्रतिशत बढी रहेको छ ।
प्रतिक्रिया