खानेपानीको समस्या हटाउँदै सिद्धलेक

विवेक अर्याल, धादिङ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका सिद्धलेकका वासीहरू अब भने खानेपानी समस्याबाट मुक्त हुने भएका छन् ।  जिल्लाको सिद्धलेक गाउँपालिकाका केही भूभागमा खानेपानीको समस्या नरहे पनि अधिकांश स्थान खानेपानीको कारण समस्या झेल्दै आइरहेका छन् । पछिल्लो समय सिद्धलेकले जिल्ला तथा केन्द्रका सरकारी तथा गैरसरकारी संघसंस्थासँगको सहकार्यमा गाउँपालिकाको अधिकांश वस्तीमा खानेपानी पु¥याउने योजनामा लागेको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताए ।

उनका अनुसार सकेसम्म पाइपलाइनमार्फत मूलकै पानी गाउँमा पु¥याइने र पाइपलाइनमार्फत खानेपानी पु¥याउन असम्भव स्थानमा बोरिङ तथा डिप बोरिङमार्फत भए पनि प्रत्येक घरधुरीलाई खानेपानी पु¥याएरै छाडिनेछ उनले भने, ‘सोही योजनाअनुसार हालसम्म गाउँपालिकाभित्र पाँच वटा डिप बोरिङमार्फत करिब दुई हजार पाँच सय घरधुरीलाई खानेपानी वितरण गरिसकिएको छ ।’ गत एक वर्ष सम्ममा गाउँपालिकाका १, ३ र ५ नं. वडामा गरी पाँच वटा डिप बोरिङमार्फत खानेपानी पु¥याइसकेको छ । पानीको अभाव भएका गाउँपालिकाको यी लगायतका विभिन्न स्थानहरूमा डिप बोरिङ गरी पिउनेपानीको व्यवस्था गरेसँगै त्यहाँका स्थानीयहरू पानीको समस्याबाट मुक्त भएका हुन् ।

जिल्लामा भुकम्पपछि धेरैजसो पानीको मुहानहरू सुक्दै गएकोले गर्दा पिउने पानीको हाहाकार नै हुन थालेपछि सिद्धलेक गाउँपालिकाका कतिपय स्थानीयहरू बसाइँसमेत सर्न थालेका थिए । खानेपानी समस्याकै कारण स्थानीयहरूले दुःख बेहोर्नु परेको र गाउँमा दैनिकजसो बसाइँ सर्न सुरु भएपछि गाउँपालिकालाई नै तिर्खामुक्त गाउँपालिका बनाउने भन्दै डिप बोरिङबाट पानी निकाल्न सुरु गरेको सिद्धलेक गाउँपालिका–४ का अध्यक्ष रामहरी बराकोटीले बताए । उनका अनुसार जहाँ जुन बस्तीमा पानीको समस्या भयो, उपयुक्त ठाउँ हेरी प्रत्येक वडासँग सहकार्य गरी त्यहीँ बोरिङ गरी पानी निकाल्न थालिएको हो ।

पछिल्लो समय पानी पिउनका लागी मात्र नभई खेती बालीका लागि पनि अति आवश्यक हुने गरेको भन्दै यसलाई गाउँपालिकाले अभियानकै रूपमा समेत लिएको छ । स्थानिय निर्वाचनपस्चात् सिद्धलेक गाउँपालिकाभरीका सबै घरमा ‘एक घर एक धारा’ को अभियान नै सुरु गरी तिर्खा मुक्त गाउँपालिका बनाउने लक्ष्यका साथ अगाडि बडेको र उक्त लक्ष पूरा गरेरै छाडिने समेत गाउँपालिका अध्यक्ष सिलवालले बताएका छन् ।
सिद्धलेक गाउँपालिकामा रहेका करिब ६ हजार २ सय घर धुरी मध्ये करिब एक हजार घरमा ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानीको धारासमेत निर्माण गरिसकेको छ ।

प्रतिक्रिया