मोबाइल नेटवर्कमा सुधार आउने

बाँके । छिनछिनमा नेटवर्क जाने समस्याबाट ग्रसित रहेका बाँके नरैनापुरवासीले अब चौबिसै घण्टा मोबाइल नेटवर्कको सुविधा पाउने भएका छन् । सिमित ब्याट्री ब्याकअप र पर्याप्त साधनको अभावले टेलिफोनको समस्या उत्पन्न हुँदै आएको त्यसक्षेत्रमा नेपाल टेलिकमले सुधार गरेको छ ।

टेलिकमले आफ्नो सेवामा सुधार ल्याएसँगै अब चाबिसै घण्टा मोबाइलको सिग्नलले काम गर्ने भएको छ । नरैनापुर क्षेत्रमा गुणस्तरीय सामग्री जडान गर्नुका साथै पहिले स्थापना गरिएका टावरहरूलाई थप प्रभावकारीसमेत बनाएको छ ।

नेटवर्कको समस्याबाट हैरानी खेप्दै आएका स्थानीयलाई टेलिकमको सेवा विस्तारले सहज बनाएको छ । टेलिकमको नेटवर्कमा समस्या आउने र कतिपय गाउँमा फोन नलाग्ने समस्या भएको दैनिक गुनासो आउने टेलिकममा नागरिकले आलोचना गर्न छाडेका छन् ।
केही महिनाअघि प्राविधिक टोली त्यसको अध्ययन गर्न फिल्ड मै पुगेको थियो ।

त्यस लगत्तै समस्या पहिचान गरेर समस्या समाधान गरिएको नेपाल टेलिकम मध्यपश्चिममाञ्चल क्षेत्रीय निर्देशनालय नेपालगञ्जका प्राविधिक प्रमुख शिव खनालले बताए । ‘प्राविधिक समस्या समाधान भएसँगै अहिले त्यहाँबाट गुनासो आउने कम भएको छ’ उनले भने, ‘अझै पनि टेलिकमको सेवालाई प्रभावकारी बनाउन लागिपरेका छौं ।’ उनले विगतमा पावर ब्याकअप नहुँदा नेटवर्कमा समस्या हुँदै आएकोमा अहिले २४सै घण्टा नेटवर्क नजाने गरी पावरको क्षमता वृद्वि गरिएको जानकारी दिए ।

नरैनापुर गाउँपालिकामा रहेका तीन वटा टेलिकमका टावरलाई समय अनुकूल परिवर्तन गर्दै नयाँ समानहरू जडान गरिएको छ । टावर सञ्चालनका लागि सबै स्थानमा टेलिकमले सोलार पावरको क्षमता बढाइएको छ ।

लक्ष्मणपुरमा रहेको टावरलाई केही अग्लो बनाउनका लागि जिम्मा दिइसकिएको भन्दै खनालले भने, ‘टावर अग्लो बन्नेबित्तिकै सबै ठाउँको समस्या समाधान हुनेछ ।’ थ्रिजी र टुजी इन्टरनेटको समेत पहिलेभन्दा बढी हुनेगरी क्षमता विस्तार भइसकेको छ । प्रदेश सांसद नमुनाले निरन्तरको पहल कदमीले पूर्णता पाउन सफल भएको भन्दै प्रावधिक टोलीलाई धन्यवाद दिइन् ।

‘वर्षातको समयमा सडक सञ्जालका कारण नेपालगञ्जसँग सम्पर्क नहुनु हिउँद लागेपछि सञ्चार सम्पर्क पनि विच्छेद हुने समस्या थियो’, उनले भनिन् ‘अब नरैनापुरबासी सञ्चार सम्पर्कबाट विच्छेद हुनुपर्ने छैन ।’ अब सधै नरैनापुर क्षेत्र दुर्गम नरहने नमुनाको भनाइ रहेको थियो ।

उनले तराइको कर्णाली उपमा पाएको नरैनापुर क्षेत्रलाई केही वर्षमै बाँकेका अन्य क्षेत्रसरह बनाइने दाबी गरिन् । नेपालगञ्जदेखि नरैनापुरसम्म फाइबरमार्फत टेलिफोन र तीव्र गतिको इन्टरनेट पु¥याउने प्रक्रिया अगाडि बढिसकेको पनि उनले जानकारी दिइन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले विगतभन्दा अहिले नेटवर्क समस्यामा सुधार आएको बताए । ‘पहिलेभन्दा अहिले मोबाइल नेटवर्क र इन्टरनेटमा धेरै सुधार आइसकेको छ’, उनले भने, ‘टेलिकमका साथै अन्य सेवा प्रदायक दूरसञ्चार कम्पनीले समेत अझै सेवा प्रभावकारी बनाउनुपर्छ ।’

स्थानीय रामउजागर बन्जराले पछिल्लो समय टेलिकमको सेवामा सुधार आएसँगै आपूmहरूलाई सञ्चार गर्न सहज भएको बताए । ‘पहिलेजस्तो साँझ गरेपछि नेटवर्क नहुने समस्या थियो, अहिले त्यो समस्या देखिएको छैन । जतिवेला पनि फोनमा कुरा गर्न पाइन्छ’, उनले भने ।

प्रतिक्रिया