फोहोरबाट टिप्दै खाने शंकरप्रसाद

काठमाडौं । झुम्म दारीजुँगा, गुजुल्टिएको कपाल, थोत्रो ज्याकेटमाथि मैलो ब्ल्यांकेट ओढेका ती व्यक्तिको साथमा बोराभित्र राखिएको थोत्रा कपडा थियो । छेउमा दुई वटा माटाका आरीमा खाएर छाडेको एकमुठी भात छोपेर राखिएको थियो ।

झोलामा पानीका बोतलसहित एउटा स्याउ, नुनको पोको, गेडागुडी, लसुन, मकै लगायतका खानेकुरा थियो । अर्काे झोलामा फोहरबाट संकलन गरिएको खानेकुरा नजिकै बोराभित्र कतै फ्याँकिएको अवस्थाबाट टिपेर जोहो गरेको फम (म्याट), केही बाँसका दाउरा र पानी पर्दा छेकोका लागि एउटा थोत्रो छाता थियो ।

काठमाडौंको बबरमहल अगाडिको यात्रु प्रतिक्षालय छेउमा आइतबार अपराह्न तीन बजे यस्तो अवस्थामा थिऐ शंकरप्रसाद । उनी फोहरबाट टिपेको खाना खाने तर्खरमा थिए । अर्काे खाना ल्याइदिने भन्दाभन्दै पनि उनले नुनमा मोलेर खाना खाए ।

यस्तैमा दैनिकी गुजार्दै आएका उनको नेपाल पत्रकार महासंघको लेखा समिति संयोजक रोशन पुरीको पहलमा आइतबार मानवसेवा आश्रमले उद्धार गरेको छ । पुरीका अनुसार भारत घर बताउने शंकरप्रसाद सडकमै खाने र सडकमै सुत्दै आएको करिब दुइ महिना भयो ।

थाहासञ्चार नेटवर्कका समाचार प्रमुखसमेत रहेका पुरीले कार्यालय आउँदाजाँदा उनलाई देखेर मन खिन्न हुने गरेकाले उद्धारको पहल गरेको बताए । ‘बाटोमा आउँदाजाँदा सधैँ विजोग अवस्था देखिन्थ्यो, त्यसैले मन मानेन, आज आश्रमले उद्धार ग¥यो पूण्य काम भएको महसुस भएको छ,’ पुरीले शंकरप्रसाद उद्धारको अनुभव सुनाए ।

चार दिनअघि उनले खबर गरेपछि मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र काठमाडौं संयोजक सुमन बर्ताैलाले उनलाई केही दिनदेखि उद्धारको प्रयास गरेका थिए । वेलावेलामा खानेकुरा खोज्न जाने गरेकाले निकै पछ्याउँदासमेत फेला नपरेका शंकरप्रसादलाई आइतबार अपराह्न भेटिएपछि उद्धार गरेर मानवसेवा आश्रम गोंगबु लगिएको छ । फोहरबाट खानेकुरा नपाउँदा उनले मकलमा भात पकाएर खाने गरेका थिए ।

नेपाली भाषा नबुझ्ने उनले हिन्दीमा बताएअनुसार भारतबाट घुम्न पशुपति आएका वेला साथीसँग छुटेपछि पैसा नभएर स्वदेश फर्कन सकेनन् । विकल्पमा उनको वास सडकमा हुनपुग्यो । ‘पैसा दिनुस्, म घर जान्छु’, कुराकानीका क्रममा उनले भने ।

इलेक्ट्रिकल्सको काम जानेका शंकरप्रसादले कसैले काम गर्न दिए कामसमेत गर्ने बताए । घर जान इच्छुक भए पनि पैसा नभएको उनले दुःखेसो पोखे । ‘अघिल्लो महिनासम्म राम्रै मान्छेजस्तो देखिनुहुन्थ्यो, दिनदिनै उहाँको अवस्था नाजुक बन्दै गयो,’ पत्रकार पुरीले भने ।
सडकका असहाय, असक्त, मनोरोगी तथा मागेरसमेत खान नसक्नेहरूको उद्धार गर्दै आएको मानवसेवा आश्रमले उनीसँगै आइतबार मात्रै काठमाडौंका विभिन्न क्षेत्रबाट पाँच जनालाई उद्धार गरेको काठमाडौंका संयोजक सुमन बर्तौलाले जानकारी दिए ।

बर्ताैलाले भने, ‘उहाँलाई अब सरसफाइ गरेर, चिकित्सकीय सेवासँगै, मनोविमर्श सेवासमेत दिन्छौँ, अनि पारिवारिक वातावरणमा घुलमिल भएपछि आफ्नो ठाउँ ठेगाना बताउँदै जानुहुन्छ, त्यसपछि परिवार फेला पारेमा भारतमै पुगेर पनि परिवारमा पुनर्मिलन गराउने प्रयास गर्छौं ।’ परिवार फेला नपरेसम्म आश्रमले नै संरक्षण गर्ने उनले बताए । यसअघि पनि भारतका धेरैलाई यसैगरी सडकबाट उद्धार गरी परिवार पत्ता लगाएर पुनर्मिलन गराएको आश्रमले जनाएको छ ।

अहिले काठमाडौंको दुई आश्रममा मात्रै ९० जना सहयोगापेक्षीलाई उद्धार गरेर संरक्षण गरिएको उनले बताए । देशका १२ जिल्लामा १४ शाखामार्फत सेवा दिँदै आएको आश्रमले अहिलेसम्म १ हजार ७ सयको उद्धार गरेकामा पाँच सयभन्दा बढीलाई परिवारमा पुनर्मिलन गराइसकिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

प्रतिक्रिया