हुम्लामा फेरी हिमपात

हुम्ला । गएको साता आठ दिनसम्म हिमपात हुँदा जनजीवन कष्टकर भएको हुम्लामा पुन बिहीबारबाट हिमपात सुरु हुँदा जीवन अझ कष्टकर भएको छ ।

बिहीबार बिहानबाट सुरु भएको हिमपातले हुम्लाका अधिकांश वस्तीमा चिसो अत्यधिक बढाएको छ । गएको वर्ष हिउँ नपर्दा खडेरीको चपेटामा परेका किसानलाई यो वर्ष राहत भएको भएता पनि जनजीवन भने अति नै कष्टकर भएको छ ।

बिहानैदेखि हिमपात सुरु हुँदा घरबाट बाहिर निस्कनसमेत समस्या भएको छ । करिब पाँच फिट हिउँ जमेको बिलाउन नपाउँदै पुःन सुरु भएको हिमपातले पशुपालक किसानलाई भने हैरान बनाएको छ । चरन क्षेत्रलाई हिउँले पुर्दा भेडाबाख्रा र अन्य चौपायालाई खरको समस्या भएको हो । सुक्खा भण्डारण गरेको घाँसको भरमा घरमा नै राख्नुपर्ने बाधयता भएको छ ।

नवौं दिनमा हवाई यातायात

हिमपातको कारण आठौँ दिनसम्म अवरुद्ध भएको हवाई यातायात नवौं दिनमा खुलेर केही यात्रीले नेपालगञ्जसम्म यात्रा गर्न पाएको भएता पनि पुन हिमपात हुँदा जिल्ला बाहिर काम विशेषले जाने यात्रुले यात्रा गर्न पाएका छैनन् । बिरामी र अन्य काम भएका हुम्लीको लागि भने समस्या भएको छ । विमानस्थलमा हिउँ बाख्लो जम्न सक्ने अनुमान भएको छ । अघिल्लो हिमपातमा स्थानीय, गाउँपालिकामा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य कर्मचारीले विमानस्थलको हिउँ हटाएर विमान सेवा सञ्चालन गरिएको थियो ।

अझै जाडो बढ्न सक्ने अनुमान

हिमपातले माइनस १५ सम्म पुगेको तापक्रम अझै बढ्न सक्ने अनुमान मौसम विदले गरेका छन् । जाडोले दीर्घरोगीलाई समस्या बनाएको छ । दम, निमोनिया लगायतका रोगीलाई गाह्रो बनाएको छ । घरभन्दा बाहिर निस्कनसमेत कठिन भएको अवस्था रहेको छ । पानीका मुहान बाहेक खानेपानीको धारामा पानी जमेर बरफ नै बनेको छ । सदरमुकामसँग अझै पनि दक्षिणका सर्केगाड, चंखेली, अदानचुली, ताँजाकोट र उत्तरी नाम्खा गाउँपालिका पूर्णरुपमा सम्पर्क विच्छेद अवस्थामा रहेका छन् । हिमपातको भएको भएता पनि हिउँ पहिरो र अन्य प्राकृतिक प्रकोपले भने अहिलेसम्म कुनै असर नपरेको स्थानीय प्रशासनले जानकारी गराएको छ ।

प्रतिक्रिया