नोभाक अन्तिम आठमा

एजेन्सी, मेलबर्न । पुरुषको विश्व नम्बर एक नोभाक जोकोविच वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको अन्तिम आठमा पुग्दा महिलातर्पmको विश्व नम्बर एक सिमोना हालेप अन्तिम १६ बाटै बाहिरिएकी छन् । मेलबर्न पार्कमा सोमबार भएको खेलमा ३१ वर्षे सर्बियन स्टार जोकोविचले १५औं वरीयताका रसियाका डेनिल मेडभेडेभलाई ६–४, ६–७ (५–७), ६–२ र ६–३ ले हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन् । जोकोविचले ३ घन्टा १५ मिनेट समय खर्चिएर संघर्षपूर्ण जित निकालेका थिए । जोकोविचले अन्तिम आठमा जापानका केई निसिकोरीविरुद्ध चुनौती प्रस्तुत गर्नेछन् ।

शीर्ष वरीयताकी सिमोना हालेपलाई अस्ट्रेलियन ओपनको अन्तिम १६ को खेलमा स्तब्ध बनाउँदै अमेरिकी स्टार सेरेना विलियम्सले कीर्तिमानी २४औं ग्रान्डस्लामको यात्रालाई जारी राखेकी छन् । मेलबर्न पार्कमा सोमबार भएको खेलमा विश्व नम्बर एक सिमोनालाई २–१ को सेटमा स्तब्ध बनाउँदै सेरेनाले अस्ट्रेलियाकी मार्गरेट कोर्टको सर्वाधिक २४औं ग्रान्डस्लामको कीर्तिमानलाई बराबरी गर्ने यात्रा जारी राखेकी हुन् ।

सन् २०१७ मै २३औं ग्रान्डस्लाम जितिसकेकी सेरेनाले रोमानियाकी स्टार सिमोनालाई ६–१, ४–६ र ६–४ ले हराउँदै वर्षको पहिलो ग्रान्डस्लामको दाबेदारी प्रस्तुत गरेकी छन् ।सेरेनाले क्वार्टरफाइनलमा चेकरिपब्लिकी कारोलिना प्लिसकोभाविरुद्ध चुनौती प्रस्तुत गर्नेछिन् । सेरेनाले खेल निकै चुनौतीपूर्ण रहेको बताइन् । ‘खेल निकै चुनौतीपूर्ण थियो, त्यसैले कतिपय अविश्वसनीय अंक पनि प्राप्त गरे,’ सेरेनाले भनिन्,‘ उनी विश्व नम्बर हुन् । उनीमाथि जित निकाल्नु सहज थिएन । यद्यपि, मैले लगातार चुनौती दिँदै जित निकाले ।’

प्रतिक्रिया