रोकिएन वन अतिक्रमण

रौतहट । जिल्लामा रहेको २९ हजार ४ सय हेक्टर वनक्षेत्र फडानी र अतिक्रमणको चपेटामा परेको छ । जिल्लामा अहिले वन फडानी गरेर वन क्षेत्रमै कतै पक्की घर निर्माण भइरहेका छन् त कतै बस्ती नै बसेका छन् ।

सुकुम्वासीका नाममा पक्की घरहरू वन क्षेत्रमा वनन थालेका छन् । वनक्षेत्रको खाली जमिनमा खेती लगाउने तथा ठूला बस्ती नै बस्न पनि थालेको छ । चन्द्रनिगाहपुर, जंगलसैया, गैडाटार, नुनथर, जुडीवेला, बृन्दावन इलाका वन कार्यालय अन्तर्गतको वनक्षेत्र अतिक्रमण गरी पक्की घरहरू बनाउन थालिएको छ । बस्ती नजिकै रहेको वनको रुखहरू तस्करले काटेर लगेपछि खाली रहेको जमिनमा सुकुम्वासीहरूले धमाधम घरहरू बनाउन थालेका हुन् ।

चन्द्रपुर नगरपालिका–८ स्थित बेतौनाको कोटीहोम नजिकै रंगपुर साझेदारी वन क्षेत्रमा दर्जनौँ पक्कीघरहरू बनेका छन् । केही वर्षअघि झुपडी बनाएर बसेका मानिसहरूले अहिले पक्की घर बनाउन थालेका हुन् । वनको जमिनमा लाखौँ खर्चेर पक्की घर बनाएको भेटिएको छ । यसतर्फ वन कार्यालयले कुनै चासो नलिएको नाम उल्लेख नगर्ने सर्तमा बैतौनाका एक स्थानीयले बताए । वन क्षेत्रमा बस्दै आएको मानिसले भने आपूmुहरूलाई सरकारले व्यवस्थित बसोवासको व्यवस्था गर्नुपर्ने माग राख्दै आएका छन् ।

रौतहट जिल्लाको २९ हजार ४ सय हेक्टर वनक्षेत्र छ । एक वर्षअघिको तथ्यांकमा जिल्लाको विभिन्न स्थानहरूमा ३ हजार ५ सय हेक्टर वन अतिक्रमण भएको छ । त्यस मध्ये १ हजार ६ सय हेक्टरभन्दा बढी चुरे क्षेत्र अतिक्रमण परेको डिभिजन वन कार्यालयले जनाएको छ ।
बेतौना, वनबहुहरी, गंैडाटार, जुडिबेला, कनकपुर, जंगलसैया, चन्द्रनिगाहपुर, सन्तपुर, रंगपुुर, मैरा, बलरीखोर, बागमति र भोलनटार, महोदेवडाडा, मोरगे, हिलेखोला क्षेत्रमा बढी वन अतिक्रमण भएको छ ।

रंगपुर साझेदारी वन अन्तर्गतकै चन्द्रपुर–७ को नयाँबस्ती कटानीमा समेत वन अतिक्रमण गरेर खेती गरिएको छ । सो क्षेत्रमा पर्ने इलाका वन कार्यालयका रेन्जरहरूले वन अधिकृतलाई नजराना दिएर आफैँ वन अतिक्रमण र फडानी गराउने गरेको स्थानीयको आरोपसमेत छ । अतिक्रमण गरेर घर टहरा बनाएर बसेकाहरूले पछिल्ले समय वन कर्मचारीलाई नै धम्क्याउने, थर्काउने गरेको वन कर्मचारीहरू बताउँछन् ।

अतिक्रमणकारीहरूले निर्धक्कसँग वन क्षेत्रमा खेती गरेका छन् घर बनाएका छन् । राजनीति आवरणकै कारण उनीहरूले अहिले कसैलाई टेर्दैनन् । सहायक वनअधिकृत अरुण कर्णका अनुसार अतिक्रमणकारी वन कर्मचारीहरूमाथि नै हातपात गर्न उत्रने गरेको बताउँछन् ।

अतिक्रमण गर्नेहरूमा सुकुम्बासी धेरै भए पनि सुगम क्षेत्रहरूमा हुनेखाने जमिन भएकाहरूको पनि सक्रियता देखिन्छ । अतिक्रमण गरी घर तथा खेती गरेर बसेकाहरू केही बताउन चाहँदैनन् । उनीहरूको एउटै माग छ सुकुम्बासी बस्तीमा बिकास हुनु प¥यो । व्यवस्थित बसोवास चाहियो । जनप्रतिनिधिहरूले चुनावको बेला लालपुर्जा दिने, बस्तीको बिकास गर्ने आश्वासन दिएकाले उनीहरू कसैले हटाउन नसक्ने मनस्थितिमा संरचनाहरू थपिरहेको पाइन्छ ।

बढ्दो वनविनास, ढुंगा उत्खनन र अतिक्रमणले रौतहटको चुरेक्षेत्र दिनप्रतिदिन संकटमा पर्दै गएको छ । चुरेक्षेत्रमा रुखहरू पातला र घरहरू बाक्लै देखिन थालेका छन् । उनीहरूले रुख बुट्यान काटेर खाली जमिनमा खेती लगाउँदै आएका छन् । चुरेक्षेत्रमा दर्ता रहेका सामुदायिक वन समितिहरूले अतिक्रमित वनक्षेत्र खाली गराई वृक्षरोपण गर्ने, बाँस अम्रिसो तथा जडीबुटीलगायत विभिन्न बहुउद्देश्यीय विरुवा उत्पादन गर्ने, चुरेक्षेत्रको पुनर्उत्पादन तथा संरक्षण गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि अतिक्रमण रोकिएको छैन ।

रंगपुर साझेदारी वन क्षेत्रमा मात्रै पाँच सय हेक्टरभन्दा बढी वृक्षरोपण गरेकोमा अहिले बिरुवाहरू छैनन् । यस्तै जंगलसैया साझेदारी वनको रागी, जंगलसैया लगायतको स्थानमा सयौँ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ ।

प्रतिक्रिया