चार महिनादेखि भएन पढाइ

सल्यान । जिल्लाको एक माध्यमिक विद्यालयमा विगत चार महिनादेखि तीन विषयको अध्ययन अध्यापन नभएको पाइएको छ । जिल्लाको कुमाख गाउँपालिकामा रहेको बुद्घजनकल्याण माविमा विगत चार महिना यता विषयगत शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।

कात्तिक महिनादेखि यता कक्षा ९ र कक्षा १० को विज्ञान विषयको पढाइ ठप्प हुँदा पठनपाठनमा समस्या भएको कक्षा १० मा अध्ययनरत छात्र विनोद बुढाथोकीले बताए । चार महिना वितिसक्दा समेत शिक्षकको पदपूर्ति नहुँदा विज्ञान विषयको कोर्ष अधुरै रहेको उनले गुनासो गरेका छन् ।

यस्तै, ८ कक्षाको विज्ञान,गणित र पेसा व्यवसाय विषयको कोर्ष पनि चार महिनादेखि बन्द भएको कक्षा ८मा अध्ययनरत छात्र दीपक केसीले जानकारी दिएका छन् । विगत चार महिनादेखि शिक्षक सरुवा भएर गएको र कोही घर बिदामा गएका शिक्षक पनि नफर्किएपछि ति विषयको अध्यन गर्न समस्या भएको उनले गुनासो गरेका छन् ।

विद्यार्थीले गरे तालाबन्दी

विद्यार्थीको शिक्षाको अधिकार वञ्चित हुँदा समेत सरोकारवालाले ध्यान नदिंदा विद्यार्थीले आज सोमबार विद्यालयमा तालाबन्दी गरेका छन् । वार्षिक परीक्षा आउन केही महिना मात्रै बाँकी छँदासमेत विद्यालयमा विषयगत शिक्षकको विकल्प नगरेको भन्दै तालाबन्दी गर्नु परेको कक्षा ९ मा अध्यनरत छात्र युवराज खड्काले जानकारी दिएका छन्

‘हामीले विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति सँग पटकपटक पढाइ सञ्चालन गर्न शिक्षकको माग गर्यो तर अहिलेसम्म पनि सुनुवाइ भएन उनले भने, हामीले पढ्न पाउने अधिकारबाटै वन्चित हुनुपर्दासमेत कसैले वास्ता गरेन, त्यसैले बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नु परेको हो ।’

विद्यालयमा तत्काल शिक्षकको पदपूर्ति गर्नुपर्ने र नियमित सबै विषयको कक्षा सञ्चालन गर्ने लिखित सहमति नहुँदा सम्म तालाबन्दी नखोलिने लागायतका ९ बुँदे माग आफूहरूको रहेको खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया