‘मुक्तक सागर’ विमोचन

काठमाडौं । साहित्यकार नूरा बस्नेतले प्रकाशन गरेको ‘मुक्तक सागर’ त्रैमासिक साहित्यिक पत्रिकाको चलचित्रकर्मी चेतन कार्कीले लोर्कापण गरेका छन् । बस्नेतकी आमा निशा केसी सो पत्रिकाको प्रधानसम्पादक रहेकी छन् । ७० पृष्ठको उक्त पत्रिकाको पहिलो अङ्कमा ५० मुक्तक छापिएका छन् । नेपालको पहिलो मुक्तक पत्रिका दुबो भए पनि हाल सो मासिक साहित्यिक पत्रिकाको प्रकाशन बन्द भइसकेको छ । यसपछि बान्की, आरण, प्रयोग, अणिमा, मञ्जुषा, रुमाणी, मुक्तक मण्डपलगायतका पत्रिका नियमितरुपमा प्रकाशन हुन सकेका छैनन् ।

स्व भीमदर्शन रोक्का मुक्तक लेखनका पिता मानिन्छन् । ४० को दशकबाट नेपालमा मुक्तक लेखन कार्यअघि बढेको पाइन्छ । पहिले हवाइपत्रिका तथा नीला रङ्गका पोष्टकार्डमा मुक्तक प्रकाशन गरिन्थ्यो । अहिले फेसबुक र ट्वीटरमार्फत मुक्तक प्रकाशन प्रकाशन गर्ने चलन चलेको छ ।

कार्यक्रममा साहित्यकार राजन सिलवाल, प्रकाश गफाडी, विजयकुमारी केसी, रामकाजी कोनेलगायतले मुक्तक वाचन गरेका थिए भने स्व भीमदर्शनकी पत्नी मीना रोक्कालाई सम्मान गरिएको थियो । कार्यक्रममा चलचित्रकर्मी चेतन कार्की, गीतकार यादव खरेल, साहित्यकार डा विष्णुविभू घिमिरे, समालोचक लक्ष्मणप्रसाद गौतम, पत्रिकाका सम्पादक रमेश दाहाललगायतले मुक्तकका सम्बन्धमा धारणा राखेका थिए ।

प्रतिक्रिया