बाँके । बाँकेको चिसापानी नजिक बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोस्टबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक जना जुनियर प्रहरी अधिकृतलाई अख्तियारले घुस रकमसहित पक्राउ गरेको छ । नेपालगञ्जमा रहँदा सरकारी कर्मचारीलाई रंगेहात पक्राउ गर्न खटिने ती जुनियर प्रहरी अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले पक्राउ गरेको हो ।
अधिकारीले नियतवश यसअघि धेरै कर्मचारीलाई फसाएको भन्दै आरोप लाग्ने गरेको थियो । आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले आयोगको कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीलाई एक लाख रुपैयाँ घुस माग गरेको प्रमाणका आधारमा पक्राउ गरेको हो ।
अधिकारीले आयोगमा अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखी दिने भन्दै विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले बाँकेको चिसापानी नजिकैबाट पक्राउ गरेको जनाएको छ ।
आइतबार पक्राउ गरिएका अधिकारीलाई आइतबार साँझ नै विमानमार्फत राजधानी लगिएको छ । लामो समयसम्म अख्तियारको सम्पर्क कार्यालय कोहलपुरमा कार्यरत रहेका अधिकारी हाल सुर्खेत कार्यालयमा कार्यरत थिए । अधिकारीलाई आइतबार अबेर रातीसम्म नियन्त्रण लिएको बारे सूचना अख्तियारले गोप्य राखे पनि सोमबार विज्ञप्ति जारी गरी पक्राउ परेको पुष्टि गरेको छ ।
यसैबीच प्रदेश–५ ब्युरो प्रहरीको समूह र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीद्वारा कोहलपुरमा रहेको सिद्धार्थ बैंकको एटिएम फुटाएर लुट्न खोज्ने लुटेरा समूहलाई नियन्त्रणमा लिएको हो ।
लुटेराहरू सिसी क्यामराको फुटेजको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको हो । उनीहरूलाई प्रहरीको टोलीले आइतबार राती करिब ११ बजेको समयमा कोहलपुर बसपार्क नजिक रहेको फेसबुक कटेजबाट नियन्त्रणमा लिएको जनाइएको हो ।
उनीहरूका साथबाट हथौडा, चक्कुसमेत बरामद गरीएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्ला बस्ने कृष्ण खत्री, अनील सुनार र उनीहरूसँगै रहेकी एक युवती पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया