धुर्मस सुन्तली प्रकरणको तितो सत्य

हेक्का रहोस, लोकप्रिय मानिसहरूबाटै घोटालाको सम्भावना हुन्छ । रविन्द्र अधिकारी पनि त कुनैवेला लोकप्रिय नै थिए । आशाराम बापु र राम रहीमलाई कुनैवेला मानिसहरू भगवान नै भन्थे । जन आन्दोलनका घाइतेहरूका नाममा उठाइएको रकम मह जोडीले कहाँ हाले ? त्यसको हिसाब किताब कसैले गरेको छैन

जब सरकार नालायक, निकम्मा, हुतीहारा र कर्तव्यच्यूत हुन्छ, तब धुर्मुस, धमला, लामिछाने आदि इत्यादि ‘अभिनेता’हरूले एकाएक हिरो हुन पाउँछन् । पर्यटनमन्त्री रविन्द्र अधिकारीजीको काम हो नी यो, तर उहाँ वाइडबडी झैं सत्ताको चास्नीमा डुबेर ढाडीनु भएको छ ।

प्रचण्ड र ओलीका ठेट्नाहरू ठेक्का पट्टा, सरुवा बढुवा र खासगरी भूकम्प पिडित र अन्य नाममा आएको सहयोग कसरी पचाउने भन्नेमै व्यस्त छन् । मार्सी माफिया, सुमार्गी, महतो, घले आदि नेपालका नवधनाढ्य वर्गहरू शासकहरूको लोभी पापी चरित्रलाई भजाउने र नेपालको प्राकृतिक र अन्य साधन श्रोतमा दोहन गर्ने धुनमा छन् । आम गरिब जनता साँझ बिहानकै गर्जो टार्ने तनावमा छन् ।

यस्तोमा हाम्रा नव एलिट शासकहरूले क्रिकेट रंगशाला, रेल, फास्ट ट्रयाक, पानी जहाज, ओभरहेड ब्रिज, मोनो रेल आदि अनेक सहरीया विकासका पासा फालिरहेका छन् । कम्युनिस्ट भनाउँदो शासकले क्रिकेटको पक्षपोषण गरिरहेको छ, जुन साम्राज्यवादीहरूको टाइम पास गर्ने मेलो हो ।

क्रिकेट रंगशाला हामी गरिब नेपालीको प्राथमिकता हैन । भारतलाई उपनिवेश बनाउँदा इस्ट इन्डिया कम्पनीका फिरंगीहरूले आफ्नो कम्पाउन्डमा मोज फर्माउन वाइनको चुस्की लगाउँदै क्रिकेट खेल्थे । फिरँगी त गए, भारतमा क्रिकेट छाडेर गए । एउटा मुर्खले बल फाल्ने, अर्को मुर्खले ब्याटले हिर्काउने र हजारौं मुर्खका लाखौं आँखा मैदान र टिभी स्क्रिनमा त्यो बलको पछिपछि दौडने यो क्रिकेट आफैँमा काइते खेल हो, जसमा दाउददेखि छोटा राजनसम्मको म्याच फिक्सिङको धन्दा चल्छ । अब नेपालका नव एलीट बर्ग त्यो धन्दा नेपालमा पनि भित्रयाउन चाहन्छन् क्यार । खै के मार्गीहरू त जुर्मुराइसके होलान् ।

देशको हालत चौपट छ । म बिरामी भएँ भने मैले अहिलेसम्म कमाएको दुई चार लाख स्वाहा हुन्छ । शिक्षा र स्वास्थ्यको हालत चौपट छ । आजको नानो टेक्नोलोजीको युगमा, रोबटिक सर्जरीको युगमा हामी वीर अस्पतालमा स्क्यानिङ मेसिन आयो रे भनेर खुसी हुनुपर्ने अवस्था छ । जनताले ढुक्कसँग सस्तो मूल्यमा आफ्नो उपचार गर्नसक्ने गतिलो सरकारी अस्पताल छैन ।

तर, हामी क्रिकेट रंगशाला निर्माणको पछि लागेका छौँ । विकासको यो सामन्ती मानसिकता हो । राजाले भोकै भएँ सरकार भनेर याचना गर्ने जनतालाई ‘दूध भात पनि खान पाएनौ ?’ भनेर सोध्या झैं अबका शासकहरू गास, वास, कपास, शिक्षा र स्वास्थ्यबाट बन्चीत जनतालाई भन्नेछ, ‘क्रिकेट हेर्नुस् र मन भुलाउनुस् । हैन भने धुर्मुसेले मुख बंग्याएको हेरेर हाँस्नुस् ।’

के सुख र मनोरञ्जनका अन्य सार्थक आधार हाम्रो हक हैन ? एउटा किसानले आफ्नो उत्पादनको सही मूल्य पाएर आनन्दित हुन पाउनु उसको हक हैन ? एउटा रोगीले घर खेत नबेची उपचार गरी खुसी हुन पाउनुु उसको हक हैन ? स्वदेशमै राम्रो रोजगारी गरेर ‘साईंलीसँग रमाउन पाउनु’ मेरो असली मनोरन्जन हैन र ?

राज्यबाट थोपरिएका अनेक बेथिति, करको भारी, अभाव, गरिबी, माफियाको दादागिरी, अनियमतिता गर्ने ठेकेदारहरूको हैकम अनि नेताहरूको नालायकी देखेर विक्षिप्त भएको मनले धुर्मुसेले मुख बंग्याएको हेरेर मनोरन्जन लिनुपर्ने ? क्रिकेट हेरेर रमाउनुपर्ने ?
सत्य तितो हुन्छ । सेलीब्रेटीहरूको बारेमा केही तितो लेख्दा धेरै मानिसहरूले मलाई पागल भन्न सक्छन् । तर, म मिडिया सिन्डिकेट, दलीय दलाली र भिडको मानसिकताको पछि दौडने मान्छे हैन ।

आफ्नो अन्तर आत्मामा छोएर भन्नुस, के आजको देशको प्राथमिकता क्रिकेट रंगशाला हो कि जनताले उपचार गर्न पाउने अस्पताल हो ? जनताका छोराले पढन पाउने गुणस्तरीय विद्यालय हो ? भरतपुरमै किसानहरूको उत्पादनले मुल्य नपाएर काउलीबारीमा डोजर चलाइरहेका छन् । उखु किसानहरूले उचित मुल्य पाइरहेका छैनन् । तराइमा डेँगु र सर्प दंशको बिगबिगी हुन्छ, वर्षा याम । अब ति किसान र तराईवासीले धुर्मुसेको प्रहसन हेर्ने कि ? या क्रिकेट हेरेर मन बुझाउने ?

नमुना नेपाल’को चन्दा कहाँ गयो धुर्मुसेजी ?

धुर्मुसेले पहिला ‘नमुना नेपाल अभियान’को हौवा चलाएर लाखौँ चन्दा उठाए । त्यो पैसाको हर हिसाब के छ ? ‘नमुना नेपालतिर नलागी एकाएक क्रिकेटको फन्डा सुरु भएको छ । स्मरणीय छ, ‘नमुना नेपाल’मा रेलदेखिका सपना धुर्मुसेले बाँडेका थिए । त्यो सपना अलपत्र पारेर धुर्मुसे क्रिकेट रंगशाला बनाउने भन्दै बदनाम शासकहरूसँग सेल्फी खिच्न पुगेका छन् ।

‘नमुना नेपाल’का लागि भनेर उठाएको चन्दाको हर हिसाब, एडिट, त्यसको पारदर्शिता कसले हेर्ने ? हेक्का रहोस, लोकप्रिय मानिसहरूबाटै घोटालाको सम्भावना हुन्छ । रविन्द्र अधिकारी पनि त कुनैवेला लोकप्रिय नै थिए । आशाराम बापु र राम रहीमलाई कुनैवेला मानिसहरू भगवान नै भन्थे ।

जन आन्दोलनका घाइतेहरूका नाममा उठाइएको रकम मह जोडीले कहाँ हाले ? त्यसको हिसाब किताब कसैले गरेको छैन । हामी हौवा र भाइरल सेन्टीमेन्टको पछि दगुर्छौं, एकाएक निम्छरो मानिसको देवत्करण गर्छौं, जब उसले धोखा दिन्छ, अनि पुर्पुरोमा हात लगाउँछौं । प्रचण्डले बेवकुफ बनाए, ओलीले बेवकुफ बनाए, अब धुर्मुसेको नयाँ फन्डा सुरु भएको छ ।(फेसबुक वालबाट)

प्रतिक्रिया