गिद्धजस्ता पत्रकार !

पाकिस्तान । दुई दिनअघि पाकिस्तानको पञ्जाब सहरको साहिवालनजिक हाईवेमा गाडीमा सवार ७ मध्ये ४ जना (माता, पिता, छोरी र चालक मित्र) लाई चरमपन्थीको आशंकामा प्रहरीले गिरफ्तार नगरी हत्या नै गरिदियो । सरकारले परम्परामुताबिक एउटा जाँच कमिटी बनायो । अब एउटा रिपार्ट आउनेछ । केही प्रहरी सस्पेन्ड हुनेछन् र केही दिनमा विगतका घटनाजस्तै यो घटना पनि यताउता हुनेछ ।

यही र यस्तै घटनाका बारेमा मिडिया खोज गर्ने भन्दै जुन प्रकारको होडबाजीमा लाग्छ, त्यो एकखाले इन्काउन्टरभन्दा कम हुँदैन । माथि उल्लेख गरिएको घटनामा १० वर्षको एक बच्चा र दुई साना बालिका बाँच्न सफल भएका छन् । मिडिया यिनै जिउँदा लासजसरी बाँचेका बालबालिकालाई सिकार बनाइरहेको छ ।

यी बच्चाका कोही समझदार आफन्तको खोजी गरेर तिनीहरूसँग प्रश्न नगरी मिडिया तिनै बच्चाहरूसँग गिद्धले लास खोतलेजसरी प्रश्न गरिरहेको छः

तिम्रो माता–पिता कसरी मरे . . .?
यतिखेर तिमी के सोचिरहेका छौ . . .?
माता, पिता र दिदीमध्ये कसको बढी याद आउँछ . . .?

चार–पाँच वर्षका दुई बालिका अस्पतालको इमरजेन्सीमा चुपचाप बसिरहेका थिए, तीमध्ये एकको हातमा गोली लाग्नाले ठूलो घाउ भएको थियो । एक रिपोर्टरले ती बच्चीको पट्टी बाँधिएको हातमा छुँदै भन्यो, ‘डराउनुपर्ने कुनै कारण छैन नानी, सबै ठीक हुन्छ !’

स्ट्रेचरमा रहेको तिनै बच्चीको १०–१० वर्षको घाइते दाजु पीडाले बेस्सरी रोइरहेको थियो । पत्रकारको आवरणमा रहेको एउटा रोबोटले सोध्यो, ‘बाबु के भयो ? तिम्रो माता–पितालाई मार्ने कुनै प्रहरी थियो वा अन्य कोही ?’ अनि त्यो निश्छल बालक रुँदै पत्रकारलाई बताउँदै थियो, हत्या कसरी भयो भनेर !

रिपोर्टरको काम त भयो । उनीसँग अरुको भन्दा पृथक फुटेज पनि भयो, अब त्यो बच्चा बाँचून् कि मरुन् पत्रकारलाई के मतलब ! ती पत्रकार काम गर्ने टीभी च्यानललाई राम्रै टीआरपी पनि प्राप्त भइगयो । ती पत्रकारको माइक बच्चाको नजिकबाट हट्यो, अनि अर्को माइकवाला अघिल्तिर आयो ।

सबै एकैसाथ प्रश्न गरिरहेछन्, बच्चालाई । जसरी थुप्रै गिद्ध एउटा लासमाथि आफ्ना तिखा चुच्चाले एकैसाथ लुछ्न थाल्छ, त्यसैगरी पत्रकारहरू प्रश्नरूपी वाणले पीडितलाई लुछिरहन्छन् । यी कुनै माइक्रोफोन होइनन्, यी त मिडियाका गिद्धहरूको तिखा पञ्जा हुन् । यिनलाई कसैले रोक्न सक्दैन ।

‘कमनसेन्स’को अभाव

अस्पतालमा डाक्टर, नर्स वा त्यहाँका कुनै गार्डले पत्रकारलाई भित्र जानबाट रोक लगायो भने समाचार बन्छ– अस्पतालको गलत रवैया, मिडियालाई आफ्नो काम गर्न दिइएन आदिआदि ! यिनलाई कसैले सोध्न सक्दैन– ए पत्रकार ! तिमी आफ्नो काम गरिरहेका छौ कि आफ्नो पेसासँग बेइमानी गरिरहेका छौ ! मिडिया त छँदैछ, हाम्रा नेताहरू पनि पीडितसँग कसरी दुःखमा समवेदना प्रकट गर्ने भन्ने जान्दैनन् । नेतालाई दुःख महसुस गर्न पनि तिनले जानेका छैनन् ।

मलाई एकजना भूतपूर्व प्रधानमन्त्रीको सम्झना भइरहेको छ यतिखेर । बलात्कारको सिकार बनेकी एक महिलालाई सान्त्वना दिन उनी दर्जनौँ गाडी र क्यामेरासहित महिलाको गाउँ पुगेका थिए । गाउँ पुगेर महिलाको शीरमा हात राख्दै भावुक मुद्रामा उनले भने, ‘नानी, तिमी यतिखेर कस्तो महसुस गरिरहेकी छौ !’

यी पंति लेखिरहँदा म कस्तो महसुस गरिरहेको हुँला, म त्यो बताउन सक्दिनँ । यस्ता मान्छेहरूका विरुद्ध म गाली र जथाभावी शब्द लेखूँ, जुन मेरो मनभित्र जमेर रहेको छ ! वास्तवमै यो समय संसारमा कुनै पनि चिज सबैभन्दा महँगो यदि केही छ भने, त्यो यो ‘कमनसेन्स’ नै हो, सुन–चाँदी–हीरा होइन ।

प्रतिक्रिया