दूधमा आत्मनिर्भर हुन गाईलाई भत्ता

ताप्लेजुङ । मान्छे मात्रै नभएर स्थानीय सरकारले पशुचौपायका लागि पनि भत्ताको व्यवस्था गर्न थालेको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यस्तो अभ्यास सुरु गरेको हो ।

सात वटा रहेको सिदिङ्वाले गाईलाई भत्ताको व्यवस्था गरेको छ । भारतसँग सिमाना जोडिएको यो गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन उद्देश्यले यो योजना लागू गरेको हो । योजनाअन्तर्गत गाई प्रसूति हुने बित्तिकै किसानले १५ हजार र दिगो स्याहारका लागि घाँस लगाउन पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो योजनामार्फत पहिलो चरणमा यस आर्थिक वर्षमा पहिलो चरणमा एक वडा बराबर १५ जनालाई सो रकम प्रदान गरिएको छ । साविकका सादेवा, आंखोप, साब्लाखु, लिम्बुदिन, मेहेले गाविसमा गरी ७५ कृषकलाई अनुदान प्रदान गरेको हो । कालीखोला र सुरुङखिममा भने गोठ सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले बताए ।

किसानले यो सुविधा लिनको लागि भने सात लिटर दूध तथा दुईओटा गाई अथवा भैँसी पाल्नै पर्ने हुन्छ । ‘यो सुविधा लिनका लागि कृषकले दुई ओटा दुहुना र दैनिक सात लिटर दूध उत्पादन गरिरहेको हुनुपर्छ,’ गाउँपालिका अध्यक्ष कडरियाले भने, ‘हामीले पहिलो चरणमा एउटा वडा बराबर १५ जना कृषकलाई यो रकम वितरण गरेका छौँ । अब दोस्रो चरणमा भने फागुनमा वितरण गर्ने तयारी गरेका छौँ ।’

सुत्केरीमा राम्रो स्याहार गरे सात लिटर दूध स्वभावैले पुग्ने भएकाले यस्तो मापदण्ड निर्धारण गरिएको गाउँपालिका अध्यक्ष कडरियाले जानकारी दिए । उत्पादित दूध धेरै भए गाउँपालिकाले डेरी खोल्ने र बाहिर निर्यात गर्ने योजनासम्म बनाएको छ । यो कार्यक्रमबाट चालु आवमा सय परिवारलाई समेट्न सकिने गाउँपालिकाको योजना छ ।

गाउँपालिका अध्यक्ष कडरियाले आगामी वर्ष पनि यस्तो कार्यक्रमलाई थप गर्ने योजना रहेको वताए । यस आवको लागि गाउँपालिकाले १० लाख रुपैयाँ छुट्याएको छ । ‘हामी आगामी वर्ष पनि यसलाई निरन्तरता दिने तयारीमा छौँ । हेरौँ यस वर्षको उपलव्धि कस्तो हुन्छ,’ गाउँपालिका अध्यक्ष कडरियाले भने ।

उता कालीखोला र सुरुङखिममा भने गोठ सुधारमा तीन लाख रुपैयाँ दिइएको छ । आगामी आर्थिक वर्षदेखि गोठ सुधार गर्ने, उन्नत जातका गाई ल्याउने, दूध संकलन केन्द्र स्थापना गर्नेजस्ता योजना सञ्चालन गर्ने गाउँपालिकाले बताएको छ । भारतसँग सिमाना जोडिएको यो गाउँपालिकामा साविकका कालीखोला, सादेवा, सुरुमखिम, मेहेले, आङखोप, लिम्वुदिन र साब्लाखु गाविस मिलाइएको छ । प्रत्येक गाविसलाई वडा बनाइएको छ ।

पशुपालनका हिसाबले यी सबै वडा हावापानी अनुकूल भएको स्थानीय बताउँछन् । सबै वडा सडक सञ्जालले जोडिन लागेकाले यहाँको दूध पाँचथरको थर्पु पु¥याएर डेरीमा बिक्री गर्न सकिने स्थानीय राजकुमार लिम्बूले बताए । सवारी साधनमा आधा घण्टामा थर्पु पुगिन्छ । कालीखोला, सादेवा र सुरुमखिममा अहिले पनि गाईगोठ छन् ।

प्रतिक्रिया