अन्तरिक्षमा रावोट पठाउँदै भारत

नयाँदिल्ली । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले केही अरू मुलुकले जस्तो अन्तरिक्षमा परीक्षणका लागि जनावर नभइ रोबोट पठाउने जनाएको छ । सन् २०२१ को अन्त्यसम्म मानवलाई अन्तरिक्षमा पठाउने भारतको योजना छ ।

त्यसअघि परीक्षणका लागि उसले जनावरको सट्टा मानव रोबोट पठाउन खोजिरहेको छ । इसरोका प्रमुख के शिवनले बीबीसीलाई भने, ‘अन्तरिक्षमा हुने जटिल परीक्षणमा कमजोर प्राणीको प्रयोग गर्ने हाम्रो कुनै योजना छैन ।’

गगनयान अभियानअन्तर्गत भारतीयलाई अन्तरिक्षमा पठाउने योजनामाथि काम भइरहेको भारत सरकार र इसरोले स्पष्ट पारिसकेका छन् । अमेरिका, रुस र चीन जस्ता देशले अन्तरिक्षमा मानव पठाउनुअघि जनावरलाई पठाएर परीक्षण गरिसकेको पृष्ठभूमिमा भारतले चाहिँ तिनीहरूको अनुसरण किन गर्न नचाहेको होला ?

जवाफमा इसरो प्रमुख के शिवनले भने, ‘भारतले सही कदम चालिरहेको छ । अमेरिका र रुसले जनावर पठाएका बेला अहिलेका अत्याधुनिक प्रविधि थिएनन् ।’ ‘त्यतिबेला मानव रोबोटको पनि विकास भइसकेको थिएन, जसकारण ती मुलुकले परीक्षणका लागि अन्तरिक्षमा जनावर पठाए । तर अहिले त्यस्तो अवस्था छैन ।’

भारतको गगनयान अभियान शुरू हुनुअघि इसरोले दुईवटा परीक्षण गर्नुपर्नेछ । तर जानकारहरूका अनुसार भारतीय प्रयोग खतरनाक पनि हुनसक्छ किनकि जीवित प्राणी र रोबोट समान हुन सक्दैनन् ।

विज्ञान मामिलाका एकजना जानकार पल्लव बागलाका अनुसार यदि गगनगान अभियान अन्तर्गत इसरोले सिधै मानवलाई अन्तरिक्षमा पठाउन चाहयो भने त्यसअघिकै दुईवटा उडानका लागि उसलाई ‘लाइफ–सपोर्ट सिस्टम’ को आवश्यकता पर्नेछ ।

इसरोका अनुसार गगनयान अभियानका लागि आवश्यक तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ र यो वर्षको अन्त्यसम्म अन्तरिक्षयात्री चयन गरिसकिनेछ ।

सरकारी आँकडाका अनुसार भारतको यो महत्त्वाकाङ्क्षी अभियानमा १० हजार करोड भारु खर्च हुनेछ । सन् २०१८ मा भारतीय स्वतन्त्रता दिवसका अवसरमा दिल्लीस्थित लालकिलामा दिएको भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदी सो अभियानको घोषणा गरेका थिए ।

विज्ञान तथा प्रविधि मन्त्रालयका केही उच्च अधिकारीहरूका अनुसार सो अभियानमा कुनै प्रकारको अड्चन नआओस् भनेर इसरो र मन्त्रालय दुवैमाथि ठूलो दबाब छ ।

इसरो प्रमुख के शिवन भन्छन्, ‘पहिलो मानवरहित यान सन् २०२० को डिसेम्बरसम्म र दोस्रो सन् २०२१ को जुलाइसम्म पठाउने योजना छ । मानवसहितको पहिलो भारतीय अन्तरिक्षयान चाहिँ सन् २०२१ को डिसेम्बरसम्ममा पठाउनेछाैँ।’

यो अभियान सफल भएमा अन्तरिक्षमा मानव पठाउने भारत विश्वको चौथो मुलुक बन्नेछ । सबैभन्दा पहिला तत्कालीन सोभियत संघले र त्यसपछि अमेरिकाले मानवसहितको अन्तरिक्षयान पठाएका थिए ।

ती दुई देशले अन्तरिक्षमा मानव पठाउनुअघि परीक्षणका लागि जनावर पठाएका थिए र त्यो सफल भएपछि मात्रै मान्छे पठाए । पल्लव बागलाका अनुसार अधिकांश मुलुकहरू अन्तरिक्ष अभियानलाई गोप्य राख्ने गर्छन् ।

प्रतिक्रिया