अमेठीको विकल्प खोज्दै राहुल !

मुम्बई । यो वर्ष हुन लागेको भारतको लोकसभा निर्वाचनमा विपक्षी पार्टी कांग्रेसले आफ्नो तयारी तीव्र बनाएको छ ।

तयारीको तीव्रतासँगै पार्टीका अध्यक्ष राहुल गान्धी तीन स्थानबाट चुनाव लड्ने चर्चा पनि चुलिएको छ । महाराष्ट्रका पूर्व मुख्यमन्त्री अशोक चौहाणले गृहनगर नादेन्डका साथै अर्को सुरक्षित स्थान मध्यप्रदेशको कुनै क्षेत्रबाट चुनाव लड्ने सम्भावना रहेको बताइएको छ ।

राहुलले पनि नादेन्डबाट चुनाव लड्न सक्ने अड्कलबाजीलाई चौहाणको बयानले थप पुष्टि गरिदिएको छ । टाइम्स अफ इन्डियासँग कुरा गर्दै चौहाणले भने, ‘राहुल कांग्रेसका अध्यक्ष छन् । उनी कुनै पनि लोकसभाको सिटबाट सफलतापूर्वक चुनाव लड्न सक्छन् । उनी नादेन्डबाट निर्वाचनमा उम्मेदवार बने भने म उनको स्वागत गर्छु ।’

सन् २०१४ को लोकसभा निर्वाचनमा चौहाणले नादेन्डबाट जितेका थिए । एक महिनाअघि पार्टीका वरिष्ठ पदाधिकारीहरूको बैठकमा कार्यकर्ताहरूले यही वर्ष हुने विधानसभा निर्वाचनमा ध्यान केन्द्रित गर्न चौहाणसँग अनुरोध गरेका थिए । चौहाण मुख्यमन्त्री पदको दाबेदार हुन् ।

राहुलले सन् २००४ मा राजनीतिमा प्रवेश गरेका हुन् । उनी तीन पटक लगातार उत्तर प्रदेशको अमेठीबाट लोकसभामा सांसद निर्वाचित भएका छन् । २००४ मा पहिलोपटक चुनाव जितेका उनी २००९ पनि सफल भए । २०१४ मा नरेन्द्र मोदीको लहर चलेका बखत त्यस क्षेत्रबाट भारतीय जनता पार्टीले स्मृति इरानीलाई उम्मेदवार बनाएको थियो ।

तर, राहुलले एक लाखभन्दा बढी भोटले चुनाव जिते । भारतीय राजनीतिक मञ्चमा यतिखेर अमेठीबाट उनै इरानी उम्मेदवार बन्दैछिन् र राहुललाई कडा टक्कर दिने अभियानमा छिन् भन्ने चर्चा चुलिएको छ ।

प्रतिक्रिया