नवलपुरको पहाडी भेगमा अदुवाबाट मनग्य आम्दानी

कावासोती । अघिल्लो वर्ष अदुवाको मूल्य नपाएर चिन्तित बनेका नवलपुरको पहाडी क्षेत्रका कृषक यस वर्ष भने उचित मूल्य पाएपछि खुशी भएका छन् । पूर्व नवलपुरको नरम, जौवारी, अर्खला, कोटथर, रकुवा, आमडाँडा, व्यागान, भारतीपुर, धौवादीलगायत ठाउँका अधिकांश कृषकको अदुवा मुख्य बाली हो ।

सो क्षेत्रका कृषकले अघिल्लो वर्ष एक धार्नी अदुवा रु ५० मा बिक्री गरेकामा यस वर्ष रु १५० मा बिक्री गरिरहेका छन् । “गत वर्षभन्दा तेब्बर मूल्यमा अदुवा बिक्री गरिरहेका छौँ,” कोटथरका हेमान सिंजालीले भने, “गत वर्ष सित्तैमा दिएको जस्तो भएको थियो ।

आम्दानीको मुख्य स्रोेतका रुपमा रहेको अदुवाले पछिल्लो केही वर्ष उचित मूल्य नपाउँदा कृषकमा मारमा परेका थिए । नरम गाउँका प्रकाश खाम्चाहाले यस वर्ष अदुवाबाट मनग्य आम्दानी भएको बताए । “मूल्य व्यापारीले तोक्छन्, उनीहरुकै अनुसार अदुवा बिक्री गर्नुपर्छ,” उनले भने ।

स्थानीय व्यापारी तुलबहादुर गाहाले अदुवाको मूल्यमा गिरावट हुने सम्भावना कम रहेको बताए । उनले यहाँबाट खरिद गरेको अदुवा दलदले, भिमाद, रामपुरलगायत बजारमा बिक्री गर्दै आएका छन् । यस वर्ष उनले अदुवाको सुठोबाट समेत राम्रै आम्दानी गरिरहेका छन् ।

अघिल्लो वर्ष सुठो प्रतिधार्नी रु ३५० मा खरीद बिक्री भएको थियो । यस वर्ष प्रतिधार्नी रु ८०० मा बिक्री भइरहेको छ । कतिपय कृषक बिचौलियाका कारण मारमा परेका छन् । सो क्षेत्रमा सडक जिर्ण भएकाले कृषकलाई अदुवा ढुवानी गर्न समस्या हुने गरेको छ । “गाउँमा आउने व्यापारीले जति मूल्य भन्यो त्यतिमा दिनुपर्ने बाध्यता छ,” नरमका टेकबहादुर थापाले भने, “ढुवानीको समस्याले अझै चाहेजस्तो मूल्य पाउन सकेका छैनौँ ।

नवलपुरको पहाडी क्षेत्र अदुवा, अम्रिसो र अमिलोको पकेट क्षेत्रका रुपमा चिनिन्छ । कृषि उत्पादन बढाउन तथा बजारीकरण गर्न गाउँपालिकाले योजना अघि सारेको बौदीकाली गाउँपालिका ६ का वडाध्यक्ष नेमबहादुर थापाले बताए । सो गाउँपालिकाले वडा नं १ र ३ मा कागती, २ मा धान, ४ मा अम्रिसो, ५ मा सुन्तला र वडा नं ६ मा अदुवाको पकेट क्षेत्रको योजना बनाएको उनले बताए ।

“कृषि उत्पादन बजारीकरण गर्न खरीद केन्द्र स्थापना गर्ने योजना छ,” उनले भने । यस वर्ष नवलपुरकै बुलिङटार गाउँपालिकामा अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि सांसद विकास कोषको रु १० लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया