मानव तस्करी रोक्न सक्रियता बढाऔँ

दलालले अवैध रूपमा वैदेशिक रोजगारीमा लैजान लागेका एक सय ३६ नेपाली महिलाको भारतको मणिपुरबाट उद्धार गरेको छ । भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट बिहीबार एक सय ५ र शुक्रबार ३१ जना गरी एक सय ३६ जना नेपाली महिलाको उद्धार गरेको हो । उनीहरूलाई म्यानमारको बाटो भएर इराक र दुबईलगायत स्थानमा लैजान लागिएको आशंका गरिएको छ । इम्पल्स एनजिओ नेटवर्कको सहयोगमा मणिपुर पुलिसले म्यानमारसँग सीमा जोडिएको क्षेत्र, होटल र विमानस्थलबाट उद्धार गरिएको हो । नेपाली महिलालाई अवैध रूपमा मणिपुरको बाटो भएर म्यानमार लैजान खोजेको सूचना माइती नेपालले दिएपछि प्रहरीले सर्च अभियान थालेको थियो । त्यसक्रममा विभिन्न सातवटा सेल्टरमा राखिएको अवस्थामा उनीहरूलाई फेला पारेको प्रहरीले जानकारी दिएको छ । उद्धार गरिएका अधिकाशं १९ देखि ३१ वर्ष उमेर समूहका रहेका छन् ।

यसअघि पनि कयौँपटक भारतबाट नेपाली महिलाको उद्धार भएका समाचार आइरहेका थिए । खाडीलगायतका मुलुकमा जान नेपाली महिलाले इजाजत नपाउने भएपछि चोर बाटो खोजिएको समाचार यसअघि नआएका होइनन् । नेपालबाट दिल्ली र दिल्ल्ीबाट अन्य मुलुक पठाइने गरिएको समाचार त सुनाएकै थियो । यसपटक भने भारतको बाटो भएर म्यानमारलाई ट्रान्जिट बनाउन खोजिएको देखिन्छ । यसरी विदेसिनेको नेपालमा लागत नहुने पनि प्रष्ट छ र श्रम इजाजत त झन् हुने कुरा भएन । यसले महिलाहरूलाई काममा लगाउने, पठाउनेको मनोमानी पनि चल्ने हुन्छ । किनभने उनीहरूको उजुरी गर्ने ठाउँ र बाटो पनि हु“दैन । यसैकारण कतिपय गर्भवती भएर निकालिएका छन् भने कतिपय यातनाजन्य हिंसाका सिकार भएका छन् । यसखाले समाचार दिनहु“ आइरह“दा पनि जाने र लैजानेलाई कुनै डर नहुनु भनेको कँही न कँही हाम्रो कानुन वा राज्य चुकेको, छिद्र रहेको प्रष्ट हुन्छ ।

यस घटनाले अब पहिलेजस्तो नेपाली महिलालाई भारतका विभिन्न सहरमा लगेर कोठीमा बेचिने क्रम कम भएको भए पनि नयाँ खाले बेचबिखन मौलाएको देखिएको छ । सरकार र सरकारका अंगहरूले राम्ररी काम नगरेको पनि यो एउटा उदाहरण हो । राज्य त शतप्रतिशत यो जिम्मेवारीबाट उम्कन पाउँदैन नै गैरसरकारी निकाय पनि यसमा जिम्मेवार छन् । मानव बेचबिखन वा महिला बेचबिखनकाविरुद्ध काम गर्छौं भनेर दर्ता भएका सयौँ एनजिओहरू छन् । तीमध्ये कतिपयले सीमा नाकामा चेकपोस्ट नै राखेका छन् । तर, उनीहरूले जानाजान छाडेका हुन वा झुक्किमा परेका हुन कमजोरी उदांगो भएको छ । मानव बेचबिखनमा पहिले पनि कडा सजाय नै थियो अहिले त्यसलाई अझ कडा बनाइएको छ । तर, कानुन कडा बनाएर मात्र यस्तो घटना नरोकिने पनि यस घटनाले प्रष्ट पारेको छ । आजको मोबाइल, गाउँ गाउँमा रेडियो, टेलिभिजन, सामाजिक सञ्जालको यत्रो बिगबिगीमा पनि यस्तो घटना हुनु भनेको सचेतनाको कमी पनि मान्न सकिन्न । दोषीलाई कडा कारबाहीको कुरा त छँदैछ, त्योभन्दा पहिले रोग लागेपछिको उपचारभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हुन्छ । त्यसैले सचेतासँगै सीमा नाकामा अझ कडा निगरानी र त्यही सचेतना कक्षा सञ्चालन गर्न सके धेरै मात्रामा मानव तस्करी रोकथाम हुने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया