यात्रा संस्मरण : सुन्दर क्यान्भास लिमीको यात्रा

कहिलेकाहीँ जीवनमा रमाइलो र अनौठो घटना हाम्रो सामु खडा हुने रहेछ । जसलाई हामीले न कल्पना गरेका हुन्छौँ न त कुनै सोच । जीवन भोगाइमा त्यही नै मज्जा आउने रहेछ । त्यसैलाई नै जीवन भोगाइको अमूल्य साधन मानिने रहेछ । जीवनमा सुखै सुख मात्र हुन्थ्यो भने सायद दुःख भन्ने यो जिन्दगीको शब्दकोशमा नै हुन्नथ्यो होला । त्यसैले त सुख र दुःख एक सिक्काको दुई पाटा हुने रहेछन् । भोगाइकै क्रममा कहिले उकालो त कहिले ओरालो झर्नुपर्दोरहेछ । जीवनमा भोगेका केही घटना अविस्मरणीय हुने रहेछन् । सम्भावना योग्य हुने रहेछन् । काम गर्ने सिलसिलामा ति अनुभव, ति भोगाईले जीवनलाई अथ्र्याउने रहेछ । जिन्दगीका भोगाइका ती पललाई मेरो स्मरणमा राख्नको लागि पनि यो लेख्ने प्रयास गरेको छु । जुन पल अमूल्य पनि हुने रहेछन् । साँच्चै चाहेर किन्न, देख्न र भोग्न नपाइने अवस्था ।

 


कुरा भाद्र १७ गतेको हो, समाचार संकलनको लागि हुम्लाका म लगायत अन्य तीनजना पत्रकारको समूह हुम्लाको सिमिकोट विमानस्थलबाट हिल्सा हेलिकोप्टरमा बिहान १० बजे उडान भ¥यौँ । हेलिकोप्टरको झ्यालबाट रमणीय दृश्य फोटो र भिडियोमा खिच्नको लागि म व्यस्त थिए भने अन्य साथीहरू पनि सोही गर्दै थिए । पन्ध्र मिनेटको उडानपछि हिल्सा अवतरण गरी खानाको लागि स्थानीय होटेलमा झोला राखी त्यहाँको समाचार संकलनमा स्थानियसँग कुराकानी ग¥यौँ अनि फोेटो र भिडियो खिच्नमा लाग्यौँ । करिब साढे ११ बजे खाना खाएर साढे बाह्र बजे लिमीबाट चीनको सिमाना हुँदै लिमीको यात्रामा उकालो चढेका थियौँ ।


बाटोमा पर्ने रंगीन हिमाल दक्षिणमा बग्ने मानसरोवर कैलाशको मुहान भएर बग्ने नदीले यसको अझ शोभा बढाएको थियो । कैयौँ फोटो क्यामेराको लेन्स र भण्डारण क्षमता हुँदासम्म लगेका थियौँ । लिमी हुम्लाको सुन्दरबस्ती जाने हुनाले ४ हजार ५ सयको उचाई हाम्रो लागि कुनै कठिनाई भएको थिएन । हल्का उकालो बढ्दै जाँदा लेक लागेको महसुस भएता पनि त्यो ठाउँ पुग्ने हुटहुटीले केही भएको थिएन विशेष गरेर मलाई । सँगैका पत्रकार साथीलाई पनि सोही भएको होला सबैको हिँडाइको रफ्तार एउटै रहेको थियो । बाटोमा भेटिने मृग, नाउर, वन्यजन्तुका बथानका बथान भेटिँदा लिमी उपत्यका र यसको आसपासको क्षेत्रमा अघोषित वन्यजन्तु आरक्षको महसुस हुने गरेको थियो । हिमतालबाट बगेर आएका साना खोलालाई देख्दासम्म परेको फाँट देख्दा त्यहाँ ठूला ठूला पाँचतारे होटेल स्थापना गरेको भए कति पर्यटकको गन्तव्यस्थल हुन्थ्यो होला भन्ने मनमा कल्पना चलिरहेको थियो । बोटविरुवा, वन्यजन्तुलगायत अन्य अनुसन्धान केन्द्र स्थापना भएको भए कस्तो खालको आयआर्जन हुन्थ्यो होला भन्ने कौतुहलताका साथमा अगाडि बढेका थियौँ ।

बाटोमा भेटिने जडिबुटी लगायत अन्य सुगन्धित फुलको मगमगाहट कुनै तुलना गरी साध्य छैन, वनैभरी वासनादार, सहरमा किनेको मेरो झोलाको परफ्युमभन्दा कडा वास्ना लगातार आइरहेको थियो । बाटोका पहाडमा र हिमालमा पाइने ढुंगा पनि बुट्टेदार, रंगरहित, आहा देख्दै रमाइलो, हेरिरहुँ लाग्ने, कुनै चित्रकारले कुँदेका बुट्टाभन्दा बढी आर्टिस्टिक र मनमोहक थिए । हामीभन्दा अघि गएका नेपाल टेलिभिजनका पत्रकार नरजङ्ग तामाङ्ग र अरू साथी डि.बी. लिम्बु र झुमा लिम्बूलाई कुनै हालतमा हामीले भेटेनौँ । सुन्दर दृश्यको कारण कडा हिँडाइले लखतरान भएका खुट्टा नथाकेको महसुस भएको थियो । झोलामा थाहा सञ्चार नेटवर्कका पत्रकार अर्जुन बोहोराले सिमिकोटबाट बनाएर लगेको रोटी खुर्सानीसँग खाँदा कत्ति मिठो भने अमृत खाए बराबर भएको थियो । बुढापाकाले भन्ने गरेको ‘भोक ठूलो कि भोजन ठूलो’ भन्ने उखान सम्झे एकपटक मैले त्यो बाटोको यात्रा भरीमा । अलि उकालो तर धेरै थकान लगाउने बाटो आजसम्म कहीँ हिँडेको थिएँ त त्यही हिल्साबाट लिमीको तिल गाउँ जाने बेलाको बाटोमा मात्रै हिँडे होला ।


जीवनमा धेरै उकालो ओरालो, हप्तौँ दिन हिँडेको मसँग अनुभव त छ, तर यति धेरै पहिलो पटक थाकेको थिएँ । सायद युद्ध लडेर आएको सिपाही पनि यति थाकेन होला, मलाई त्यति थकान थियो ।  अपराह्नको २ बजे लिमीको तिल गाउँका दुई जना महिला बाटोमा भेटिएका थिए । दुबैले मलाई सिमिकोटमा रहँदा चिनेका रहेछन्, कुराकानी भयो । सानो प्लास्टिकको बोतलमा भरेको जाँड खानको लागि अनुरोध भएको थियो । एक घुट्का सबैले पिएका थियौँ, उकालोमा हिँडेर तिर्खाएको म, सानोमा पढेको ‘तिर्खाएको काग’ कथाको कागले पानीको छटपटीपछि खाएको पानीको महसुस भयो । घरमा भएको भए बासको लागि लग्ने उहाँहरूको हार्दिकतालाई धन्यवाद दिँदै फेरी देख्दा सिधा हल्का उकालोको यात्रा अगाडि बढेको थियो । दिन क्रमशः ढल्कँदै थियो ।

पारिलो घामले हामीलाई बाइबाई गर्दै थियो । बाटोमा आपतविपतमा यात्रीको सहायताको लागि भनेर होला, कोही भोकै बस्न नपरोस् भनेर होला, ओढारमा सानो थैलीमा सातु, एउटा चिया पकाउने भाँडो, केही दाउरा, चिया लगायतका सामग्री सदावहार ओहोरदोहोर गर्नेले छोडेर गएका हुने रहेछन् । भिरको खोँचमा केही पौराणिक गुम्बाले धार्मिक मन बनाउँथ्यो । कुनै भिर त यस्ता थिए कि बाटोभन्दा दक्षिणतिर हेर्दा रिँगटा लाग्ला जस्तो हुने, धेरैबेर हेरेपछि ढलुँलाजस्तो बाटो । भिरमा हिँड्ने बानी नभएकाको लागि त त्यो बाटो कठिन हुन सक्थ्यो । आखिर म हुम्ली, यस्ता बाटो धेरै पार गरेको भएको भएता पनि यस्तो डर हालसम्म लागेकै थिएन । मनमा गुम्स्याएर राखेको थिए, अरूलाई भन्दा लाज होला भनेर । एकछिन ठट्टै ठट्टामा सहयात्री अर्जुनलाई हेर्नस् त तल भनेर जिस्काएको, उहाँलाई पनि डर रहेछ क्यार, तल हेर्न हुँदैन भन्ने वाक्य फु¥यो, भिरमा हात टेक्दै दुवैजना अगाडि बढ्यौँ । राजन जी केही पर पसगि सक्नुभएको थियो । बाटोमा कुँदिएका बुद्धका मूर्तिलाई हेर्दा कतै लाग्थ्यो कि बुद्धको घर यतै कतै होला, आँगनमा नै पुग्यौँ कि भनेर सोँच पनि आउने गर्दथ्यो । काठमाडौंको बौद्ध र स्वयम्भूमा मैले वर्षौंसम्म देखेका कलाकृतिभन्दा बढी थिए कम थिएनन् । काठमाडौँका कलाकृति त प्रख्यात चित्रकारले बनाए होलान्, तर लिमी उपत्यकामा भएका यस्ता चैत्य र गुम्बामा शताब्दिऔँ पहिला कस्ता चित्रकार र मूर्तिकार पुगे होलान् भन्ने मलाई जिज्ञासा पलायो । माने ती सुन्दर कलाकृति बनाउने मूर्तिकार र चिकारलाई, एकपटक दिलैदेखि सलाम गर्न मन लाग्यो ।


करिब ६ बजे सहयात्री राजन रावत र अर्जुन बोहोरा जो पहिला पनि यो बाटो भएर लिमी हिँडेको अनुभव थियो मलाई उ..उ पर रातो डाँडा देखिने त्यसको खोँचमा लिमीको तिल गाउँ भएको देखाए । मसँग भएको जि.पि.एस मेसिनमा ४ हजार ४ सय ४५ को उचाइ देखाएको थियो । बाटो छोटिनुभन्दा मलाई अझै लम्बिएका महसुस हुने गर्दथ्यो । मलाई मेरो फोटोग्राफर साथी गोरख विष्ट र देवेन्द्र शाहीले यो बाटो हिड्नको लागि कठिन छ भनेर सिमिकोटमा सुनाएका थिए । मैले उनीहरूलाई सम्झे एकपटक । मनमा अनेकौँ रंगीन सपना थिए लिमी उपत्यका पुगेर फोटो र भिडियो खिच्ने, त्यहाँको परम्परा र संस्कृति हेर्ने हुटहुटी थियो । राति झमक्क पर्न लागेको थियो । तिल गाउँको नजिक पुगेका थियौँ । गाउँ पुग्दा सुनसान, चकमन्न वातावरण थियो । केहीका घरमा सोलारको मधुरो बत्ती बलेको थियो । कोही चिनेका छैनौँ, फेरि राति भएको छ, मानवबस्ती हो की होइन भन्ने छुट्याउनको लागि त्यो सुनसानले दोधार पारेको थियो । तिनैजनाले अब बोलाउने विचार ग¥यौँ । उत्ति साह्रो भोेटे खाम भाषा कसैलाई बोल्न नआउने ।

आज्यो अजी (बुबा, दिदी) भनेर बोलाउँदा कोही कसैले झ्याल पनि नखोल्ने, ढोका पनि नखोल्ने । सुन्दै नसुन्ने भन्या कोही कसैले । ल अब फसाद भयो, कहाँ बस्ने, के खाने भन्ने समस्याले पिरोल्यो हामी सबैलाई । गाउँ २ पटक बोलाउँदै परिक्रमा ग¥यौँ अहँ कोही कसैले बास दिने ढंग देखिएन । एकछिन गाउँलेको छतमा १५ मिनेट जति बस्यौँ, कोही कसैले बोलाई हाल्छ कि पो भनेर, कता कसले बोलाउनु र, झन् गाउँ चकमन्न भयो । गाउँ नजिकैको तिल खोलाको सुस्साहटबाहेक त्यो रातमा कसैको आवाज सुनिएन । गाउँलेले खाने गरेको खाने पानी भएको धारामा गएर केहीछिन चिसो दाँतै ठिहि¥याउने पानीको सहारा लग्यौँ । अनि फेरि फिर्ता भएका थियौँ, सुनसान गाउँमा । अब एउटा सार्वजनिकस्थल जस्तो देखिने तान बुन्ने ठाउँमा गयौँ । झोला राख्यौँ, एकछिन थकाइ मारेपछि त्यो पालमा साग सुकाएको थियो । सागलाई छेउतिर राखेर तिनै जनाविना ओढ्ने र ओछ्याउने १ डिग्री तापक्रम भएको खुल्ला ठाउँमा सुत्ने निर्णय ग¥यौँ ।

एकदेखि दुई घण्टासम्म गफ गरेर समय बितायौँ । समय बिताउनै गाह्रो, भोलिको बिहानीको किरणको पर्खाइमा मन डुलाइराख्यौँ । बुढापाकाले भन्ने गरेको अर्ति ‘कुखुरी काँ, घर जस्तो वनमा काँ’ भन्ने उक्ति मनमा आयो । सहकर्मी केही निदाए । झोलामा भएको चाउचाउ र बिस्कुट केही खाएका थियौँ । रातभर जाडोले मलाई हैरान पा¥यो । खप्नै सकिन, यस्तै होला भनेर साथीलाई मैले हिल्साबाट सलाई बोक्न भनेको थिएँ । गाउँमा भएका दाउराको भण्डारबाट सक्ने जति दाउरा ओसारेँ । आगो बाल्नको लागि रातभर पानी परेकोले भिजेको दाउरामा आगो बाल्नु भनेको कम्ती सास्ती थिएन । लगेको सलाई ठूलो बट्टा थियो, बट्टामा केही मात्र काँटी जोगिएका थिए । को¥यो आगो बल्दैन फेरि निभ्छ । सलाईको काँटी सकिने पो चिन्ता ।

कताबाट ल्याउनु, त्यसलाई किफायती पनि गर्नु थियो मैले । फेरि गाउँका गोठ, घर सबैको आँगन चहारँे एक्लै । तिल गाउँका बासिन्दालाई राति घुमफिर गर्न डर लाग्थ्यो होला, तर मलाई लागेन । डर भन्ने चिज त मन न हो, मनले महसुस गरेपछि पो डर, नत्र के को डर । डरभन्दा पनि आफूलाई चिसोले सताएको छ, चिसोले बिरामी परिएला भन्ने पो डर छ । जे पर्ला पर्ला, भोलि बिहान चोर भने भन्लान्, केही ओभानो सामग्रीको खोजीमा भौतारिए । एउटा घरमा राजनजीले लिनु भएको मधुरो टर्चको सहायताले घरको पर्खालमा धुपी पर्खालमा राखिएको थियो । मात्र दुई बुटा मात्र, त्यो पाएर खुसी हुँदै, ज्याकेटको भित्र नभिज्ने गरी लुकाएर ल्याएँ । बल्लतल्ल एक घण्टाको प्रयासपछि त्यही धुपीको सुकेको बुट्यानको सहयोगले आगो बाल्न सफल भएँ, यो देख्दा कुनै सिपाहीले युद्ध जितेको भन्दा बढी आनन्दको पैदा मैले हर्षको महसुस गरेको थिएँ । आगो ताप्न सुरु गरेँ, सहकर्मी गोरखापत्र दैनिकका संवाददाता राजन रावत र थाहा सञ्चारको सम्वाददाता अर्जुन बोहोरालाई बोलाएँ । आगो नजिक सबैैले खुसी साँट्यौँ । केही रमाइला ठट्टासहित भोलिको पर्खाइमा रह्यौँ ।

भोलिको पर्खाइमा घडी हेर्दाहेर्दा मेरो आँखा नै दुख्ने भयो होला सायद त्यतिपल्ट घडी हेरेको थिएँ । कहिलेकाहीँ काम पर्दा समय नगए हुन्थ्यो भन्ने मेरो सोचाइ, तिल गाउँको त्यो चिसो र भोको रातले फरक बनाएको थियो । समय बिताउन कत्ति गाह्रो भन्या, कहिल्यै त्यति गाह्रो भएको थिएन । त्यो दिन मलाई भएको थियो । आँखा टेढिँदासम्मको घडीमा समय हेरेको थिएँ । रातभर नानाथरी कल्पनाको संसारमा उडान भरेँ, विमान भएको भए सायद कति महादेश पो परिक्रमा गर्थें होला । अरू साथीले के गरे थाहा भएन । बल्लतल्ल भोलि बिहानको किरण हल्का गाउँमा पर्न सुरु भयो । बिस्तारै गाउँ जाग्न थालेको महसुस भयो ।

आगोको राप नजिकै धुलाम्य भुर्इंमा पागलजस्तो सुतेका थियौँ । सहयात्रीको कपडामा खासै कुनै मैलो देखिएको थिएन, मेरो कालो नरम जिन्सको पाइन्टले त पूरै रंग नै परिवर्तन पो गरेछ । कालो पाइन्टको रंग त बिहान उज्यालो हुँदा सेताम्य धुलोले सेतो पो देखियो, मैले आफ्नो पाइन्ट देख्दा आफैलाई अचम्म लागेर झुक्किएको थिए । मैले त सेतो पाइन्ट नभएर कालो पो लगाएको थिएँ, कसरी यस्तो हुन गयो प्रश्न मनमा जागेको थियो । त्यस्तै, डाउन ज्याकेटकोे हालत पनि थियो । राति दाउरा मिलाउँदा सहकर्मी अर्जुनजीले आगोको राँको नै मेरो ज्याकेटमा पार्दा जल्यो कि भन्ने चिन्ता पनि थियो । जलेको भए लगेको एक ज्याकेट पनि प्वाल पथ्र्यो होला । धुलोमा सुतेका, जलेको ज्याकेट लगाएको लिमीका बासिन्दाले मलाई देखेको भए कुन ठाउँको बहुलाहाको प्रवेश गाउँमा भएछ भनेर लखेट्न बेर थिएन, मनमा चिन्ता र चासो थियो । बिहानको मिरमिरेमा हामीलाई गाउँको एकजना तान बुन्न आउने आइमाईले देखिन्, हामीलाई देखेर एकछिन त झस्केकी थिइन्, हाम्रो अवस्था देख्दा, धुलोमा सुुतेका, आगो बालेर अचम्म तरिका अपनाएर, सायद उनको जीवनमा यस्तो दृश्य कुनै फिल्ममा देखिन् होला दोस्रो त्यही गाह्रो अवस्था हुनसक्छ । हामीलाई देखेर केही पश्चतापको भाव पोेखिन्, च्व..च्व..च्व गरिन् मात्र । आफूले बोकेको भोटे चिया र सातु हामीलाई दिने कुनै दया देखाएनन् । बिहानी नित्यकर्मपछि सहकर्मीले नजिकैको घरमा चिया र सातु खाँदै रहेछन्, मेरो मनमा कुनै आशा थिएन कि खाना पाइएला भनेर । त्यसैले म गाउँका पाखापखेरीका तस्बिर लिनमा नै बढी व्यस्त भएँ ।

केही समयपछि साथीको बोलावटले स्थानीय महिला जो काठमाडौंबाट भर्खर दुई दिन अगाडि मात्रै आएको बताउनुहुन्थ्यो, उहाँको न्यानो आतिथ्यताको साथमा चिया खाइरहेको दृश्य साँच्चै होकी सपना हो मलाई छुट्याउन कठिन भयो । वास्तविक नै रहेछ, म पनि सरिक भएँ । त्यहाँ भएकी महिलासँग कुराकानी गर्दै जाँदा गाउँमा भएको चलनअनुसार घरको कुनै सदस्य किन नहोस्, राति सात बजे भन्दापछि आए जोकोही भए पनि ओढारमा बास बस्नुपर्ने रहेछ । कारण के हो भनेर सोध्दा भूतप्रेतको कारण गाउँका बासिन्दा डराउने रहेछन् । चियापछि खाना तयार हुँदै थियो । भोकले होला भात र सागको झोल अति नै मिठो थियो । मनमनै जसले खाना पकाई हामीलाई दिनुभयो । उहाँलाई अभिव्यक्त गरिनसक्नु मेरो हृदयता पलाएको थियो । केही घण्टाको कुराकानीपछि हामीले खाएको खानको समेत पैसा लिन मानिनन् । बल्लतल्ल केही पैसा जबर्जस्त दिन सफल भयौँ । हिजो बाटोमा अघि हिँडेका साथीहरू हामीसँग भेट भयो । कुराकानी भयो, हिजो रातिको दुःख उहाँहरूलाई केही पनि भनेनौँ । यो सार्वजनिक कसैले नगर्ने हामी तिनमा सहमति भएको थियो । सिमिकोटमा पुगेपछि अरू साथीले समाचारको रूपमा प्रकाशन गरेपछि मलाई पनि त्यो रातको यादमा केही लेख्न मन मात्र लागेको हो । मेरो लेखाइले कुनै सम्प्रदाय, बस्ती र चालचलनमा आँच नआओस् भन्ने म चाहन्छु ।

त्यो रातको सम्झनाले मलाई बाल्यकालमा गाली गरी गरी खाना खानको लागि भनेको आमाबुबाको याद खुब आयो । बाल्यकाल र मिठा मिठा परिकार खाएको ती दिनमा पनि मिठो नमानेको दिनको याद आयो । लिमी बसाईमा धेरै राम्रा कुराको अवलोकन र बुझ्न पाउँदा त्यो बिर्सेको छु । त्यहाँको आथित्यताको कारण सबै दुःख हराए जब हल्जी गाउँ पुगेपछि । लिमी महोत्सवको रौनक र चालचलन देख्न पाएपछि सबै कालान्तरमा हराए । सबै गतिविधिले मन चंगा भएको थियो । त्यहाँ जिल्लाका केही चिनेजानेका कर्मचारी, हल्जीका केही स्थानीय मित्रसँग वर्षौँ भेट भएको थिएन भेट्ने मौका पाइयो । लिमी महोत्सव उद्घाटनमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढा, संघीय सांसद छक्कबहादुर लामा, जिल्लाका उच्चपदस्थ कर्मचारी लगायतको उपस्थिति रहेको थियो । फर्कने दिनमा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामा, वडाध्यक्ष पाल्जोर लामाले हेलिकोप्टरमा नै आएर हामीलाई बिदाइ गरेका थिए । हेलिकोप्टर क्याप्टेन इरिकसँग मैले र सहयात्रीको अनुरोधपछि लिमीको उत्तरी हिमताल, हिमनदी, वन्यजन्तु, लिमी लाप्चाबाट देखिने मानसरोवर कैलाशको दर्शन गरी सिमिकोट पुगेका थियौँ । हेलिकोप्टरको व्यवस्था गर्ने आयोजक र विशेष गरी कर्णाली प्रदेश सरकारका मन्त्रीज्यूलाई सादर धन्यवाद प्रकट गर्न चाहन्छु ।

वास्तवमा हुम्लाको लिमी उपत्यका एक पटक सबैले पुग्नुपर्ने ठाउँ रहेछ । सुन्दर दृश्य, प्रकृति पनि कति फुर्सदमा बनाएको ठाउँजस्तो लाग्छ । जति बस्यो बस्न मन लाग्ने, जति हे¥यो हेर्न मन लाग्ने, जति रचना ग¥यो रचना गर्न मन लाग्ने ठाउँ, साँच्चै स्वर्ग हेर्न कहीँ जानु छ भने लिमी पुगे हुन्छ । विश्वका मै हुँ भन्ने चित्रकारले पनि यस्तो दृश्य कोरेको, सोचेको पनि छैन होला, लिमी उपत्यका र यसको आसपासको क्षेत्रको दृश्यलाई मैले अन्तमा यति नै भने । मोनालिसाको तस्बिरलाई विश्वका राम्रो चित्र भनेर सबैले भने तर चित्रभन्दा वास्तविकता अझ सुन्दर छ, लिमी उपत्यका । प्रकृति, संस्कृति, सांस्कृतिक फरक स्वाद लिनको लागि हुम्लाको लिमी उपत्यका एक मात्र ठाउँ हुन सक्छ ।

प्रतिक्रिया