औषधि पसलमा अनुमगन

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको अनुगमन टोलीले बिहीबार नेपालगञ्जका औषधि पसलहरूमा अनुगमन गरी एउटा मेडिकलमा तालाबन्दी गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको संयोजकत्वमा जिल्लाका सरोकारवाला निकाय सम्मिलित उपभोक्ता हक हित सरंक्षण समिति अन्तर्गतको बजार अनुगमन टोलीले नेपालगञ्ज मेडिकल कलेज वरपरका तीन वटा औषधि पसलमा अनुगमन गरेको हो ।

रामलिला मेडिकल हल, सिटी फार्मेसी र सिद्धिविनायक फर्मास्युटिकल्स प्रालि फर्मा डिभिजनमा अनुगमन गरिएको हो । अनुगमनपश्चात अनुगमन टोलीले मेडिकलहरूलाई नियम संगत काम गर्न निर्देशनसमेत दिएको अनुगमनमा सहभागी उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पौडेलले जानकारी दिए ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका प्रमुख निनु श्रेष्ठका अनुसार रामलीला मेडिकलमा अभिलेख राख्ने तरिका नियमअनुसार नमिलेकाले त्यसलाई एक दिनभित्रमा मिलाएर पेस गर्न निर्देशन दिइएको छ ।  त्यस्तै सिटी फार्मेसीमा सञ्चालक नभेटिएको र कमर्स पढेका व्यक्ति मेडिकलमा बसेकाले मेडिकल सञ्चालक स्वयं औषधि व्यवस्था विभागको नेपालगञ्ज कार्यालयमा उपस्थित नहुँदा सम्मका लागि मेडिकल बन्द गराइएको श्रेष्ठले जानकारी दिए ।

सिद्धिविनायक औषधिको थोक विक्रेता भएकाले औाषधिको गुणस्तर जाँचका लागि दुई वटा औषधि नमुनाको रूपमा लिइएको र त्यसलाई औषधि व्यवस्था विभाग केन्द्रीय कार्यालयमा पठाइने श्रेष्ठले बताए । अनुगमन टोलीमा उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पौडेल, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा लक्ष्मीप्रसाद शर्मा, औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका प्रमुख श्रेष्ठ, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरीक्षक गणेश विष्टलगायत रहेका थिए ।

प्रतिक्रिया