विद्यार्थीका हातमा बिउ र औजार 

सुशील सुबेदी, स्याङजा । विद्यालयमा पुस्तकमा लेखिएको ज्ञान मात्रै पढ्नु पर्छ भन्ने छैन । सैद्धान्तिक ज्ञानको सर्टिफिकेटले उत्पादनशील युवाशक्तिलाई वैदेशिक मोहमा फसाएको प्रशस्त उदाहरण हाम्रो समाजमा छ । अंग्रेजी राम्रै जान्ने युवाशक्तिलाई युरोप अमेरिकाको नशा छ भने, सामान्य पढेका युवाशक्ती खाडीमा पसिना बगाउन परेको हाम्रो यही समाजको ज्वलन्त उदाहरण हो ।

तर, विद्यालय जीवनमा पसिनाको महत्व बुझाउन नसकिएको र उनीहरूलाई प्रयोगात्मक एवं जीवनउपयोगी शिक्षा आवश्यक रहेको कारण विभिन्न स्थानीय तहले शैक्षिक सुधारमा नमुनायोग्य कार्यक्रम ल्याउन थालेका छन् ।  शैक्षिक क्षेत्रमा सुधार ल्याउन पुतलीबजार नगरपालिकाले सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक र जीवनउपयोगी शिक्षालाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले विद्यार्थी करेसाबारी कार्यक्रमअन्तर्गत करेसाबारी व्यवस्थापन तालिममार्फत कक्षा ६, ७ र ८ का विद्यार्थीलाई कृषि औजार, बिउवीजन तथा प्राविधिक तालिम प्रदान गरेको छ ।

अब विद्यार्थीका हातहातमा सैद्धान्तिक ज्ञानको पुस्तक मात्र नभई ज्ञान सिक्न कृषि औजार बोक्न थालेपछि अभिभावकसमेत खुसी भएका छन् । यस अभियानमा विद्यार्थी मात्र होइन, सबै विद्यार्थीका अभिभावकसमेत तालिममा सहभागी भएका थिए ।   शिक्षा शाखाको कार्यक्रमअन्तर्गत एक लाखको लगानीमा सरस्वती र रामकोष माध्यमिक विद्यालयमा अध्यानरत कक्षा ६, ७ र ८ का ७१ विद्यार्थी तथा अभिभावकलाई प्राविधिक शिक्षामा लाग्न बिउवीजन र सामग्री वितरण गर्दै तालिम सञ्चालन गरिएको हो ।

अब सबैका घरघरमा, करेसाबारीमा तथा खाली ठाउँमा तरकारी तथा फलफूल उब्जाउन प्रेरित गर्ने नगरप्रमुख सिमाकुमारी क्षेत्रीले बताइन् ।
उनले भनिन्, ‘जमिन खाली नराख्नुस्, थोरै जमिनमा धेरै उत्पादन गर्ने प्रविधि र शिक्षा सिक्नुहोस् । उत्पादन भएका बस्तु नगरपालिकाले खरिद गर्छ । तपाईंहरूको शैक्षिक खर्च आपैmँले कमाएर जुटाउनुहोस् ।’

व्यावहारिक ज्ञानले सधैँभर जीविकोपार्जनका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर मल्लले बताए । यस्तै अभियान शैक्षिक क्षेत्रमा आउनसके स्कुले जीवनबाट नै उत्पादन, पसिना र व्यावसायिकतामा ज्ञान सहितको दक्ष जनशक्ति उत्पादन हुने थियो ।

प्रतिक्रिया