भगवान विष्णु बलात्कारी नै हुन् त ?

वृन्दाजस्ती असल महिलाको विष्णु भगवानले सतित्व हरण गरेको प्रसंग उल्लेख गरिएको छ । यस ढंगको सतित्व हरण भनेको बलात्कार हो । लोग्नेले गरेको खराब कामको बदलामा भगवान विष्णुले उसकी असल श्रीमीतलाई बलात्कार गरे होलान त ? निश्चय पनि गरेनन् । नेपाली भाषामा उल्था गर्नेहरूले यो घटनाको तात्विक अर्थ बुझेनन् । तात्विक तथा लाक्षणिक अर्थ नबुझी उल्था गरिएका यस्ता संगहरूलाई सच्याउँदै जानु उपयुक्त हुन्थ्यो 

नेपालमा सर्वाधिक बिक्री हुने धार्मिक पुस्तक हो, ‘श्रीस्वस्थानी व्रत कथा ।’ यो पुस्तक धेरै नेपालीका घरमा छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना श्री स्वस्थानीको व्रत बस्नेहरूको संख्या नेपालमा उल्लेख्य छ । व्रत नबस्नेहरूले पनि आफ्नो घरमा रहेको श्रीस्वस्थानी व्रत कथाको पुस्तक यो एक महिनाभरी हरेक दिन बाचन गर्ने प्रचलन छ ।

यस वर्षको श्रीस्वस्थानी व्रत यही पुस……. गतेदेखि आरम्भ भएको छ । यो एक महिना राजधानी काडमाडौं उपत्यकाको उत्तरमा रहेको साँखु क्षेत्रमा ठूलो मेला लाग्छ । श्रीस्वस्थानी व्रतकथामा उल्लेख गरिको लावण्य देश अहिलेको साँखु नगर रहेको जनविश्वास छ । श्रीस्वस्थानी व्रतकथामा वर्णन गरिएको शालीनदी पनि साँखु बजारको पूर्वतर्फ बहने खोला हो भन्ने जनविश्वास छ । उक्त खोलालाई अहिले पनि शाली नदी नै भनिन्छ । खोलाका किनारमा निकै पुराना मठ मन्दीरहरू पनि छन् ।

पछिल्लो समयमा श्रीस्वास्थानीका व्रतालुहरूको संख्या उल्लेख्य रूपमा थपिएको प्रमाण पुस्तक बिक्री मात्रै होइन, यो एक महिनासम्म साँखुमा लाग्ने मेला पनि अर्को प्रमाण हो । शिवरात्री तथा बाला चतुर्दशीमा पशुपतिनाथमा, माघे सङ्क्रान्तिमा देवघाटमा, माघे औंशीमा त्रिवेणीमा जस्तो भीडभाडका साथ मेला लाग्छ त्यस्तै भीडभाडका साथ यो एक महिना साँखु क्षेत्रमा मेला लाग्छ ।

श्रीस्वस्थानी व्रत नेपालको मौलिक परम्परा पनि हो । नेपालको जस्तै बैद्धिक सनातन धर्म संस्कृति अवलम्वन गर्ने विश्वका अन्य मुलुकमा श्रीस्वास्थानीलाई यतिधेरै महत्व दिएको पाइँदैन । नेपालीहरूले मात्रै श्रीस्वस्थानीलाई किन यतिधेरै महत्व दिए ? भन्ने विषय अनुसन्धानको एउटा पाटो हुनसक्छ । सांस्कृतिक अनुसन्धानदाताहरूका अनुसार नेपालमा देवताहरूलाई जस्तै देवीलाई पनि महत्वका साथ पुज्ने संस्कृति छ । श्रीस्वस्थानीमा महादेवको पूजा गरिन्छ । महादेवलाई सृष्टि गर्ने देवीका रूपमा श्रीस्वस्थानीलाई लिइन्छ । अर्थात श्रीस्वस्थानी भनेकी सृष्टिकी देवि हुन् भन्ने जनविश्वास नेपालमा छ ।

हरेक धर्म सम्प्रदायका मुख्यतः दुईवटा मार्ग छन् । भक्ति मार्ग र ज्ञान मार्ग । श्रीस्वस्थानीको व्रत तथा पूजा आराधना शक्ति मार्गसँग सम्बन्धित छ भने कथा श्रवण ज्ञानमार्गसँग संवन्धित छ । ज्ञान मार्गले कर्ममार्ग तथा प्रेम मार्ग पनि सिकाउँछ । श्री स्वस्थानीको पुस्तकले पनि प्रेम मार्ग र कर्ममार्गमा प्रेरित गर्छ । तर, भाग्यवादको चर्चा पनि प्रशस्त गरिएको छ । वास्तवमा भाग्यवाद भनेको कर्ममार्गका लागि तगारो हो । श्रीस्वस्थानीको व्रतकथामा भाग्यवादलाई बढी नै स्थान दिएका कारण कर्ममार्गको ज्ञान धेरैहदसम्म ओझेलमा परेको देखिन्छ ।

उदाहरणका लागि कुनै प्रयत्न विना एक जना गरिब ब्राह्मणका छोरा राजा बनेको वर्णन गरिएको छ । ७० वर्षको वृद्धासँग ७ वर्षकी बालिकाको विवाह हुनु र उनले सानै उमेरमा पति गुमाउनुलाई पनि भाग्यको खेलका रूपमा व्याख्या गरिएको छ । भाग्यमा जे लेखेको छ त्यही हुन्छ भन्ने विश्वास बढ्नु भनेको कर्म गर्न तर्फ ध्यान कम जानु हो । साथै भक्ति मार्गले नै सबै कुरा प्राप्त हुन्छ भन्ने चर्चा तथा उदाहरण पनि पुस्तकमा धेरै नै उल्लेख गरिएको छ ।

श्रीस्वस्थानीको व्रत बस्दा सबै कुरा पुरा हुने कुराले मान्छेलाई अन्धविश्वासतिर डो¥याउन सक्छ । त्यही अन्धविश्वासलाई भजाएर ठगहरूले आफ्नो धन्दा अघि बढाउने संभावना रहन्छ । उदाहरणका लागि श्रीस्वास्थानीको व्रत गर्दा लाटोले बोल्न सक्छ, लंगडो हिँड्न सक्छ भन्ने उल्लेख गरिएको छ । यस्तै अन्धविश्वसलाई टेक्दै इसाईहरूले पनि बाइबलको पूजा गर्दा लाटो बोल्न सक्छ, अन्धोले देख्न सक्छ, लंगडोले हिँड्न सक्छ भन्ने प्रचार गर्दै सिधासाधा नेपालीलाई धर्म परिवर्तनतर्फ अग्रसर गराइरहेका छन् ।

श्रीस्वस्थानी व्रत कथामा दुईवटा प्रसंग छन् । सुरुवाती प्रसंग स्कन्ध पुराणको केदारखण्डबाट साभार गरिएको छ भने अन्तिमतिरको प्रसंगमा मौलिक कथा उल्लेख गरिएको छ । शिव भट्ट तथा गोमालाई पात्र बनाएर कथा अघि बढाइएको छ । कथा भनेको कथा नै हो । सथ्य , तथ्य र कथ्य गरी तीन प्रकरणका किंवदन्ती समाजमा प्रचलित हुन्छन् । जुनकुरा सत्यता र तथ्यता हुँदैन त्यसलाई कथ्य भनिन्छ । कथा भनेको कथ्य हो ।

त्यसैले कथालाई सत्यता र तथ्यताको तराजुमा राखेर सही वा गलत भन्दै विश्लेषण गर्नु भनेको समय बर्बाद गर्नु मात्रै हो । श्रीस्वस्थानीको पछिल्लो खण्डको कथा दन्त्य कथाजस्तै हो । यस्तो दन्त्य कथालाई श्रीस्वस्थानीको पुस्तकमा त्यतिवेला किन समावेश गरियो होला ? प्रश्न पनि नउठ्ने होइनन् । यसो गरिनु ठीक कि बेठीक ? भन्ने बहस पनि हुने गरेका छन् । खास गरी यो कथाले महिला मागि विभेद गरेको प्रसंग पनि केही महिलावादीहरूले उठाउने गरेका छन् ।

यो पुस्तक लेखिँदाको समाजलाई कल्पना गरेर धारणा बनाउनुपर्ने हुन्छ । उदाहरणका लागि केटाकेटीलाई खुवाउने औषधि गुलियो झोलमा मिसाइएको हुन्छ । तर वयस्कलाई खुवाउने आषधि गुलियो झोलमा मिसाउनुपर्ने आवश्यकता पर्दैन । जुन वर्गलाई लक्षित गरेर श्रीस्वस्थानी लेखिएको हो त्यो वर्गका लागि रुचिकर बनाउनु पनि यस्ता दन्त्य कथा उल्लेख गरिएको हुनुपर्छ । ता कि सामान्य गृहणीहरूलाई पनि पढ्न र सुन्न रुचि लागोस् ।

पुस्तकको प्रारम्भमा उल्लेख गरिएका प्रसंगहरू निकै गहन छन् । पृथ्वीको उत्पत्तिको वर्णन गरिएको छ । पृथ्वीमा रहेका सात समन्द्र तथा सात महाद्वीपको उल्लेख गरिएको छ । कहाँ कहाँ कसकसले राज्य गरेका छन् ? त्यसको पनि उल्लेख गरिएको छ । यसरी उल्लेख गरिनुलाई सामान्य रूपमा लिन मिल्दैन । किनकी केही सय वर्ष अगाडि इन्डिया भन्ने देश धेरै धनी छ भन्ने सुनेकै आधारमा कोलम्बस पानी जहाज लिएर निस्के । धेरै महिनाको यात्रा पनि उनी अमेरिका पुगे ।

अमेरिकालाई कोलम्बसले पत्ता लगाएको नयाँ मुलुक भनिन्छ । तर, स्कन्ध पुराण लेख्नेहरूले पृथ्वीमा रहेका सात महादीप, सात समुन्द्र तथा राज्यहरूको बारेमा थाह पाइसकेका रहेछन् । कोलम्बस जन्मुनुभन्दा हज्जारौँ वर्षअघि लेखिएको हो स्कन्ध पुराण । यसैगरी, पृथ्वी रहेको सौर्यमण्डलबाहेक पनि आधादर्जन भन्दा बढी सौर्य मण्डल छन् भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएको धेरै समय भएको छैन । तर स्कन्ध पुराण लेख्नेहरूले त्यतिवेला नै यो कुरा पत्ता लगाइसकेका रहेछन् । स्कन्ध पुराणमा लोक भनेर उल्लेख गरिएको र अहिले वैज्ञानिकहरूले सौर्यमण्डल भनेर दिएको पहिचानको तात्पर्य एउटै हो । यति ठूलो ज्ञान श्रीस्वस्थानी व्रतकथामा उल्लेख छ ।

यसैगरी, देवता र दानवको युद्धमा देवताले जितेको प्रसंग उल्ेख हुनु भनेको सत्यको सँधै जित हुन्छ भन्ने शिक्षा दिनु हो । महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्नु भनेको प्रेमको प्रतिक हो । पतीवत्नी बीचको प्रेम कस्तो हुनुपर्छ भनेर दिइएको सन्देश हो यो । आत्मा सम्मानमा ठोस पुग्यो भने मान्छेले के सम्मगर्न सक्छ ? भन्ने उदाहरणका रूपमा सतीदेवी अग्निकुण्डमा हाम फालेको प्रसंग उल्लेख गरिएको छ ।

संस्कृत भाषाको ग्रन्थलाई सुरुमा नेवारी भाषामा र पछि नेपाली भाषामा उल्लेख गरिएका कारण पनि हुनसक्छ कतिपय प्रसंगहरूको पुष्टि हुन सकेको देखिँदैन । उदाहरणका लागि वृन्दा जस्ती असल महिलाको विष्णु भगवानले सतित्व हरण गरेको प्रसंग उल्लेख गरिएको छ । यस ढंगको सतित्व हरण भनेको बलात्कार हो । लोग्नेले गरेको खराब कामको बदलामा भगवान विष्णुले उसकी असल श्रीमतीलाई बलात्कार गरे होलान् त ? निश्चय पनि गरेनन् । नेपाली भाषामा उल्था गर्नेहरूले यो घटनाको तात्विक अर्थ बुझेनन् । तात्विक तथा लाक्षणिक अर्थ नबुझी उल्था गरिएका यस्ता प्रसंगहरूलाई सच्याउँदै जानु उपयुक्त हुन्थ्यो ।

प्रतिक्रिया