चिलीमा ६.७ म्याग्नीच्युडको भूकम्प

सान्टियागो । दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्रविन्दु चिलीको कोकिम्बो सहरबाट करिब १५ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो ।

भूकम्पको अनुभव चिलीका भालपाराइसो, हिग्गीन्स र राजधानी सान्टियागोका साथै अटाकामा र कोकिम्बोमा गरिएको थियो । भूकम्पपछि हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको थियो । राष्ट्रिय विपद् कार्यालयका रिकार्डो टोरोका अनुसार भूकम्पबाट जनमानसमा त्रास फैलिएको थियो । तर, भूकम्पबाट जनधनको क्षति भएको विवरण प्राप्त नभएको रिकार्डोले बताए ।

चिली विश्वमै भूकम्पीय जोखिमयुक्त राष्ट्र हो । सन् १९६० मा चिलीको भाल्डीभियामा गएको भूकम्प सबैभन्दा ठूलो मानिन्छ । अमेरिकी सर्भेका अनुसार त्यसबखत ९ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया