केसीले तोडे १६औँ अनशन : फरक रूपमा लडिरहने प्रतिबद्धता

काठमाडौं । सरकारले आफूसँग गरेका सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने माग राख्दै डा. गोविन्द केसीले सुरु गरेको अनशन स्थगित गरेका छन् । २४औं दिन लामो अनशन एकतर्फी रूपमा शुक्रबार साँझ उनले अन्त्य गरेका हुन् ।  शुक्रबार १६ औं अनशन टुंग्याउँदै उनले चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रूपमा लडिरहने प्रतिबद्धतासमेत जनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली राज्य सञ्चालनका लागि असक्षम र अस्वस्थ रहेको आरोप समेत लगाएका छन् । संघीय संसदले सो विधेयक बहुमतले पारित गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार तथा नागरिक समाजका केही अगुवाले शुक्रबार भेटेर अनशन तोड्न आग्रह गरेका थिए । सुरुमा नतोड्ने हठ राखेका उनि शुक्रबार साँझ भने राजी भएका थिए । उनले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी अमृत पुजारी, पूर्व प्रधानन्यायाधीश सुशिला कार्की र पूर्वसभामुख एवं कांग्रेसका नेता दमननाथ ढुंगानाको हातबाट जुस पिएका हुन् ।

अनशन तोड्ने क्रममा डा. केसीले अब अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनशन तोडेको बताए । साथै विधेयक पास गर्न सरकारले अधिनायकवादी प्रवृत्ति देखाएको भन्दै उनले भनेका छन्, ‘यसरी पारित भएको ऐन हामीलाई स्वीकार्य छैन ।’ उनले अनशन तोड्न आग्रह गर्ने नागरिक अगुवा, माथेमा कार्यदल र आवासीय चिकित्सकहरुलाई धन्यवाद दिँदै भनेका छन्, ‘उहाँहरूको भावनालाई सम्मान गर्दै उहाँहरूकै रोहवरमा म १६औं पटकको आमरण अनशन टुंग्याउने घोषणा गर्दछु ।’ डा. केसीले असिमित सम्बन्धनलाई कानुनी वैद्यता दिने गरी पास भएको विधेयक हालकै अवस्थामा स्वीकार्य नहुनेसमेत बताए ।

’सुधारकै लागि भनेर यत्रो कानुन निर्माण गर्दा समस्याको मुल जडका रूपमा रहेको सम्बन्धनका विकृतिलाई ज्युँका त्युँ राख्ने, सम्बन्धनको विकृतिलाई कानुनी वैधता दिने र यसबाट सीमित मुठ्ठीभरका आसेपासेलाई फाइदा पु¥याउने सरकारको नियत प्रस्टै देखिएको छ’, विज्ञप्तिमा भनिएको छ । डा. केसीले आफू निकट एक व्यक्तिका लागि कानुन बनाउँदै सरकारले नीतिगत भ्रष्टाचार तथा जनमतको अपमानको उत्कर्ष उदाहरण पेस गरेको आरोप लगाएका छन् । ’सरकारले आफूलाई निर्वाचित गर्ने तीन करोड जनताको हितमा हैन आफू निकट एक व्यक्तिका लागि कानुन बनाउँदै नीतिगत भ्रष्टाचार तथा जनमतको अपमानको उत्कर्ष उदाहरण पेस गरेको छ । यसले सरकार र सत्तारुढ पार्टीको वैधतामाथि गम्भीर प्रश्न उठाएको छ’, डा. केसीको भनाइ छ । केसीले पुस २५ गते इलामबाट अनशनको सुरुआत गरेका थिए ।

प्रतिक्रिया