बहसमा लघुकथा : ‘जडताको ताण्डव’ विमोचित

काठमाडौं । लघु कथाको क्षेत्र नेपालमा फराकिलो बन्दै गएको विज्ञहरूले बताएका छन् । साहित्य सन्ध्याको नियमित मासिक कार्यक्रमको ३ सय ९१औँ शृंखलामा नेपाली लघुकथाको इतिहासदेखि वर्तमानसम्मको अवस्थाका बारेमा संक्षिप्त चर्चा गरिएको थियो ।  कार्यक्रममा नेपाली लघुकथामा पहिलोपटक पिएचडी गरेका डा. पुष्करराज भट्टले यसका बारेमा चर्चा गर्दै नेपालमा २००७ सालको नेरोघेरोबाट लघुकथाको सुरु भएको बताए ।

उनले २००७ सालको पूर्णप्रसाद ब्राह्मणको ‘झिल्काहरू’ शीर्षकको पहिलो लघु कथादेखि २००८ सालमा जयनारायण गिरी, २०१९ मा शशीकला शर्मा हुँदै नेपाली लघु कथाको यात्रा ०४० पछि गोजी पात्रोको रूपमा विकसित भएको जानकारी दिए । उनका अनुसार ०५३ सालमा झापाको धुलाबारीमा तत्कालीन प्रज्ञा प्रतिष्ठानसमेतको आयोजनामा सम्पन्न भएको गोष्ठीमा राजेन्द्र सुवेदीले नेपाली लघु कथाको सैद्धान्तिक स्वरुप प्रस्तुत गरेका थिए । उनले हालसम्म करिब ३०० लघु कथाका कृति प्रकाशित भएको र त्यसले नेपाली लघु कथा गतिवान् बनेको जिकिर गरे । उनले भने, ‘लघु कथाले सटिक रूपमा विषयलाई गहनताका साथ प्रस्तुत गर्ने भएकाले यसप्रति नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ ।’

उक्त गोष्ठीमा गंगा कर्माचार्य पौडेल, डम्बर पहाडी, सुनील पुरी, ललिता दोषी, रामकुमार पण्डित, लीलाराज दाहाल, मुकुन्द न्यौपाने, गोपाल नेपाल, जयन्ती स्पन्दन, सीताराम नेपाल, गोविन्द घिमिरे वेदमणि, गोपाल मैनाली, केशवराज अर्याल ‘के.रा.’, नर्मदेश्वरी सत्याल, रश्मि रिमाल, देवकी के.सी., गणेश घिमिरे ‘मार्मिक’, डम्बर घिमिरे, सुरज आचार्य, कात्यायन, हरि पौडेल र कर्णाद महर्षिले लघु कथा वाचन गरेका थिए ।
वाचित लघुकथामाथि टिप्पणी गर्दै डा. भट्टले केहीमा परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । गोष्ठीले नेपाली लघु कथालेखन यात्रामा रहेका स्रष्टा खुट्याउने काम गरेको बताउँदै उनले लघु कथामा सहरी समाजको अव्यवस्थित ट्राफिक समस्या अभिव्यक्त भएको पाइएको बताए । वाचित कतिपय लघुकथामा साहित्यिक क्षेत्रमा देखिएको पुरस्कारका नामको बेथिति उजागर गरिएको तथा पारिवारिक अनुशासन भंग भइरहेको प्रति व्यंग्य गरिएको उनले बताए ।

राजनैतिक तथा सामाजिक विषयमा लेखिएका लघुकथाले नेपालको पछिल्लो चित्रलाई उतारेको उनले जिकिर गरे । डा. भट्टले भने, ‘लघु कथामा थोरैबाट धेरै भन्न र अर्थ लगाउन मिल्ने सूत्रात्मकता आवश्यक हुन्छ । यो पक्षमा भने आख्यानकार सचेत हुनु जरुरी छ ।’  उक्त कार्यक्रमको अवसर पारेर कवि उमेश उपाध्यायद्वारा लिखित ‘जडताको ताण्डव’ कवितासंग्रहको सार्वजनिक गएिको छ । कृति विमोचन गर्दै शान्ता मानवीले स्रष्टा उमेश उपाध्यायले समाजका विभिन्न पक्षलाई बुझाउने गरी कविता लेखेको बताइन् ।

त्यस्तै, कवि पुरुषोत्तम सुवेदीले उपाध्याय अत्यन्त अनुशासित एवं गहिराइका र उचाइका कवि भएको बताए । उनले भने, ‘शान्त वातावरणमा साहित्य साधनामा लागिरहने, कम चर्चामा आउन खोज्ने, तर गहिरो चेतना भएका कविको रूपमा उमेश उपाध्यायलाई लिन सकिन्छ । उहाँले जिफन्टमा रहेर लामो समय मजदुर आन्दोलनलाई व्यवस्थित पार्ने र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने अभियान चलाउनुभयो, सयौँ कार्यपत्र प्रस्तुत गर्नुभयो ।’ सुवेदीले कवि उपाध्यायले वैचारिक अभियानको नेतृत्व गरिरहँदा सिर्जनाका तहमा भने अत्यन्त अनुशासित भई गहिराइ र उचाइका कविता लेखेको जिकिर गरे ।

उनले भने, ‘समाज, जीवन र दार्शनिक पक्षधरता, सशक्त वैचारिकता, समसामयिकता उहाँका कविताका विषय हुन् अर्थात् कविताका मूल धरातल बनेका छन् ।’ सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्नु, माक्र्सवादी सौन्दर्यशास्त्रको सुन्दर संयोजन गर्नु, बहुल विम्बको प्रयोग गर्नु, विम्ब र प्रतीकका रूपमा विज्ञानका महत्वपूर्ण कुरालाई कवितामा प्रयोग गर्ने क्षमता कवि उपाध्यायमा रहेको सुवेदीले जनाए । उनले थपे, ‘पौराणिक रामायण र महाभारतका कुराहरूलाई सुन्दर ढंगले अभिव्यक्त गर्नु उहाँको कविताको विशेषता हो ।’ कवि उपाध्यायका ५ ओटा लामा कविताको संग्रहका रूपमा यो कृति आएको छ ।

प्रतिक्रिया