‘स्मार्ट’ चालक अनुमतिपत्रमा अस्पष्टता

ललितपुर । परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुवै नबुझिने रहेछ र उनी अनुमतिपत्र नलिई फर्किए । दुई पटकसम्म चालक अनुमतिपत्र लिन एकान्तकुना पुग्दा उनलाई चालक अनुमतिपत्र छापिन नै बाँकी रहेको त्यहाँ कार्यरत कर्मचारीले बताएका थिए ।

तेस्रो पटकमा पाएको चालक अनुमपितपत्र पनि अस्पष्ट भएपछि उनी निराश बनेका छन् । समीरजस्तै धेरै सेवाग्राहीको फोटो धमिलो वा नबुझ्ने भएकाले उनीहरू रित्तै हात फर्किरहेका छन्् । कतिपय सेवाग्राहीको नाम केरिएर प्रष्ट बुझिने छैन । यातायात व्यवस्था कार्यालय, प्रदेश–३ कार्यालयमा आएका धेरै अनुमतिपत्रमा यस्ता समस्या देखिरहेको हो । पछिल्लो एक महिनामा फोटो हेरेर व्यक्ति चिन्न नसकिने खालको चालक अनुमतिपत्र आइरहेको कार्यालयमा प्रमुख चेतप्रसाद उपे्रतीले बताए ।

फोटो प्रष्ट नबुझिने खालको अनुमतिपत्र सेवाग्राहीलाई दिँदा पनि त्यसले थप समस्या निम्ताउने भन्दै कार्यालयले अनुमतिपत्र नै नदिएको हो । उनले भने, ‘अनुमतिपत्रमा भएका विवरण र फोटो नै बुुझिने नभएपछि त्यसलाई दिनुको कुनै अर्थ हुँदैन ।’ कार्यालयबाट परीक्षा पास गरेका झण्डै तीन लाख सेवाग्राहीले स्मार्ट चालक अनुमतिपत्र पाइसकेका छैनन् । परीक्षा पास गरेर राजस्व तिरेको १३÷१४ महीना बित्दासमेत यातायात व्यवस्था विभागबाट छापिएर नआउँदा सेवाग्राहीले अनुमतिपत्र नपाएका हुन् । एकातिर छापिन नै एक वर्ष बढी लाग्ने र ढिलो आउँदा पनि विभिन्न समस्या देखिँदा सेवाग्राही कार्यालयमा आएर कार्यरत कर्मचारीसँग रिसाउँछन्् । उनले भने, ‘दैनिक अरु कामसँगै यहाँ आएका सेवाग्राहीलाई सम्झाएर पठाउनु पनि हाम्रो काम भएको छ ।’

कार्यालयबाट सेवा सुरु भएदेखि अहिलेसम्म झण्डै सात लाखले ‘स्मार्ट अनुमतिपत्र’ का लागि राजस्व तिरिसकेका छन्् । तीमध्ये चार लाख १० हजारसम्मको वितरण भइसकेको छ । क्रम संख्या तीन लाख ९०÷९१ हजारमा पर्ने कतिपय सेवाग्राहीले समेत पाएका छैनन् । यातायात व्यवस्था कार्यालय सेवाग्राहीको भीड हुने कार्यालयमा पर्छ । त्यसमा पनि समयमा सेवा दिन नसकेपछि सेवाग्राहीको भीडभाड सधैँ कार्यालयमा हुने गरेको छ । एकातिर परीक्षाका लागि आउने सेवाग्राही, राजस्व तिर्न वा नवीकरणका लागि आउने सेवाग्राही र अर्का्तिर राजस्व तिरेको लामो समयसम्म पनि अनुमतिपत्र नपाउँदा सेवाग्राही पटक÷पटक आउनेका कारण कार्यालय सधैँ खचाखच हुने गरेको छ ।

राजस्व तिरेको एकवर्ष नाघ्दासमेत चालक अनुमतिपत्र नआएपछि सेवाग्राहीले राजस्व तिरेको कागजकै भरमा सवारी चलाइरहेका छन्् । राजस्व तिरेको पातलो कागजमा लेखिएका कुरा मेटिँदा कतिपय सेवाग्राही दुई÷तीन पटकसम्म त्यसको प्रतिलिपी लिएका छन्् । कतिपयले भने राजस्व तिरेको कागजको ‘लेमिनेसन’ गरेरै बोक्न थालेका छन्् । पहिले एकान्तकुनास्थित कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र बनाउन सुरु भएको थियो । दुईवर्ष पहिलेदेखि भने सबै अञ्चल कार्यालयले यो सेवा सुरु गरेका थिए । अहिले अञ्चल कार्यालय प्रदेश मातहतमा गइसकेका छन्् ।

कागजमा प्रदेशमा गए पनि काममा संघअन्तर्गतको विभागले नै अनुमतिपत्रको छपाइ गरिरहेको छ । देशभरका सबै कार्यालयबाट परीक्षा उत्तीर्ण सेवाग्राहीको अनुमतिपत्र एकै ठाउँबाट छपाइ हुँदा ढिलाइ भइरहेको हो । विभागले पत्र पठाएर चालक अनुमतिपत्रको जिम्मेवार लिन प्रदेश कार्यालयलाई भन्न थालेको छ । यातायात व्यवस्था विभागले भने छिटफुट रूपमा मात्रै समस्या देखिएको बताएको छ । विभागका प्रवक्ता गोकर्णप्रासद उपाध्यायले प्रणालीमा अवरोध आएका कारण ‘स्मार्ट’ चालक अनुमतिपत्रमा केही असपस्ट भएको तर अस्प्रस्ट हुँदाहँुदै सेवाग्राहीलाई वितरण नगरिएको उहाँले जानकारी दिनुभयो । प्रणालीमा जुन समस्या देखिएको छ त्यो छिट्टै सुधार हुने उनको भनाइ छ । प्रवक्ता उपाध्यायले दर्ता भएको तर प्रमाण वा तथ्यांक नपुगेको कारणले अनुमतिपत्र क्रमबद्ध रूपमा नआएको पनि बताए । उहाँका अुनसार अहिलेसम्म प्रदेश कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण प्रक्रिया सुरु नभए पनि अब छिट्टै सुरु गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया