आगलागीबाट १४ लाखको क्षति

इलाम । आइतबार बिहान इलाम सदरमुकामको एक घरमा आगलागी हुँदा करिब १४ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बिहान करिब साढे ६ बजे इलाम नगरपालिका–७ सुन्तलाबारीका मनबहादुर गुरुङको एक तला पक्का र तलामाथि टिनको बेरा र छाना भएको दुई तले घरमा आगलागि भएको हो । गुरुङको घरुमा डेरा गरी बसेका विष्णुमाया लिम्बूको भान्छा कोठाबाट भएको आगलागीबाट घरको माथिल्लो तला पूर्णरूपले क्षतिग्रस्त भएको छ ।

आगलागिबाट नगद १० लाखसहित सुन, चाँदी, भाँडावर्तन, लताकपडा र अन्नपात गरी करिब १४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । लिम्बूको भान्छा कोठाबाट ग्यासको सिलिन्डर पड्केर आगलागी सुरु भएको प्रहरीले जनाएको छ । करिब एक घण्टापछि स्थानीयवासी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

चुम्लुङ र फासिङद्वारा राहत वितरण

किरात याक्थुङ चुम्लुङ इलाम र याक्थुङ फासिङ सजुम इलामले आगलागीपीडित लिम्बूको परिवारलाई प्रारम्भिक राहत वितरण गरेको छ ।
पीडितलाई ग्यासको सिलिन्डर, ग्यास चुल्हो, प्रेसरकुकर, भाँडावर्तन लगायत ११ हजार ६ सय रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको हो । चुम्लुङ र फासिङले घटनास्थलमा नै पुगेर पीडित लिम्बू परिवारलाई राहत वितरण गरेको थियो ।

प्रतिक्रिया