ऊर्जाको समस्या र समाधानका उपाय

आज विश्वका धेरैजसो मुलुकमा र खास गरेर विकासोन्मुख मुलुकहरूमा वनजंगल फाँडी नयाँ बस्ती बसाउने क्रम जारी छ । वास्तवमा यी देशहरूमा पुनर्वासको सुव्यवस्था गर्न सके यहाँका वनजंगलको विनाश न्यून भई दाउराबाट प्राप्त हुने ऊर्जा संचित हुने कुरामा दुईमत नहोला

ऊर्जा प्रत्येक व्यक्तिका लागि नभई हुँदैन । के बालक, के वृद्ध, के धनी, के गरिब सबैलाई प्रत्येक दिन केही न केही मात्रामा ऊर्जाको आवश्यकता पर्दछ । ऊर्जाका लागि विकासोन्मुख राष्ट्रहरूमा खास गरेर दाउरा, भुस, गुइँठा आदि प्रचुर मात्रामा प्रयोग गरिन्छ । साधारणतया विकासोन्मुख मुलुकहरूमा आजसम्म पनि ऊर्जाका लागि झन्डै ८५ प्रतिशत वनजंगलमा नै भर पर्नुपर्ने बाध्याता छ ।

वास्तवमा इन्धनका लागि विश्वका धेरै देशहरू आत्मनिर्भर छैनन् । उदाहरणका लागि अमेरिका जस्तो विकसित मुलुकमा सम्पूर्ण इन्धनको खपतको अन्दाजी २० प्रतिशत अन्य राष्ट्रहरूमा निर्भर हुनुपर्दछ भने जापानमा चाहिने कुल इन्धनको ९० प्रतिशत अरु देशबाट भित्र्याइन्छ । विशेषतः सन् १९७७ को अरब–इजरायल युद्धपछि विश्वका सबैजसो देशहरूमा इन्धनको समस्याले भीषण रूप लिएको छ ।

बढ्दो इन्धनको समस्यालाई दृष्टिगत गरी केही दशक अघि केन्याको राजधानी नैरोबीमा ऊर्जाको सम्बन्धमा अन्र्तर्राष्ट्रिय सम्मेलन भएको थियो । संयुक्त राष्ट्रसंघको अनुरोधमा आयोजना गरिएकाउक्त सम्मेलनमा झन्डै १ सय ५० मुलुकका प्रतिनिधिहरूले सौर्य, वायुलगायत १४ नवीन इन्धन स्रोतहरूका सम्बन्धमा व्यापक छलफल गरेका थिए । यसैगरी, संयुक्त राज्य अमेरिकाको लसएन्जेलसमा केही वर्ष अघि सम्पन्न गरिएको सम्मेलनमा पनि विभिन्न राष्ट्रका प्रतिनिधिहरूबाट लघु ऊर्जाको स्रोतहरूको सम्बन्धमा विचार–विमर्श भएको थियो । परन्तु उक्त सम्मेलनहरूबाट विकासशील मुलुकहरूलाई ठोस फाइदा हुन भने सकेन ।

आज इन्धनको अभाव महसुस भएकोले विश्वका केही राष्ट्रहरू उपयुक्त इन्धनको विकासका लागि विशेष रूपले आकृष्ट भएका छन् । यसै सन्दर्भमा बेलायत, फ्रान्सजस्ता विकसित देशहरूमा आणविक शक्तिबाट झन्डै ५० प्रतिशत इन्धन प्राप्त गर्ने योजना गरिएको छ भने केही राष्ट्रहरूले कोइला तथा वृक्षहरूबाट अधिकतम मात्रामा इन्धन प्रयोगमा ल्याउने दृढता व्यक्त गरेका छन् । यसैगरी मित्रराष्ट्र चीनमा सूर्य तथा फोहोरमैलाबाट ऊर्जा निकाल्ने काममा केही प्रगति भएको छ ।

साधारणतः संसारका अधिकांश मुलुकहरू विकासको पथमा वामे सर्न थालेका छन् । त्यसैले यी देशहरूमा नयाँ इन्धनका स्रोतहरूको विकास गर्नु एक कठिन कार्य भएको छ । इन्धनका अन्य स्रोतहरूको कमीले गर्दा यी राष्ट्रका मानिसहरू अधिक मात्रामा दाउरा प्रयोग गर्न विवश भएका छन् । फलतः यी देशहरूमा वन सम्पदा यति धेरै मात्रामा नोक्सान भएको छ कि झन्डै नौ करोड मानिस वनजंगलको अभावबाट धेरै पीडित छन् भने अन्दाजी आठ करोड मानिस आफ्नो देशमा विद्यमान रुखहरू अनियन्त्रित तरिकाबाट विनाश गर्दैछन् । अतः आज यी देशहरूमा ऊर्जाको अभाव मात्र महसुस नभई वातावरणमा समेत नराम्रो असर परेको छ ।

नेपालमा पनि अन्य विकासोन्मुख राष्ट्रहरूमा जस्तै ऊर्जाको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । वास्तवमा हाम्रो जस्तो प्रशस्त नदीनाला भएको देशमा जलविद्युत्बाट नै आवश्यक ऊर्जा प्राप्त गर्न सफल हुनुपर्ने थियो, तर सकेको छैन । यसैले हालसम्म हाम्रो देशको कुल जनसंख्याको थोरै प्रतिशतले मात्र जलविद्युत् सुविधा प्राप्त गरिरहेका छन् ।

यसमा पनि अधिकांश नगरवासीहरू छन् । आवश्यक ऊर्जाकालागि यहाँका अधिकांश र खास गरेर ग्रामीण क्षेत्रका मानिसहरू आजसम्म पनि दाउरामा निर्भर छन् । दाउरा बाहेक इन्धनको अर्काे स्रोत नभएकोले यहाँ विद्यमान वनजंगलको तीव्र रूपले विनाश भइरहेको छ । वनसम्पदाको उच्च दुरुपयोगले गर्दा एकातिर बाढी, पहिरो र भूक्षय जस्ता प्राकृतिक प्रकोपहरू दिन प्रतिदिन बढिरहेका छन् भने अर्काे तर्फ व्यवस्थापन पक्ष कठिन एवं चुनौतीपूर्ण बन्दै गएको छ ।

कुशल व्यवस्थापनको अभावमा नेपालमा फोहोर मैलाको समस्या दिन प्रतिदिन बढिरहेको छ । तर, फोहोर मैलाबाट पनि प्रचुर मात्रामा ऊर्जा उत्पादन गर्न सकिन्छ । यसको लागि दक्ष जनशक्तिको उत्पादन एवं विपुल धनराशीको आवश्यकता पर्छ । त्यसैले फोहोरमैलाबाट ऊर्जा उत्पादनका लागि सम्बन्धित पक्षको ध्यान जान नितान्त आवश्यक छ । यदि भविष्यमा फोहोर मैलाबाट ऊर्जा उत्पादन गर्न सकेमा यहाँका गाउँ तथा नगरहरू सफामात्र नभई विद्यमान ऊर्जाको संकट पनि विस्तारै न्यून हुँदै जाने कुरा नकार्न सकिँदैन ।

भू–बनोट, आर्थिक एवं प्राविधिक कारणले गर्दा सरकारले देशका सम्पूर्ण भू–भागमा विद्युत् सुविधा उपलब्ध गराउन नसकिने वर्तमान स्थिति छ । यस्तो स्थितिमा स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको परिचालनबाट सहज ढंगमा उत्पादन गर्न सकिने नवीकरणीय ऊर्जा प्रविधि बहुसंख्यक जनता गरिबीको रेखामुनी रहेका हाम्रा ग्रामीण क्षेत्रमा बढी फलदायी हुनसक्ने कुरा नकार्न सकिँदैन । नेपालको नवीकरणीय ऊर्जा विकासका लागि विगतमा विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूले सहयोग गर्दै आएका छन् ।

यसैगरी, केही दातृ संस्थाहरूले हाम्रो देशमा खास गरेर ग्रामीण क्षेत्रमा विद्यमान ऊर्जाको समस्यालाई क्रमिक रूपले न्यून गर्न नवीकरणीय ऊर्जाको विकासमा सहयोग जुटाउन निकै चासो देखाएका छन् । तर, यस्तो सहयोगको दुरुपयोग रोक्नु हाम्रो दायित्व हुनेछ । विश्वका केही विकसित राष्ट्रहरू नवीन ऊर्जाको स्रोतहरू परिचालन गर्न सक्षम भएता पनि विकासोन्मुख राष्ट्रहरूमा विभिन्न कठिनाइहरूले गर्दा ऊर्जाका लागि नयाँ प्रविधि विकास गरी तुरुन्त प्रयोगमा ल्याउन निकै गाह्रो छ । त्यसैले, यी देशहरूमा हालसम्म प्रचलनमा आएका ऊर्जाको खपत यथोचित परिपाटीबाट नियन्त्रण गर्न सके ऊर्जाको समस्या केही मात्रामा भए पनि कम हुने कुरा नकार्न सकिँदैन ।

आज विश्वका धेरैजसो मुलुकमा र खास गरेर विकासोन्मुख मुलुकहरूमा वनजंगल फाँडी नयाँ बस्ती बसाउने क्रम जारी छ । वास्तवमा यी देशहरूमा पुनर्वासको सुव्यवस्था गर्न सके यहाँका वनजंगलको विनाश न्यून भई दाउराबाट प्राप्त हुने ऊर्जा संचित हुने कुरामा दुईमत नहोला । यो बाहेक यी देशहरूमा भइराखेका रुखहरूको सुरक्षा गर्नुको साथसाथै वृक्षारोपण कार्यक्रमलाई ठोस कार्यमा परिणत गर्न सके विद्यमान ऊर्जाको संकट कम हुनेछ ।

कुनै पनि देशमा सर्वतोमुखी विकास भएका छ भने त्यहाँ जुनसुकै समस्या समाधान गर्न कठिन हुँदैन किनभने यस्तो अवस्थामा कुनै पनि समस्याको समाधान गर्न नयाँ ज्ञान तथा सीपको विकास हुन्छ । त्यसैले आजका विकासोन्मुख तथा अति कम विकशित देशहरूको सर्वांगिण विकासका लागि तन, मन र धन लगाउन आवश्यक छ । यसो गर्न सकेमा भविष्यमा यी देशहरू ऊर्जाको समस्या समाधान आफैँ गर्न सक्षम हुन सक्ने कुरा विवादरहित छ ।

प्रतिक्रिया