गाउँसभाद्वारा चार विधेयक पारित

धनगढी । कैलालीको चुरे गाउँपालिकाको गाउँसभाको बैठकले चार वटा ऐन पारित गरेको छ । गाउँसभाको दोस्रो हिउँदे गाउँसभाको बैंठकले आर्थिक ऐन, विनियोजित ऐन, शिक्षा कार्यविधि ऐन र विल्डिङ कोड विधि ऐन पारित गरेको हो ।

चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगरको अध्यक्षतामा बसेको गाउँसभाको बैंठकले यी चारवटै ऐन पारित गरेपछि काममा सहजता हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज जोशीले जानकारी दिए ।

चुरे गाउँपालिकाको दोस्रो हिउँदे अधिबेशनमा गत वर्ष गाउँपालिकामा भए गरेका कामहरूको समिक्षा गरिएको थियो । छ वटा वडा रहेको चुरेमा गत वर्ष भए गरेका विकास निर्माणका कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा हुने विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाइएको छ ।

यसैगरी कैलालीको कैलारी गाउँपालिकाको हिउँदे गाउँसभाको बैठकले सभामा पेश भएका तीन वटा विधेयक पास गरेको छ । गाउँसभाको तेस्रो विधेयक अधिवेशनको तेस्रो बैठकबाट अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५, बजार अनुगमन निर्देशिका विधेयक २०७५ र स्थानीय कृषि व्यवस्था प्रवद्र्धन विधेयक २०७५ पास गरेको जनाइएको छ ।

कैलालीमा रहेका १३ वटा स्थानीय तहमध्ये दुई वटा स्थानीय तहले मात्रै हिउँदे गाउँसभा सम्पन्न गरेका छन् । कैलालीको चुरे र कैलारी गाउँपालिकाले पुस मसान्तभित्र समयमै गाउँसभा सम्पन्न गरेका हुन् । अन्य स्थानीय तहले भने पुस मसान्तसम्म हिउँदे गाउँसभा सम्पन्न गर्न सकेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय निकायका पालिकाहरूले वर्षे र हिउँदे गरी वर्षको दुई पटक गाउँसभा तथा हिउँदेसभा गरिसक्नुपर्ने भन्ने उल्लेख छ ।

प्रतिक्रिया