भेनेजुएलामा दुवै पक्षको प्रदर्शन

काराकास । भेनेजुएलामा सरकार समर्थक र विरोधी दुवै पक्षले शनिबार प्रदर्शन गरेका छन् । राष्ट्रपति निकोलस मादुरोको विरोधमा विपक्षीले गरेको प्रदर्शनमा हजारौंको सहभागिता रहेको थियो । राष्ट्रपति मादुरो भने पूर्व राष्ट्रपति हुगो चाभेजले सत्ता लिएको २०औं वार्षिकोत्सवका अवसरमा शनिबार राजधानी काराकासमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी मिडियाले आफ्नो पक्षमा भएको प्रदर्शनको भने समाचार नदिएको गुनासो गरेका थिए ।

उता विपक्षी नेता जुआन गुआइडोले हजारौंको प्रदर्शनलाई सम्बोधन गर्दै भेनेजुएलाका जनतालाई स्वतन्त्रता नमिले सम्म प्रदर्शन जारी रहने जनाएका छन् । यसैबीच, मादुरोलाई साथ दिदै आएका कतिपय सैनिक अधिकारीहरूले सामाजिक सञ्जालबाट सम्बोधन गर्दै अब तानाशाहलाई समर्थन गर्न नसकिने भन्दै अभिव्यक्ति दिएका छन् ।

त्यसै पनि अनेकथरी पीडामा रहेका जनतालाई दमन गरेर थप पीडा नदिने ती सैनिक अधिकारीहरूको वक्तव्यमा उल्लेख छ । उता मादुरो समर्थित सैनिक अधिकारीहरूले त्यस्तो अभिव्यक्ति दिनेलाई देशद्रोहमा कारवाही हुन सक्ने बताएका छन् ।

मादुरोलाई आर्थिक अभाव भएपछि केही टन सुन युनाइटेड अरब इमिरेट्सका विभिन्न कम्पनीलाई हालै बेचेको समाचारसमेत अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ । उनले सो सुन जहाजमा हालेर युएई पु¥याएको बताइएको छ । उनले अझै पनि थप सुन बेच्ने तयारी गरिरहेको जनाइएको छ । भेनेजुएलामा सुन खानी समेत छ । त्यहाँबाट प्रशोधनका लागि भन्दै विगतमा पनि सुन टर्की लग्ने गरिएकोमा टर्कीबाट इरानलाई बेच्ने गरिएको जनाइँदै आएको छ । अमेरिकाले इरानलाई नाकाबन्दी लगाएका कारण टर्कीबाट सुन बिक्रीको कारोबार भने गोप्य रूपमा हुने गरेको बताइएको छ ।

विश्व तीन ध्रुवमा विभाजित

भेनेजुयला प्रकरणमा विश्व तीन धु्रवमा विभाजित भएको छ । अमेरिकाले विपक्षी नेता गुवाइडोलाई अन्तरिम राष्ट्रपति स्वीकार गरेपछि सुरु भएको धु्रवीकरणमा नेपालसमेत मुछिएको छ ।

आइतबारसम्म विश्व तीन धु्रवमा बिभाजित हुँदा कारकासमा भने मडूरोको पक्ष र विपक्षमा ठूला प्रदर्शन भएका छन् । डूरो आफैं सडकमा उत्रिएर अमेरिकी साम्राज्यवादविरुद्ध रातो झण्डा फहराएका छन् । उनलाई बहुसंख्यक जनताले साथ दिएको दाबी गरिएको छ ।

यता अमेरिकासँगै दक्षिण अमेरिकी ब्राजिल, जर्जिया, युक्रेनले गुवाइडोलाई समर्थन गरेका छन् । बिबिसीका अनुसार बहुसंख्यक विश्वका मुलुकले मडूरोलाई समर्थन गरेका छन् । मडूरोलाई समर्थन गर्नेमा रुस, चीन, बेलारुस, क्युबा, निकारागुवा, बोलिभिया, सुरिनाम, इरान, सिरिया र टर्की छन् ।

युरोपियन युनियन अन्तर्गतका मुलुकहरूले भने भेनेजुयलामा नयाँ निर्वाचन हुनुपर्ने बताएका छन् । बेलायतसहित युरोपेली मुलुकले यदि आठ दिनभित्र चुनाव घोषणा नगरे गुवाइडोलाई समर्थन गर्ने बताएका थिए । वर्तमान राष्ट्रपति निकोलस मडूरोलाई भारतले समेत समर्थन जनाएको छ । मडूराले दोस्रो कार्यकालका लागि समथग्रहण गरे लगत्तै अमेरिकाले उनीविरुद्ध गुवाइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि यो प्रकरणमा विश्वको ध्यानाकर्षण भएको हो ।

प्रतिक्रिया