मेची–महाकाली रेल दौडाएरै छाड्छौँः प्रधानमन्त्री ओली

बनियानी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

झापाको भद्रपुर–५ स्थित मेची पुलको बिहीबार उद्घाटन गर्दै उनले भने, ‘सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने सङ्कल्प गरेको छ, मेचीदेखि महाकालीसम्म रेल दौडाएरै छाड्छौँ ।’

रेल र पानी जहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको बताए । सरकारले नेपाल र भारतसँगको नजीकको बन्दरगाहबाट पानी जहाज सञ्चालन गर्न लागेको बताउँदै उनले कोशी नदीमा पनि पानी जहाज सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए ।

मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपनाका पूरा भएको उनले उल्लेख गरे । पुल सञ्चालसँगै भद्रपुर विकासको गतिमा एक कदम अघि बढेको उनले बताए । ‘अब मेचीपुल सञ्चालन भएपछि यहाँको व्यापार–व्यवसाय बढ्नेछ’, उनले भने, ‘समृद्धिको मार्गमा भद्रपुर अघि बढ्नेछ ।’

तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विसं २०६८ माघ २१ गते मेची पुलको शिलान्यास गरेका थिए । कूल रू ३३ करोडको लागतमा निर्माण भएको पुलको लम्बाइ ५६० मिटर र चौडाइ ११ मिटर रहेको छ । पुल निर्माण भएसँगै भारतको बङ्गाल तथा विहार राज्यसँग सडकमार्फत सोझो सम्पर्क स्थापित भएको छ ।

यसैविच, प्रधानमन्त्री ओलीले चन्द्रगढीस्थित विमानस्थलमा रात्रीकालिन हवाई सेवाको समेत शुरु गरेका छन् । यो सगै चन्द्रगढी विमानस्थल रात्रीकालिन उडान सेवा दिने देशको छैठौ राष्ट्रिय विमानस्थल बनेको छ । प्रधानमन्त्री सेवाको उद्घाटन गर्दै सोही विमानबाट विहिवार रात्रि काठमाडौं फर्किएका छन् । यसअघि धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र विराटनगर विमानस्थल विगत ५ महिनादेखी रात्री उडान भर्दै आएका छन् । यस्तै जनकपुर विमानस्थलपनि अबको दुई महिनामा रात्रीकालिन उडान भर्न सक्ने हुने बताइएको छ ।

प्रतिक्रिया